गृह » वाम एकताको औचित्य
सम्पादकीय

वाम एकताको औचित्य

नेपालका प्रमुख वामपन्थी दलहरु इतिहासको धूमिल कालखण्डलाई चिर्दै एकताको घोषणा गरेका छन् । एकअर्कालाई दुश्मनजस्तो ठान्दै आएका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच हुन गइरहेको एकता प्रयास अन्तिम चरणमा पुगेको देखेर वाम राजनीतिको तल्लो तहका कार्यकर्ता र समर्थक वृत्तमा उत्साह र उमंग पैदा गरेको अनुभव गरिएको छ । साथसाथै, वाम एकताको यो अभियानको आयु लामो होला कि चाँडै नै यसको भ्रूणहत्या होला ? भन्ने चिन्ताले आमकार्यकर्ताहरुलाई चिन्तित पनि बनाएको पाइएको छ । सधैँ जुटमा भन्दा फूटमा विश्वास राख्ने वामपन्थी शक्तिहरुको यो अभियानले वास्तवमै मूर्तरुप लिन सक्ला कि नसक्ला ? भन्ने विषयमा छाएको चिन्तालाई अन्त्य गर्न शीर्ष नेताहरुले अहम् भूमिका खेल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपालको वाम आन्दोलनले यो एकता प्रयास सफल भएमा क्रान्तिको यौटा अध्याय पूरा गरी वैज्ञानिक समाजवादको माध्यमबाट समृद्ध राष्ट्रको निर्माण गर्ने सम्भावना देखिएको छ । परिवर्तनका पक्षधर नेपाली वाम आन्दोलनले अब एकताबद्ध भएर नेपाली जनताको चाहना र भावनाको सम्मान गर्ने आशा गर्न सकिन्छ । यो वाम एकता प्रयासमा नेकपा माओवादी क्रान्तिकारी र राष्ट्रिय जनमोर्चालगायतका वामपन्थी दलहरुलाई पनि समेटेर नयाँ नेपालको निर्माण गर्ने महाभियानमा सबैको सहयोग लिन सकिएमा यसले वास्तवमै सार्थक रुप लिनसक्ने विश्वास गर्न सकिन्छ ।
नेपालको सुषुप्त राजनीतिक परिदृश्यमा एक प्रकारको तरंग ल्याउन सफल वाम एकताको अभियानसँगसँगै नेपाली कांग्रेसको नेतृत्वमा ६ पार्टी सम्मिलित अर्को लोकतान्त्रिक शक्ति पनि संगठित भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुबीच तालमेल गरेर चुनाव लड्ने रणनीति नेपाली कांग्रेसले लिएको छ । अब नेपालको राजनीतिमा स्पष्ट रुपमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरुबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सत्ता–स्वार्थका लागि यसअघि हुने गरेका अपवित्र गठबन्धनको अब अन्त्य हुने भएको छ र यौटै आदर्श र आस्था बोकेका शक्तिहरुबीच मात्र कार्यगत एकता हुने भएको छ । नेपाली जनता अब क्रान्ति होइन, शान्तिपूर्ण माध्यमबाट परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्तछन् । यो वाम एकता अभियानले राष्ट्रलाई समृद्धिको बाटोमा लैजान्छ भन्ने पक्षमा तल्लो तहका निमुखा र गरिब जनताले आशा, विश्वास र भरोसा गरेको कुरामा वाम एकताका अभियन्ताहरु स्पष्ट हुनु जरूरी देखिएको छ ।

 

Comments

About the author

चितवन पोष्ट