गृह » फेरि अनशन !
सम्पादकीय

फेरि अनशन !

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक डा. गोविन्द केसीले फेरि अनशन सुरू गरेका छन् । सामान्य ढंगले विश्लेषण गर्दा यी डाक्टरको अनशन बस्नेबाहेक अन्य काम नै छैन कि जस्तो पनि लाग्न सक्छ । तर, चिकित्सा क्षेत्रको परिवर्तनका लागि पटकपटक सत्याग्रह आवश्यक पर्दोरहेछ भन्ने दृष्टान्त पनि डा. केसीले नै प्रमाणित गरेका छन् । श्रृंखलाबद्ध रुपमा अनशन बस्नु डा. केसीको रहर अवश्य होइन, यो विकृतिविरूद्ध लड्नैपर्ने बाध्यता हो । डा. केसीको यो १३ औँ अनशन हो । तर, यो नै अन्तिम भने नहुन पनि सक्छ । चिकित्सा शिक्षा र क्षेत्रमा देखिएका तमाम विकृति रोक्न र मौलाउँदै गएको माफियातन्त्रको अन्त्य गर्नका लागि उनले श्रृंखलाबद्ध रुपमा अनशनमा होमिनुप¥यो । उनकै पटकपटककै अनशनकै कारण पटक्कै केही नभएको होइन, धेरै सुधार भइसकेको छ । मेडिकल शिक्षामा विकृति रोक्न अनशन बस्दै गर्दा माफियातन्त्रले उनलाई पागलको संज्ञा नै दिए । चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गरिब जनताको पहुँचमा ल्याउन उनले पागलकै पगरी पनि सहजै पचाइदिए । र, कत्ति पनि विचलित नभइकन सत्याग्रह जारी राखे । अहिले पनि उनको आन्दोलन जारी नै छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक यतिबेला संसद्मा विचाराधीन अवस्थामा रहेको छ । मुख्य तीन दलको साँठगाँठमा विधेयक तोडमोड गर्न लागेको भन्दै उनले चिकित्सा ऐन तत्काल पारित गर्नुपर्ने, काठमाडौँ युनिभर्सिटीले एमबीबीएस तहमा तोकेको शुल्क खारेज गर्नुपर्ने, केयुका उपकुलपति र डिनलाई बर्खास्त गर्नुपर्ने, त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने, आईओएमबाट खोसिएका अधिकार फिर्ता गर्नुपर्ने, नेपाल आयल निगमका बर्खास्त प्रमुख गोपाल खड्कामाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन सुरू गर्नुपर्ने, कैलाली, दाङ, डोटी, धनुषा, उदयपुर, पाँचथरलगायतका ठाउँमा सरकारी मेडिकल खोल्ने प्रक्रिया थाल्नुपर्ने माग राखेर अनशन सुरू गरेका हुन् । उनले असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएका थिए । तर, माथेमा प्रतिवेदन र आफूले राखेका सुझाव नसमेटिकनै विधेयक पारित हुने सम्भावनालाई मध्यनजर गर्दै संसद्को ध्यानाकर्षणका लागि उनले यस्तो कदम चालेका हुन् ।
उपत्यकामा मात्रै भटाभट मेडिकल कलेज सञ्चालन हुँदा दुर्गमका नागरिक गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाबाट वञ्चित हुने ठहर डा. केसीको छ, जुन वास्तविक कुरा हो । उपत्यकामा मेडिकल कलेज खोल्न दिने÷नदिने विषयमा विवाद हुँदा लामो समयसम्म चिकित्सा शिक्षा विधेयक पारित हुन सकेन । डा. केसीले उठाएका मागलाई लिएर उनीमाथि राजनीतिक रंग पोत्ने प्रयत्न पनि नभएको होइन । उनी न कुनै दलका समर्थक हुन्, न कुनै विचारका । उनी मात्र जनताका डाक्टर हुन् । उनले निरन्तर रुपमा सरकार र निजी क्षेत्रले शिक्षा तथा स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पु¥याउन जोड दिँदै आएका छन् । केही मेडिकल माफियाले उनीमाथि जेजस्ता पगरी गुथाइदिए पनि देशविदेशबाट डा. केसीको साथ र समर्थनमा लाखौँ नेपालीले ऐक्यबद्धता जनाउँदै आएका छन् । विभिन्न राजनीतिक दल, विद्यार्थी संगठन, नागरिक सञ्जाल र अभियन्ताहरुको भेलाले ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ नामक संस्था गठन गरी डा. केसीको समर्थनमा रिले अनशन, सरकारलाई ज्ञापनलगायत देशभर शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । डा. केसीको अनशनप्रति सरकार र संसद्ले बेलैमा गम्भीरता देखाउनु जरूरी छ ।

Comments

About the author

चितवन पोष्ट