गृह » लामखुट्टेको बासस्थान खोज्दै घर घरमा टोली
समाचार समाज स्वास्थ्य

लामखुट्टेको बासस्थान खोज्दै घर घरमा टोली

धादिङ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी र आसपासका बस्तीमा डेँगु रोग महामारीकै रुपमा देखा पर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय धादिङले सो नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।
जिल्ला अस्पताल धादिङमा दैनिकजसो दुई तीनमा जना यस रोगको संक्रमण देखिन थालेपछि धादिङमा यस रोगले महामारीकै रुप लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले धादिङमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु र स्थानीय सामाजिक कार्यकर्ता प्रहरीलगायतको टोली सो रोगको नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमहरुसहित डेँगुग्रस्त क्षेत्रहरुमा परिचालित भएका हुन् ।
टोलीले स्थानीयहरुलाई रोग लाग्नुको कारण नियन्त्रण गर्ने उपायका बारेमा जानकारी दिँदै रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्नका लागि सबैलाई आग्रह गरेका छन् ।
विशेष गरी पानी जम्ने स्थानहरुलाई हटाउन र मानिसहरुले घर वरपर आफ्नो सरसफाइमा लाग्नसमेत स्वास्थ्यकर्मीहरुको टोलीले सर्वसाधारणलाई सचेत गराएका छन् ।
एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको सरुवा रोग भएकोले डेँगु तत्काल नियन्त्रणमा गर्नका लागि संक्रमणग्रस्त क्षेत्रका सबै स्थानीयहरु एक भएर लाग्नुपर्ने जिल्ला अस्पतालका चिकित्सक कृष्णलाल उप्रेतीको सुझाव छ ।
धादिङमा यस रोगको भाइरस भएको लामखुट्टे अत्याधिक मात्रामा भेटिएको बताउँदै स्वास्थ्यकर्मीहरुले यस रोगले महामारीको रुप लिइसकेको दाबी गर्दै स्वास्थ्यकर्मीहरुको निगरानीमा बजार सरसफाइसमेत गर्न सुरु गरिएको छ । विशेष गरी रोग सार्ने लामखुट्टेहरुको पहिलो चरणमा लार्भा नै नष्ट गर्नुपर्ने भन्दै धादिङ सदरमुकामका प्रत्येक घरहरुमा विशेषज्ञहरुको टोलीसहित निरीक्षण गर्दै सचेतना दिइएको छ ।
टोलीमा एक सयभन्दा धेरै स्थानीय, प्रहरी र स्वास्थ्यकर्मीको टोलीले यस रोगको नियन्त्रणका लागि जनचेतनामुलक विषेश कार्यक्रम संकटग्रस्त धादिङबेसी बजारमा सञ्चालन गरेका छन् ।
मंगलबारसम्म जिल्ला अस्पतालले यस रोगको २२ जना बिरामीलाई उपचारका लागि काठमाडौँ पठाइएको र दर्जनौँ बिरामीहरु यस रोग लागेको आशंकामा रोगको परीक्षण गराउने क्रम जारी रहेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल धादिङमा दैनिक ५० देखि ६० जना बिरामी अत्याधिक ज्वरोबाट प्रभावित भएकाहरु उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

 

Comments

About the author

चितवन पोष्ट