गृह » सिकाइको सशक्त रुप नै शिक्षा
विचार

सिकाइको सशक्त रुप नै शिक्षा

रमेश सापकोटा
sapkotar35@gmail.com 
हरेक किसिमका प्रतिस्पर्धी अवसरमा विवेकको प्रयोगद्वारा एउटा नतिजा निकालिन्छ, त्यही एउटा खुल्ला अनि आधुनिक सोच शिक्षा हो । जब हाम्रा विवेक अनि चेतनाहरु अब्बल हुँदै जान्छन्, तब हाम्रा समृद्धिहरु अनुयायी हुनेछन् ।
एक लीला जीवनभित्र गरिसक्नु पर्ने नगन्य काम धेरै छन्, जुन कामहरु हाम्रा नजरबाहिर सलबलाएर बसेका छन् । फलस्वरुप पनि हामी शिक्षाको सुन्दर पाटोबाट एक कदम अगाडि फड्कनु आवश्यक छ । यो जिउँदो जिन्दगीमा सरलता र सहजता शब्दको खासै न्याय हुन सक्दैन, किनकि आजको यो परिवर्तित समयको जीवन सिक्दैमा विलीन हुनेछ भन्ने मान्यतामा म अडिएको छु ।
सिकाइको बहुआयामिक चरणमध्ये लगनशील हुँदै उन्नत हुने एउटा पाटो नै प्रमुख हो । शिक्षाले व्यक्तिलाई विविध पक्षमा आदर्शमय बनाउँदछ । बालकको सर्वांगीण विकास गराई सत्मार्गतर्फ उन्मुख गराउँदछ । शिक्षाले बालकको इच्छाअनुरुपको प्रतिभालाई मलजल गरी भविष्यमा त्यही प्रतिभाले नै बालकलाई महान् बनाइदिन्छ । यसर्थ, शिक्षा प्रतिभारुपी बीजका लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमि हो ।
शिक्षाको विविध स्रोत र क्षेत्र छ । त्यसको उचित संयोजन परिवार र समाजले तयार गर्नुपर्छ । सुरूवाती सिकाइ मह¤वपूर्ण हुन्छ र सबै सिकाइ व्यावहारिक नहुन सक्छ । हजार सत्यमा एक असत्य उसै हराएर जाने छ ।इच्छा र खुबी भएमा प्रत्येक कुराहरुबाट हामीले सही शिक्षा आर्जन गर्न सक्दछौँ । शिक्षा प्राप्त गरेको व्यक्तिको व्यक्तित्व आदर्शमय हुन्छ । तसर्थ, शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रकृया हो ।देखेका हरेक कुरा सजिलो नहुन पनि सक्छ । कति कति प्रयासहरु बालुवामा पानी खनाएसरह देखिन्छ । अन्ततः त्यहाँ केही शिक्षा भेटिन्छ । विश्व विकसित समाजमा हामी केही पछाडि छौँ । हाम्रा अनेकन सामाजिक, आर्थिक, राजनीतिक र कानुनी समस्याले हाम्रा अवस्थालाई इंगित गरेका छन् । यसको कारण हामी अझ पनि साक्षर हुने अभियानमा अल्मलिएका छौँ । असल र खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्शमय बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छाअनुरुपको प्रतिभा विकासमा टेवा पु¥याउने आदि कार्य शिक्षाले मात्र गर्न सक्दछ । यही अभियानमा आज सिंगो देश होमिएको छ र हाम्रा विचारहरु एकीकृत भएका छन् । हरेक कुरामा बहस र छलफल अनि साझेदारीका अलग प्रयासहरुले सफलता पाउँदै गएका छन् ।त्यसैले, हाम्रो समाज सुहाउँदो नवीन यात्राको थालनी भएको छ । शिक्षा परीक्षा पास गर्नु, डिग्री अनि जागिर हासिल गर्नु, विवाह गर्नु अनि जीवन व्यतीत गर्दै जानुमात्र होइन । अझ बढी चराहरुको आवाज सुन्न सक्नु, नीलो गगनलाई नियाल्न सक्नु, हरेक साझा कुरामा केही नयाँपनको सम्भाव्यता देख्न सक्नु जीवन व्यावहारिक शिक्षा हुनसक्छ । समय र परिस्थितिसँग हामी प्रतिस्पर्धी हुन त केही समय लाग्ला, तर पनि निरन्तरको मेहेनतमा केही सुखद नतिजाहरु निस्कने छन् । जसले हाम्रा साँघुरा मानसिकता र नीच सोचहरुमा पक्कै पनि केही सकारात्मक सूचांक थपिने छ ।
प्राप्त गर्ने कुराहरु यो संसारमा के नै सजिलो छ र ? निरन्तर मेहेनतमा असफलता भन्ने शब्द आउँदैन । आजको प्रतिस्पर्धी समयमा हामी गुणात्मक रुपमा केही पछाडि भएको सत्यलाई स्वीकार गर्नुको बिकल्प छैन । तर पनि प्राप्त भएका हरेक अवसरसँग खुसी हुँदै अगाडि बढ्नु बुद्धिमानी हुनसक्छ ।व्यवहारतः हामी सिक्ने र उत्सुक हुने कुरामा अलि कमजोर छौँ । एकाध मानिसबाहेक हामीमा लोभ, डाह, ईश्र्याजस्ता मनोगत कलंकहरु अझ पनि सक्रिय रहेका छन्, जसले हाम्रो सिक्ने र सिकाउने चरणमा केही समस्याहरु निम्त्याएका छन् ।आफू हुँदा सबै ठीक र अरु हुँदा प्रश्न उठाउने समाजका केही आदर्शको खिल्ली उडाउने एक अखडाले पनि सर्वांगीण सिकाइ विकासमा गतिरोध देखाएको छ । जीवनपर्यन्त हामी सिकाइकै उच्च बिन्दुमा रहने छौँ, मूलतः त्यही सिकाइ नै शिक्षा हो ।
हामी हाम्रा परम्परागत सोचाइमा अझ पनि अल्झिएका छौँ । आधुनिक र विकसित प्रविधिहरु हाम्रा पहुँचभन्दा अझ पनि टाढा रहेका छन्, जसले गर्दा हामी अब्बल सिकाइमा कमजोर ठहरिन्छौँ । मानवविकासका लागि सिकाइ नभई नहुने प्रक्रिया हो । यो विश्वव्यापी र जीवनभरि चलिरहने प्रक्रिया हो । यो गतिशील छ । मानवजीवनदेखि मृत्युसम्म क्षणक्षणमा सिकाइको आवश्यकता पर्दछ । त्यसैले पनि सिकाइको सशक्त रुप शिक्षा हुन सक्छ ।

Comments

About the author

चितवन पोष्ट