गृह » कात्तिक १० देखि गैँडा संरक्षण फुटबल
खेलकुद

कात्तिक १० देखि गैँडा संरक्षण फुटबल

कावासोती । नवलपरासीको कोल्हुवामा गँैडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष कात्तिक १० गतेदेखि हुने भएको छ ।
आयोजक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने उक्त प्रतियोगिता कात्तिक २५ गतेसम्म हुनेछ ।
नन्दभाउजू उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले ५ लाख २५ हजार ५ सय ५५ र द्वितीय हुनेले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशी पाउने छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले प्रतियोगिता खेलकुदको माध्यमबाट युवाहरुमा वन, वन्यजन्तु एवम् वातावरण संरक्षण चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्या–पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नेलगायतका उद्देश्यका साथ आयोजना गर्न लागिएको बताए ।
मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नन्दभाउजू उपभोक्ता समितिको आयोजनामा बर्सेनि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता हुने गर्दछ ।
वन मन्त्रालयको १० लाख र खेलकुद मन्त्रालयको १५ लाखसहित विभिन्न संघसंस्था तथा स्थानीय व्यापारीहरुको सहयोगमा प्रतियोगिता सञ्चालन गर्न थालिएको अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितामा एन्फाका केन्द्रीय सदस्य प्रकाश पंगेनी, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत विनय मिश्रलगायतले खेलकुद र जैविक विविधताको बारेमा प्रकाश पारेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट