गृह » दसैँ (कथा)
साहित्य

दसैँ (कथा)

– बसन्त पराजुली
parajuli.basanta@gmail.com
सिंगो बस्तीमा दसैँको चहलपहल छाएको छ । दसैँ नजिकिएसँगै कमेरो माटो र रातो माटोले बस्तीका घरहरु पोती रंगीबिरंगी बनाइएका छन् । चौबाटोमा हालिएको पिङ खेलेर रमाउनेहरु पनि धेरै छन् । स्वदेश तथा विदेशमा भएका युवायुवती दसैँ मनाउनैका लागि घर फर्किएका छन् । आफ्ना साथीभाइहरुसँगको भेटघाटमा रमाउने, बालापनका कुराहरु गरेर गफिनेहरु पनि बढ्दै छन् । बूढाबूढीदेखि केटाकेटीसम्ममा बजारमा नयाँ कपडा किन्नेको भीड छ । कतिपयले आफ्नो घरमा खसीसमेत ल्याएर बाँधिसकेका छन् । दसैँको चहलपहल बढ्दै गए पनि गाउँकै छेउमा रहेको कोपिलाको घरमा भने त्यस्तो उत्साह केही देखिँदैन ।
खरको छानो र खडाइको बार लगाइएको पारदर्शी घरमा कोपिला आफ्ना तीन छोराछोरी लिएर बस्दै आएकी छिन् । पाँच वर्षकी कान्छी छोरी प्रियाले दसैँमा सबै साथीहरुले कपडा किनेको देखेपछि आमालाई कपडा किन्न आग्रह गर्छिन् ।
“ममी, नयाँ नाना कहिले किन्ने ?” ्
प्रियाले के भनेकी थिइन् कोपिलाले उत्तर फर्काइन्, “किनौँला नि छोरी !”
“सरुको घरमा त बाबाले खसी पनि किनिसक्नु भयो । हाम्रो कहिले किन्ने नि ?”
“हेर छोरी, सरुको बाबा यहाँको ठूलो व्यापारी हो । उहाँलाई खसी किन्न कुनै गाह्रो छैन । हामी गरिब छौँ, खसी किन्न सक्दैनौँ ।”
“नाइँ ममी, आजै मलाई नयाँ नाना पनि चाहिन्छ र खसी पनि ।”
छोरीको एकोहोरो बालहठपछि रिसाएकी कोपिलाले छोरीलाई एक चड्कन गालामा हिर्काइन् । अनि, बाहिर छोरी रूँदै गर्दा उनी भित्र गएर बिछ्याउनामा पल्टिएर आफैँ रून थालिन् । रूँदारूँदै छोरीलाई च्याप्प समातेर फेरि म्वाइँ खान थालिन् ।
आमाको ममता नै हो, आफूले पिटेकोप्रति पश्चात्ताप गर्दै भनिन्, “छोरी, म तिमीहरुको इच्छा पूरा गर्न सक्दिनँ । दैनिक ज्यालादारी नगरी साँझ–बिहान टार्न गाह्रो भएका हामीले नयाँ कपडा लगाउने र खसी किनेर मासु खाने कुरा आकाशको फलबराबर हो ।”
ऐलानी जग्गामा बसोबास गर्ने कोपिलाका परिवार २०५७ सालमा अएको बाढीपछि विस्थापित भएर यो ठाउँमा आएको हो । सासूससुरासमेतको परिवार आएर यहाँ बसेका थिए । कोपिला पनि नयाँ बेहुली बनेर नौ वर्षअघि यही घरमा भित्रिएकी थिइन् । विवाहपश्चात् बर्सौटेजस्ता तीनवटा छोराछोरी जन्मिए । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका कोपिलाको परिवार दुःखसुखमा नै रमाएका थिए । तर, कोपिलाको श्रीमान् रोहितलाई विदेश गएर धन कमाउने भूत जाग्यो ।
“बूढी, छोराछोरी पनि तीन–तीन जना भए । यिनीहरुलाई पढाउनु, हुर्काउनुछ । बूढा भएका बाबुआमा पनि काम गर्न सक्दैनन् । अब म विदेश जान्छु, केही वर्ष दुःखसुख गरेर केही धन कमाएर फर्कन्छु ।”
श्रीमान्को एक्कासि यस्तो प्रस्ताव आएपछि कोपिलाले केही दिन त मान्दै मानिनन् । श्रीमान्लाई कसले पो सजिलै विदेश जान छुट्टी दिन्छन् र ? एकदिन, दुईदिन गरेर रोहितले श्रीमतीलाई फकाए । उनले पनि गहभरि आँखा बनाएर घरको दुःख सम्झँदै विदेश जाने स्वीकृति दिइन् ।
रातो टीका र गलामा सयपत्रीको माला लगाएर रोहित घरबाट बिदा हुँदै छन् । श्रीमती बिदाइका बेला सुँक्कसुँक्क रूँदै छिन् । वृद्ध बाबुआमा गहभरि आँसु बनाएर छोरालाई बिदाइ गर्दैछन् ।
“ल राम्रोसँग जानुस् । बेलाबेलामा फोन गर्नुहोला । आफ्नो ज्यानको पनि ख्याल गर्नुहोला ।” यति के भनेकी थिइन् कोपिलाले मन थाम्नै सकिनन् । अनि, श्रीमान्लाई अँगालो हालेर रून थालिन् । रोहितले पनि मन थाम्न सकेनन् । एकैछिन् रूवाबासी चल्यो ।
अनि, रोहितले समालिँदै भन्छन्, “हेर म सधँैका लागि हैन, एक–दुई वर्ष पैसा कमाउनका लागि पो जान लागेको । फेरि फर्कौंला, अनि सँगै जिऊँला ।”
