गृह » पसाउने बेलाको धानमा रोगैरोग
अर्थ समाचार समाज

पसाउने बेलाको धानमा रोगैरोग

–किशोर खनाल
भरतपुर । पसाउने बेलाको धानमा विभिन्न रोग देखिएको छ । भरतपुर महानगरपालिकाका पश्चिमतर्फमा विभिन्न क्षेत्रहरुमा पसाउने बेलाको धानमा विभिन्न रोगहरु देखिएका छन् ।
भरतपुर महानगरपालिकाको गीतानगर, अमरबस्ती, देवनगर, चम्पानगर, गौरीगञ्ज, शिवनगर, पार्वतीपुर, शुक्रनगरलगायतका विभिन्न क्षेत्रमा धानको बाला निस्किने बेलामा ‘राते’ ‘ब्लास्ट’लगायतका नयाँ खालका विभिन्न रोगहरु देखिएको छ । रोग लागेपछि किसानहरू चिन्तित बनेका छन् ।
रोगका कारणले कतिपय ठाउँमा धानको पातमा टीका पर्ने, धानको पातको रंग हरियोबाट खैरो, सेतो, रातो र पहँेलो हुँदै गएका छन् । कुनै ठाउँमा पातमा अन्डा आकारमा खैरो फैलिँदै जाने र धानको पातको पछाडि भागमा ढुसी देखिका पनि छन् । कति ठाउँमा रातै भएर धान कुहिँदै गएको पनि छ ।
धानको उत्पादन बढी हुने ठाउँ गीतानगरलगायतका क्षेत्रमा यस्तो रोग देखिएको हुनाले धानको उत्पादनमा कमी आउने कृषि प्राविधिकहरूको भनाइ छ । ब्लास्ट नामक रोगले बिस्तारै गाल्दै गएपछि अन्त्यमा धानको बोट नबढ्ने तथा मर्ने हुन्छ । धेरै वर्षात् र चर्को घाम भयो भने मात्रै पनि धानमा ब्लास्ट रोग लाग्छ । गीतानगरका कतिपय ठाउँहरुमा यो रोग पनि देखिएको छ ।
भरतपुर महानगर वडा नम्बर ६ अमरबस्तीका किसान विश्वराज बस्ताकोटीले १० गड्डामा लगाएको धानमा राते (ब्लास्ट) रोग देखिएको छ । ‘गत वर्ष यस्तो रोग देखिएको थिएन, अहिले यो रोग देखिएको छ’ बस्ताकोटीले भने, ‘धानको पात पुरा पहेँलो भएको छ, यस रोगलाई स्थानीयले धानमा जण्डिस लागेको पनि भन्छन् । सुरुमा कृषि प्राविधिकको सल्लाहअनुसार युरिया, डिएपी, पोटास र कम्पोस्ट मल खेतमा हालेको थिएँ, समयमा नै रोपाइँ सकेको हुँ, धान गाँजियो तर बढेन ।’
अघिल्ला वर्षमा पनि यही धान लगाउने गरेको भए पनि यस्तो संक्रमण थाहा नभएको उनको भनाइ छ । अर्का गीतानगरका किसान हरिबहादुर कुँवरले साँवा र सावित्री धानमा पहेँलो रोग देखिएको बताए । औषधि छर्दा पनि धानमा पहेँले रोग नहटेको उनको भनाइ छ । धानमा लाग्ने यस्तो रोगलाई स्थानीयले कतै जण्डिस, कतै राते, कतै पहेँले भन्ने गरेका छन् ।
‘जेटिए पढ्ने विद्यार्थीहरुले फाइटर भन्ने औषधि छर्न भनेका थिए । त्यो औषधि ल्याएर छर्दा पनि रोग हटेको छैन’ किसान विश्वराज बस्ताकोटीले भने । उनले भरतपुर महानगरको वडा नम्बर ६ मा यो रोग व्यापक रहेको बताए ।
अघि या पछि रोपेको सबै धानमा यस्तो रोग देखिएको अर्का किसान रामकृष्ण ओझाले बताए । उनले भने, ‘रोगले धानको पातको तलको भागमा पूरा ढुसी छ । यस रोगले धानको उत्पादन घट्ने देखिएको छ ।’
जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधिर श्रेष्ठका अनुसार भरतपुर महानगरको पश्चिमी क्षेत्रहरुमा विभिन्न खालका रोगहरु देखिएको बताए । उनले भने, ‘पश्चिमी क्षेत्रहरुको धानमा सेतो झिंगा, कत्ले झिंगा र फड्के कीराले आक्रमण गरेको छ । यस्ता कीराको आक्रमणले गर्दा धानमा विभिन्न नयाँनयाँ रोगहरु देखिएको हो ।’ उनले यसपटक शीत ढिलो पर्नाले पनि धानमा समस्याहरु देखिएको बताए । ‘कतिपय रोगहरु शीत पर्न थालेपछि हट्छ, हामीले प्राविधिक सल्लाह दिएका छौँ’ उनले भने, ‘किसानले कुनै विषादी प्रयोग हुनुअघि विज्ञको सल्लाह लिनुपर्छ ।’

 

Comments

About the author

चितवन पोष्ट