गृह » आदर र अनादरको फल
विचार

आदर र अनादरको फल

डा. मतिप्रसाद ढकाल
dhakalmatip@gmail.com

दुःखको मोहजालमा फसेकी द्रौपदीले युधिष्ठिरको बुद्धि र धर्म अनि ईश्वरको न्यायमाथि नै आक्षेप लगाउन पुगिन् । यसै सन्दर्भमा युधिष्ठिरले द्रौपदीका आक्षेपहरुको समाधान गर्दै ईश्वर, धर्म र महापुरूषहरुको आदर गर्नाले लाभ हुने तथा यिनको अनादर गर्नाले हानि हुने कुराको चर्चा गरेका छन् ।
युधिष्ठिरले द्रौपदीसँग आपूm कर्मका फलको कामना राखेर कर्मानुष्ठानमा प्रवृत्त नभई ‘दिनु नै कर्तव्य हो’ भन्ने ठानेर दान दिन र यज्ञलाई पनि कर्तव्य नै ठानेर त्यसमा प्रवृत्त हुने गरेको रहस्य खोलेका छन् । उनी कर्तव्यप्रति दृढप्रतिज्ञ छन् ः
अस्तु वात्र फलं मा वा कर्तव्यं पुरूषेण यत् ।
गृहे वा वसता कृष्णे यथाशक्ति करोमि तत् ।।
(म.भा. ३।३१।३)
अर्थात् कर्मको फल प्राप्त होस् वा नहोस् गृहस्थाश्रममा रहनेवाला व्यक्तिको जुन कर्तव्य छ मैले कर्तव्यबुद्धिले त्यसैको यथाशक्य पालना गर्दछु । मैले धर्मको फल पाउने लोभले धर्मको आचरण गर्दिनँ । किन्तु साधुसज्जनहरुको आचरणलाई देखेर शास्त्रीय मर्यादालाई उल्लङ्घन नगरीकन स्वाभाविक रुपले मेरो मन धर्मपालनमा प्रवृत्त हुन्छ । जुन व्यक्ति केही पाउने इच्छाले धर्मको व्यापार गर्छ त्यो व्यक्ति धर्मवादीहरुका दृष्टिमा हीन र निन्दनीय मानिन्छ ः
धर्मवाणिज्यको हीनो जघन्यो धर्मवादिनाम् । ।
(पूर्ववत्, ३।३१।५)
जुन पापिष्ठ व्यक्ति नास्तिकतावश धर्मको अनुष्ठान गरेर धर्मका विषयमा शङ्का गर्छ, धर्मलाई दुहुन खोज्छ र धर्मका नाममा स्वार्थसिद्ध गर्न चाहन्छ त्यस्ता व्यक्तिलाई धर्मको फल मिल्दैन । धर्मका विषयमा शङ्का गर्ने व्यक्तिले पशुपंक्षीको योनिमा जन्म लिनुपर्छ । जसले धर्मका विषयमा शङ्का गर्छ र वेद आदि शास्त्रहरुमा विश्वास गर्दैन त्यस्तो व्यक्ति जरामृत्युरहित परमधाममा पुग्नबाट सदैव वञ्चित नै रहन्छ । व्यास, वसिष्ठ, नारद, शुक्राचार्य आदि सबै महर्षिहरु धर्मको पालना गरेर नै शुद्ध हृदयवाला भएका हुन् । त्यसैले मूर्खतायुक्त मनले ईश्वर र धर्ममाथि आक्षेप र आशङ्का गर्नु द्रौपदीजस्ता व्यक्तिलाई सुहाउने कुरो होइन ।
जसले धर्मका त¤वको निश्चय गरेका छन् त्यस्ता समस्त ज्ञानीजनहरुलाई धर्मका विषयमा आशङ्का गर्नेवाला मन्दबुद्धियुक्त व्यक्तिले उन्मत्त ठान्दछ । त्यसैले त्यस्तो बालबुद्धिले अरु कसैबाट कुनै शास्त्रप्रमाण ग्रहण गर्दैन । केवल आप्mनो बुद्धिलाई नै प्रमाण मान्नेवाला उद्दण्ड व्यक्तिले महान् व्यक्तिहरुको र उत्तम धर्मको पनि अवहेलना गर्छ । त्यस्तो व्यक्तिले इन्द्रियहरुको आसक्तिसँग सम्बन्ध राख्ने प्रत्यक्ष दृश्यमान यही जगत्को सत्तालाई मात्र स्वीकार गर्छ भने अप्रत्यक्ष वस्तुका विषयमा उसको बुद्धि मोहमा पर्छ । ‘प्रायश्चित्तं न तस्यास्ति यो धर्ममभिशङ्कते’ (पूर्ववत्, ३।३१।१८) अर्थात् धर्मप्रति शङ्का गर्ने व्यक्तिको शुद्धिका लागि कुनै प्रायश्चित्त पनि छैन । त्यस्तो पापिष्ठ व्यक्तिले उत्तम लोकलाई प्राप्त गर्न नसक्ने भएकाले उसले अधिगछि प्राप्त गर्छ ।
जसले धर्मका विषयमा पूर्ण विश्वास राख्छ र सबै किसिमका आशङ्काहरु छाडेर धर्मको शरण लिन्छ, त्यसले परलोकमा अक्षय सुख वा परमात्मालाई प्राप्त गर्दछ । जो मूर्ख व्यक्ति आर्ष ग्रन्थहरुका प्रमाणको अवहेलना गरेर समस्त शास्त्रहरुभन्दा विपरीत आचरण गर्दै धर्मको पालना गर्दैन त्यो जन्मजन्मान्तरहरुमा पनि कहिल्यै कल्याणको भागी हुँदैन । जसका दृष्टिमा ऋषिहरुको वचन र शिष्ट पुरूषहरुको आचरण प्रामाणिक हँुदैन उसका लागि न यो लोक छ न त परलोक नै छ भन्ने निश्चय त¤ववेत्ता महापुरूषहरुले गरेका छन् । त्यसैले सर्वज्ञ र सर्वद्रष्टा महर्षिहरुद्वारा प्रतिपादित तथा शिष्ट व्यक्तिहरुद्वारा आचरण गरिएको पुरातन धर्ममाथि शङ्का गर्नु हुँदैन ः
