गृह » दसैँका बेला दुःख दिने डेँगु सामान्य अवस्थामा
प्रमुख समाचार स्वास्थ्य

दसैँका बेला दुःख दिने डेँगु सामान्य अवस्थामा

भरतपुर । दसैँ आउनासाथ चितवनका अस्पतालहरु डेँगु रोगका बिरामीले भरिन थाल्थे । तर, यो वर्ष त्यस्तो भएन । चितवन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त विवरणअनुसार यो वर्षको साउनयता असोज १० गतेसम्म जम्मा ११ जनामा डेँगुको संक्रमण देखिएको छ । तीमध्ये चितवन नै बस्ने जम्मा सातजना मात्रै छन् ।
एडिस जातको लामखुट्टेले टोक्दा हुने डेँगु रोग चितवनमा पटक–पटक प्रकोपका रुपमा नै देखा पर्ने गर्दथ्यो । नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा नै डेँगुका बिरामी भेटिएका थिए । सन् २०१० मा डेँगुले ठूलो प्रकोपको रुप लिएको थियो । डेँगुको प्रकोप साउनयता कात्तिकसम्म निकै उच्च रहने चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए ।
‘कात्तिक पछाडि मंसिरबाट कम हुँदै जान्छ । महामारी हुने वर्षहरुमा पनि यस्तै भएको थियो । अहिले त भदौ असोजमै निकै कम देखिएको छ । सायद अब यो वर्ष पहिलाको जस्तो प्रकोप बनेर नआउँला’ निरीक्षक केसीले भने । अघिल्ला वर्षहरुमा असोज कात्तिकमा डेँगुका बिरामीको चाप बढ्ने गर्दथ्यो । पहिलेबाटै सावधानी अपनाउँदा यो वर्ष नियन्त्रणमा लिन सजिलो भएको अनुभव केसीको छ ।
‘अघिल्लो वर्ष चितवनमा २३० भन्दा बढी डेँगुका बिरामीहरु भेटिएका थिए । जसमध्ये असोजमा मात्रै १८२ जना बिरामीहरु यहाँका विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना भएका थिए’ जनस्वास्थ्य कार्यालयका निरीक्षक केसीले जानकारी दिए । डेँगुको संक्रमण गराउने लामखुट्टेका लार्भाहरु खोज्ने र नष्ट गर्ने अभियान चलाएका कारण संक्रमण नफैलिएको उनले बताए ।
डेँगु गराउने लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । अण्डाको सानो बोक्रादेखि एक दुई थोपा पानी जम्ने दियो, फुटेको चीमलगायत कुलर, फ्रिज, पुरानो टायरजस्ता धेरै पानी जम्मा भएको ठाउँमा पनि लामखुट्टेले अण्डा पार्छ । त्यस्तो ठाउँहरुमा पानी नै जम्न नदिए एडिस लामखुट्टे प्रभावकारी रुपमा नियन्त्रणमा आउँछ । कार्यालयले यही काम गरेको निरीक्षक केसीले बताए ।
‘अघिल्लो वर्ष जे जति डेँगुका विरामीहरु आए त्यसमा ८० प्रतिशतभन्दा बढी बिरामी रत्ननगर क्षेत्रका थिए । यो पटक हामीले असार र गएको भदौ २६, २७ र २८ गते त्यो क्षेत्रमा लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलायौँ । योपटक त्यहाँबाट अहिलेसम्म जम्मा एकजना बिरामी आएको छ’ केसीले भने । प्रभावित क्षेत्रहरुमा यस्तै अभियान चलाउन उनले सुझाव दिएका छन् ।
‘अण्डा र लार्भामा नै नष्ट गर्न सकियो भने डेँगु गराउने लामखुट्टेबाट छुटकारा पाउन सकिन्छ । हुर्केपछि किटनाशक औषधि छर्के पनि मार्न र नियन्त्रणमा लिन समस्या पर्छ । त्यसैले पानी जम्नै नदिनु र जमेको ठाउँमा लामखुट्टेका अण्डा र लार्भा छन् भने तत्काल नष्ट गर्नुपर्छ’ केसीले भने ।
डेँगुले महामारीको रुप लिएको वर्ष सन् २०१० मा कुल ६८७ जना संक्रमित भेटिएका थिए । जसमा चितवनका मात्रै बिरामीको संख्या ६१० रहेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । त्यो वर्षमात्रै डेँगु रोगका कारण पाँचजनाको ज्यान गएको थियो । सुरूमा उपचार भए निको हुने डेँगुले उपचारमा ढिलाइ भएमा ज्यानैसमेत लिन्छ ।
डेँगु रोगको लक्षण अत्याधिक ज्वरो हो । खप्न निकै गाह्रो हुने गरेर ज्वरोले सताए तत्कालै स्वास्थ्य संस्थामा गएर परीक्षण गरी उपचार सुरू गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् । लामखुट्टेको टोकाइबाट जोगिन शरीर पूरा ढाक्ने लामो बाहुला भएको कपडा लगाउनु उत्तम हुन्छ । डेँगु गराउने एडिस जातको लामखुट्टेले दिउँसोमा मात्रै टोक्ने हुँदा सावधानी अपनाउन चिकित्सकहरुको आग्रह छ ।

Comments

About the author

चितवन पोष्ट