गृह » क्यान्सरका बिरामीलाई अरबौँको निःशुल्क उपचार
प्रमुख समाचार स्वास्थ्य

क्यान्सरका बिरामीलाई अरबौँको निःशुल्क उपचार

भरतपुर । क्यान्सर रोगका सम्बन्धमा आम सर्वसाधारणले यो रोग लागेपछि निको हुन गाह्रो छ र उपचार निकै महङ्गो छ भन्ने सोच्ने गर्छन् । तर, सुरूमै उपचार भए क्यान्सर निको हुने रोग हो । यसका साथै उपचार पनि खासै महङ्गो पर्दैन । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि अरबौँ रुपैयाँको सहयोग जुटाएर बिरामीलाई राहत दिने गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार अस्पतालले विगत ११ वर्षदेखि रक्तक्यान्सरका बिरामीलाई ग्लेभेक औषधि निःशुल्क दिँदै आएको छ । जसको मूल्य एक अर्ब २७ करोड ७२ लाख रुपैयाँ हुने कार्यकारी निर्देशक डा.आचार्यले जानकारी दिए । योमात्रै नभएर अस्पतालले अरु औषधिहरु पनि निःशुल्क दिन्छ ।
मिर्गौलाका क्यान्सर भएकाहरुलाई पनि अस्पतालले सुटेन्ड औषधि निःशुल्क दिन्छ । मिर्गौलामा क्यान्सर भएका बिरामीहरुका लागि ६४ करोड ८९ लाख रुपैयाँबराबरको औषधि निःशुल्क दिएको कार्यकारी निर्देशक डा आचार्यको भनाइ छ । गुदद्वार र पिसाब थैलीमा क्यान्सर भएकाहरुका लागि पनि अस्पतालले कृतिम पिसाब थैली र दिसाघर निःशुल्क दिन्छ ।
अस्पतालले चार करोड ६० हजार मूल्यबराबरका यी सामाग्रीहरु निःशुल्क वितरण गरेको छ । त्यस्तै अस्पतालले १० औँ वार्षिक उत्सवदेखि नै १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालले दिने सबै खालका सेवा निःशुल्क गरेको थियो । जसको मूल्य सवा करोड रुपैयाँ हुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
सरकारले बालबालिकाको उपचार निःशुल्क हुने घोषणा गर्नुभन्दा पहिल्यै क्यान्सर अस्पतालले यो सुविधा सुरु गरेको थियो । त्यस्तै जेष्ठ नागरिकलाई रेडिएसन र सर्जरी सेवामा सहुलियत दिन थालेको थियो । जसको मूल्य १६ लाख ४३ हजार रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिए । अस्पतालले खाना पनि निःशुल्क वितरण गर्छ ।
अस्पताल प्रशासनबाट प्राप्त विवरणअनुसार सबै बिरामीलाई खाना र ट्युब फिडिङ डाइटमा ४८ लाख रुपैयाँ खर्च भएको छ । अस्पतालको आम्दानीबाट गरिब बिरामीको उपचारका लागि सहयोग उपलब्ध हुने गरेको छ । क्यान्सर सेवा समाजमार्फत हुने सिफारिसका आधारमा गरिब बिरामीका लागि सहयोग उपलब्ध हुने व्यवस्था छ ।
यसका लागि ५२ लाख ४१ हजार खर्च भएको कार्यकारी निर्देशक डा आचार्यले जानकारी दिए । ‘क्यान्सर रोगको उपचार प्रक्रिया लामो हुने, उपचार महङ्गो हुने हुँदा सर्वसाधारणलाई खर्च गर्न निकै कठिनाइ पर्ने गर्छ । हामीले सकेसम्म राहत दिन निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने गरेका छौँ’ कार्यकारी निर्देशक आचार्यले भने । यो व्यवस्थाले गरिबहरु लाभान्वित भएको उनको दाबी छ ।
भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल देशको मुख्य क्यान्सर अस्पताल हो । विसं २०५७ साल असोज १० गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सो अस्पतालमा हाल वर्षमा एक लाख २१ हजारभन्दा धेरै बिरामीहरु आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पताल चीन सरकारको सहयोगमा निर्माण भएको हो ।

Comments

About the author

चितवन पोष्ट