गृह » चित्रवन रंगशालालाई रकम हस्तान्तरण
अर्थ खेलकुद समाचार समाज

चित्रवन रंगशालालाई रकम हस्तान्तरण

?

शारदानगर । भरतपुर महानगरपालिका वडा नं २० मा निर्माणाधीन चित्रवन रंंगशालाको लागि गैरआवासीय नेपालीहरुको अन्तर्राष्ट्रिय सहयोग समितिद्वारा संकलित सहयोग रकम एक समारोहबीच ४ लाख ७५ हजार हस्तान्तरण गरिएको छ ।
चित्रवन रंंगशाला निर्माण समितिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पश्चिम चितवनकै मुटु शारदानगरमा अवस्थित चित्रवन रंगशालालाई राष्ट्रियस्तरकै रंगशाला बनाउनको लागि सुरुवात आसन्न नगर परिषद्मा सक्दो बजेट बिनियोजन गर्ने बताइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह, गैरआवासीय नेपाली महासंघ अन्तर्राष्ट्रिय सहयोग समितिका अध्यक्ष सोम सापकोटा, क्लिनिक नेपाल मेघौलीका अध्यक्ष हरि भण्डारी, भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङ, भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, अन्तर्राष्ट्रिय सहयोग समितिका प्रवास संयोजक समीर खत्री, सीएनएनआईका उपाध्यक्ष कृष्ण अधिकारी, कुमार पन्त, चितवन सेवा समाज कतारका सल्लाहकार प्रवीण गुरुङ, अन्तर्राष्ट्रिय सहयोग समितिका संयोजक मुक्तिप्रसाद अधिकारी, अन्तर्राष्ट्रिय सहयोग समिति गल्फ संयोजक आरके शर्मा, एसिया प्यासिफिकका संयोजक गोविन्दप्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रिय सहयोग समिति कतारका महासचिव प्रकाश अर्याल, चित्रवन रंंगशाला निर्माण समितिका कोषाध्यक्ष तथा चित्रवन युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजय घले, सचिव टुकमान गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रवासमा रहेर सहयोग संकलन गर्ने गैरआवासीय नेपाली महासंघ अन्तर्राष्ट्रिय सहयोग समितिका अध्यक्ष सोम सापकोटा तथा रंगशालाको मुल गेट निर्माण गर्ने क्लिनिक नेपाल मेघौलीका अध्यक्ष हरि भण्डारीलाई विशेष सम्मानका साथै अन्य सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
नेपाल सरकारको एक निर्वाचन क्षेत्र ः एक खेलकुद मैदान अवधारणाअनुसार भरतपुर–२० नयाँबजारमा पर्ने गौचरणको १० विगाह जग्गामा निर्माणाधीन प्याराफिटसहितको अत्याधुनिक सुविधासम्पन्न चित्रवन रंंगशालाको लागि ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
चितवन सोसाइटी जापानबाट दुईलाख रुपैयाँ सहयोग प्राप्त भइसकेको चित्रवन रंंगशाला निर्माण समितिका सचिव टुकमान गुरुङले बताए । रंगशालामा चार बिगाह १० कठ्ठा जग्गामा फुटबल तथा ५ विगाह १० कठ्ठामा क्रिकेट मैदान बन्ने र एथ्लेटिक्स ट्रयाक पनि बनाउने र फुटबलको प्याराफिटमा १४ हजार र क्रिकेट स्टेडियममा २० हजारभन्दा बढी दर्शक अट्ने सचिव गुरुङले बताए । चित्रवन रंंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

About the author

चितवन पोष्ट