परिवारले बिदाइको हात हल्लाएसँगै रोहित मलेसियाका लागि घरबाट निस्किए । भोलिपल्ट काठमाडाँैबाट मलेसियन एयरवेजबाट उनको उड्ने टिकट थियो । उनीसँगै जाँदै थिए अन्य पाँच जना नेपाली साथीहरु पनि । उनीहरुलाई काठमाडौँमा आजै भेट्नु थियो ।
रोहित घरबाट हिँडेको पनि आज तेस्रो दिन भयो । हिजो उनी काठमाडाँैबाट मलेसियाका लागि उडेका हुन् । कोपिलाको मोबाइलमा टिरिरि टिरिरि गर्दै घण्टी बज्यो । उनले फोन उठाइन् ।
“हेलो”
“कान्छी”, उताबाट रोहितको जवाफ आयो । माइतमा कान्छी छोरी भएकाले उनलाई रोहितले कहिलेकाहीँ माया गरेर कान्छी भन्ने गर्दथ्यो ।
श्रीमान्को फोनले कोपिला खुसीले फुरूंग भइन् । हाँस्तै भनिन्, “कतिखेर पुग्नुभयो नि ?”
“एक घन्टा भयो मलेसिया आ’को । भोलिबाट काममा जाने रे !”
परिवारका सबै सदस्यहरुमा सन्चोबिसन्चो संवादसँगै उनीहरु छुट्टिए ।
रोहितले चार महिनासम्म राम्रै कमाइ गरेर घरमा पढाए । चारै महिनाको अवधिमा उनले आफू जाँदा लगाएको डेड लाख रूपैयाँ ऋणमध्ये पचास हजार रूपैयाँ त ऋण पनि तिरे । एकदिन एक्कासि मलेसियाबाट कोपिलाको मोबाइलमा फोन आयो । तर, योपटक आएको नम्बर सधैँ जस्तै एउटै थिएन । फरक नम्बरबाट फोन आयो । के गरौँ के गरौँ हँुदै कोपिलाले मोबाइल उठाइन् ।
“हेलो”
उताबाट जवाफ आयो, “तपाईं कोपिला हो ?”
“हो”
“रोहितको श्रीमती हैन ?”
“हो ।”
“तपाईंको श्रीमान्ले यहाँ आफ्नै साथीको हत्या गरेको अभियोग छ । त्यसैले, मलेसियन प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।”
उताबाट यो संवाद जे फर्किएको थियो, कोपिलाको हातखुट्टा लर्बराए । जताततै अँध्यारो भयो, अनि मोबाइल हातबाट खस्यो । थ्याच्च भुईँमा बसेकी कोपिलाले आफैँलाई अस्पतालको बिछ्याउनामा पाइन् । होसमा आएपछि उनलाई तुरून्तै उडेर मलेसिया नै जाऊँ जस्तो भयो । तर, त्यो सम्भव थिएन । बिस्तारै मन सम्हाल्दै कोपिलाले आफूलाई आएको मोबाइलमा पुनः फोन गरिन्, अनि बल्ल थाहा भयो । सँगै कोठामा बसेका साथीको मृत शरीर भेटिएपछि प्रहरीले उनलाई हत्याको अभियोग लगाएको रहेछ ।
पाँच वर्ष भयो रोहित मलेसियन जेलमा बस्न लागेको । उनी जाँदादेखि लागेको ऋण अझै तिर्न सकिएको छैन । छोरा जेलमा परेको एक वर्षभित्रै पीडाकै कारण वृद्ध आमाबुबा परलोक भए । यो अवधिमा कोपिलाले पनि आफ्नो श्रीमान्को रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयसम्म हार गुहार गरिन्, तर त्यसको कुनै गुनासो सुनुवाइ नै भएन ।
“अड्डाका मानिसहरु हुन्छ काम गर्दै छौँ भन्छन्, तर उनीहरुले ढलेको सिन्कोसम्म भाँचेनन्”, कोपिलाले हार मान्दै भनिन् । कहिलेकाहीँ उनले पनि श्रीमान्को अवस्था बुझ्न त्यही मोबाइलमा फोन गर्ने गर्थिन् । पछि अदालतले रोहितलाई कर्तव्य ज्यान मुद्दामा आजीवन कारावासको फैसला गरेको पनि उनले थाहा पाइन् । कमाउने श्रीमान् विदेशको भूमिको जेलमा, यता भएका छोराछोरीको शिक्षादिक्षा र लालनपालन भने कोपिला एक्लैको काँधमा थियो । गरिबीले गर्दा कोपिलाले छोराछोरीका इच्छाहरु पनि त पूरा गर्न सक्थिनन् ।
कोपिला छोराछोरीहरु लिएर दैनिक ज्यालादारी गर्दै आफ्नो जीवन निर्वाह गरिरहेकी छन् । दिनभरि साहूको घरमा काम ग¥यो । कमाएको ज्यालाले परिवारको जीवन धान्यो । अहिले कोपिलाको जीवन यसरी नै चलिरहेको छ । कोपिलालाई के दसैँ के तिहार ! जस्तोसुकै चाडपर्व आए पनि मन त्यति खुसी हुँदैन । होस् पनि कसरी ? छोराछोरीले चाडबाडमा लत्ताकपडा किन्ने, मीठोमसिनो खाने माग गरे पनि उनी पूरा गर्न सक्दिनन् । छरछिमेकका घरबाट ल्याएको जडौरी नै उनीहरुको लाज छोप्ने साधन हुने गर्छ ।

 

Comments

About the author

चितवन पोष्ट