शिष्टैराचरितं धर्मं कृष्णे मा स्माभिशङ्किथाः ।
पुराणमृषिभिः प्रोक्तं सर्वज्ञैः सर्वदर्शिभिः ।।
(पूर्ववत्, ३।३१।२३)
जसरी समुद्र पार गर्न चाहने व्यक्तिका लागि डुङ्गा वा नाउको आवश्यकता हुन्छ त्यसैगरी स्वर्गमा जानका लागि पनि धर्माचरणरुपी जहाजको आवश्यकता पर्छ । यदि धर्माचरण गर्ने व्यक्तिद्वारा पालना गर्दै आएको धर्म निष्फल हुन्थ्यो भने सम्पूर्ण संसार नै असीमित अन्धकारमा डुब्ने थियो । यदि धर्म नै निष्फल हुन्थ्यो भने धर्मात्मा व्यक्तिहरुले मोक्ष प्राप्त गर्दैनथे, कोही पनि विद्यार्जनमा प्रवृत्त हुने थिएनन्, कसैले पनि कुनै प्रयोजनको सिद्धिका लागि प्रयास नै गर्ने थिएनन् र सबैले अचेतन पशुले जस्तै जीवन व्यतीत गर्थे । त्यसैले यस संसारमा धर्मको फल दिने ईश्वर अवश्य छन् र यही कुरा बुझेर नै ऋषि महर्षिहरुले धर्मको आचरण गरेका हुन् किनकि धर्म नै सनातन श्रेय हो ।
स नायमफलो धर्मो नाधर्मोऽफलवानपि ।
(पूर्ववत्, ३।३१।३१)
अर्थात् धर्म निष्फल हुँदैन र अधर्म पनि फल नदिईकन रहन सत्तैmन । विद्या र तपस्याका पनि फल देखिन्छन् । धैर्य धारण गर्नसक्ने व्यक्तिले कर्मको फल पाउँछ र थोरै फल पाएर पनि सन्तुष्ट हुन्छ । परन्तु बुद्धिहीन अज्ञानी व्यक्ति धेरै फल पाएर पनि सन्तुष्ट हुँदैन र त्यस्ता व्यक्तिलाई परलोकमा समेत धर्मजनित थोरै सुख पनि मिल्दैन ।
वेदमा बताइएका पुण्यदायी सत्कर्महरु र अनिष्टकारी पापकर्महरुको फलोदय, उत्पत्ति र प्रलय यी सबै देवगुह्य हुन्, देवताले मात्र यिनलाई जान्दछन् । यी देवगुह्य विषयहरुमा सर्वसाधारण व्यक्तिहरु मोहित हुन्छन् । जो यी सबैलाई ता¤िवक रुपले जान्दैनन् ती हजारौँ कल्पहरुमा पनि कल्याणको भागी हुँदैनन् । जसले आशालाई पूर्णतः परित्याग गरी सा¤िवक हितकर एवं पवित्र आहार गर्छ, तपस्याद्वारा जसको पाप पूर्णतः दग्ध भएको छ र जो मानसिक प्रसन्नताले युक्त छ त्यस्तो व्यक्तिले नै देवगुह्य विषयहरुलाई देख्न सक्छ ।
धर्मको फल तत्काल देखिएन भनेर धर्म र देवतामाथि आशङ्का गर्नु हुँदैन किन्तु दोषदृष्टि नराखीकन यत्नपूर्वक यज्ञ र दानहरु गरिरहनुपर्छ । कर्मको फल यहाँ अवश्य प्राप्त हुन्छ, यो धर्मशास्त्रको विधान हो । त्यसैले नास्तिकतापूर्ण विचार त्याग्नुपर्छ, धर्म, ईश्वर र गुरूजनका उपदेशमाथि आशङ्का र आक्षेप लगाउनु हुँदैन अनि अमरत्व प्रदान गर्ने परमेश्वरको पनि अवहेलना गर्नु हुँदैन ।
हामीलाई कसैले आदर गर्दा हामी निकै खुसी हुन्छौँ भने अनादर गर्दा अत्यन्त दुःखी हुन्छौँ । जसले हाम्रो आदर गर्छ उसलाई हामीले अनादर गर्दैनौँ र उसलाई केही न केही सहयोग गर्न हामी अग्रसर हुन्छौँ भने हामीलाई अनादर गर्नेप्रति हामीले अनादर नै गरेर उसको केही न केही हानि पु¥याउन हाम्रा क्रियाकलापहरु अग्रसर हुन्छन् । त्यसैले आदरबाट हामीले केही न केही लाभ लिन सक्छौँ भने अर्काको अनादर गर्दा हामीले केही न केही हानिनोक्सानी बेहोर्नुपर्छ । तसर्थ हामीले ईश्वर, धर्म, महापुरूषलगायत सबैको आदर गर्न सिक्यौँ भने निश्चय नै हामी पनि लाभान्वित र सम्मानित हुनेछौँ ।
(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपरासी)

Comments

About the author

चितवन पोष्ट