गृह » रत्ननगर अस्पतालको प्रमुखमा न्यौपाने
समाचार समाज स्वास्थ्य

रत्ननगर अस्पतालको प्रमुखमा न्यौपाने

रत्ननगर । सरकारले रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा अजय न्यौपाने नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालका डेन्टल विभाग प्रमुख डा.न्यौपानेलाई रत्ननगर अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा कृष्ण पौडेलको भरतपुर अस्पतालमा सरुवा भएपछि साउनयता डा सोेफिया पौडेलले निमित्त मेडिकल सुपरिटेण्डेन्टको रुपमा काम गर्दै आएकी थिइन् ।
पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालमा सामाजिक सेवामा समेत क्रियाशील डा न्यौपानेलाई सरकारले प्रमुखमा नियुक्त गरेपछि अस्पतालका विकास हुनेमा यहाँका वासिन्दाहरु आशावादी छन् ।
‘हामी अस्पतालको सेवा विस्तार र भौतिक पूर्वाधार निर्माणको क्रममा छौँ’, अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले भने, ‘यो अस्पतालले सेवाको भावना भएको डाक्टर प्रमुखको रुपमा पाएका छौँ, यसले अस्पतालको विकासको थप सहयोग मिल्ने छ ।’
रत्ननगर अस्पतालमा हाल १५ बेड क्षमता रहे पनि यसको स्तरोन्नति गरी ५१ बेडको बनाउने गृहकार्य सुरु भइसकेको छ । स्थानीय तहको निर्वाचनपछि बनेको रत्ननगर नगर कार्यपालिकाको बैठकले पनि सो अस्पताल ५१ बेडको बनाउने निर्णय गरिसकेको छ ।
सो अस्पतालले मिर्गौलाको डाईलासिस, प्रसूति, छाला, दन्त, शल्यक्रिया, हार्डजोनीलगायतका सेवा प्रदान गरिरहेको छ ।

Comments

About the author

चितवन पोष्ट