गृह » तितेपातीको ‘तस्बिरै तस्बिर’ लोकार्पण
समाचार समाज साहित्य

तितेपातीको ‘तस्बिरै तस्बिर’ लोकार्पण

गैँडाकोट । आख्यानकार टङ्कराज ढकाल ‘तितेपाती’को नवीनतम् कृति ‘तस्बिरै तस्बिर’ बिहीबार गैँडाकोटमा लोकार्पण गरिएको छ । साहित्य संगम चितवनको आयोजनामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा गणेशप्रसाद खरालको हातबाट ‘तस्बिरै तस्बिर’ लोकार्पण गरिएको हो ।
उक्त कृतिको समीक्षा गर्दै समीक्षक पूर्णप्रसाद अधिकारीले उपन्यासभित्र एउटै व्यक्तिको सातवटा तस्बिर आएकोले शीर्षक सार्थक बनेको बताए । लेखकलाई कृतिभित्र र बाहिर उस्तै देखिने उनको भनाइ छ । उपन्यासको पहिलो अध्याय नै सुखद नभएको भन्दै उनले उपन्यासमा भएका पात्रहरूको चरित्र विकास भने हुन नसकेको टिप्पणी गरे । समग्रमा देशको राजनीति, आपत विपद् आदिलाई समेटेकोले कृतिकार सफल भएको उनले बताए ।
यस्तै अर्का समीक्षक डा एकनारायण पौडेलले कविता विधाबाट आख्यान विधामा आउनु नेपाली साहित्यको लागि सकारात्मक पाटो भएको औँल्याए । तर, पनि नेपालको विगत ७०–८० वर्षभन्दा पुरानो इतिहासलाई उपन्यासमा समेट्ने प्रयास गरिएको उनको भनाइ छ । छोरा र छोरीबीचको मतभेदलाई पनि कथामा समेटेको बताउँदै नेपाली राजनीतिलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको उनले बताए ।
तर, कृतिको आवरण र कथावस्तुबीच तालमेल नमिलेजस्तो लागेको उनको बुझाइ छ । साहित्य संगम चितवनका अध्यक्ष द्वारिका नेपालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, इन्द्र रेग्मी, प्रभाकर पण्डित, रमाकान्त शर्मालगायतले बोलेका थिए ।

Comments

About the author

चितवन पोष्ट