गृह » ध्रुवीकृत राजनीतिको परिदृश्य
सम्पादकीय

ध्रुवीकृत राजनीतिको परिदृश्य

नेपालका प्रमुख राजनीतिक दलहरु स्पष्ट रुपमा वामपन्थी र लोकतान्त्रिक गरी दुई धारमा विभाजित भएपछि यसले आमजनतामा खुसीयाली छाएको पाइन्छ । साथै, वाम तालमेलसहितको एकता घोषणाले मूर्तरुप लेओस् र यौटै कम्युनिस्ट पार्टी बनोस् भन्ने एकथरी जनताको चाहना पूरा होस् भन्ने आग्रह पनि देशैभरिबाट व्यक्त भइरहेको छ । यस्तै, लोकतान्त्रिक शक्तिहरु पनि नेपाली कांग्रेसको नेतृत्वमा एकजुट भएर चुनावी तालमेल गर्दैछन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेकोमा आश्चर्य मान्नेहरुको पनि कमी छैन । विभिन्न चिरामा विभाजित वामपन्थी शक्तिहरुले एक हुने सन्देश प्रवाह गरेपछि गैरवामपन्थी वृत्तमा तरंग पैदा गरेको छ भने लोकतान्त्रिक शक्तिको नाममा दुवै राप्रपालाई साथ लिएकोमा पनि आलोचना भइरहेको छ ।
आगामी मंसिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पक्षमा स्पष्ट बहुमत ल्याउने चुनावी रणनीतिअन्तर्गत यो तालमेल हुन गइरहेको जस्तो अनुभव अहिले राजनीतिक वृत्तमा गरिएको छ । वामपन्थी दलहरुको विगत जुटमा भन्दा फूटमा बितेको कारण वाम एकताको यो प्रयासले लामो समयसम्म सहकार्य गर्ने हो अथवा फेरि फुटेर जग हँसाउने हो भन्ने विषयमा वाम एकताका शुभचिन्तक र पक्षधरहरु ढुक्क हुन सकिरहेका छैनन् । यो अग्निपरीक्षाबाट ठूला वाम शक्तिहरु यदि उत्तीर्ण हुन सके भने दक्षिण एसियाकै लागि यो एक प्रकारको नौलो प्रयोग मानिने छ ।
नेपालमा समाजवादको मोडल स्थापित गर्न नेपाली कांग्रेस लगभग असफल भएपछि अहिले नेपालका वामपन्थी दलहरु साम्यवादको जटिल सपना परित्याग गर्दै नेपाली मोडलको समाजवाद स्थापना गरेर समृद्ध नेपाल निर्माणको खाका तयार पार्न एकजुट हुन खोजेका हुन् । फुटेर एक्लै राजनीति गर्दा कसैले पनि उद्देश्य र लक्ष्य हासिल गर्न नसकिने भएपछि यो एकता प्रयासको थालनी भएको हुनुपर्छ । तर, यो एकताको आयु लामो अथवा छोटो के हुने हो भन्ने विषयमा धेरैले चिन्ता र आशंका व्यक्त गरिरहेका छन् । तसर्थ, उच्च नेतृत्व तहमा रहेका वरिष्ठ नेताहरुले विगतका तीतामीठा अनुभवहरुबाट गम्भीर पाठ सिकेर परिपक्व राजमार्ग निर्माण गर्न पर्याप्त गृहकार्यको आवश्यकता पर्यवेक्षकहरुले औँल्याएका छन् । अन्यथा, नेतृत्वकै होडबाजीको कारण फेरि पनि गुट र उपगुट बनाएर एक हुनै लागेको पार्टीमा विभाजन ल्याइयो भने त्यो इतिहासको एक ठूलो भूल सावित हुनेछ ।

Comments

About the author

चितवन पोष्ट