गृह » जागिर खाँदै गीत–संगीतमा रम्दै दीपकराज
कला

जागिर खाँदै गीत–संगीतमा रम्दै दीपकराज

–तुलमान गुरूङ
भरतपुर । दीपकराज विश्वकर्मा नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेको नाम हो । उनी गायक÷गीतकार एवम् संगीतकारको रूपमा आफ्नो परिचयलाई फराकिलो बनाउन सफल भइसकेका छन् । उनले हालसम्म आफ्नै आवाजमा सातवटा गीत बजारमा ल्याएका छन् । दर्शक स्रोताको मायाका कारण उनलाई नेपाली संगीत क्षेत्रमा थप उर्जा मिलेको छ ।
हुन त उनले आफूलाई गायकभन्दा पनि संगीतकारका रूपमा चिनाउने प्रयास गरिरहेका छन् । जसकारण हालसम्म उनले १२० भन्दा बढी गीतका शब्दलाई कम्पोज गरिसकेका छन् । उनी भन्छन्, ‘गाउन र शब्द लेख्नभन्दा पनि म्युजिक कम्पोजमा बढी व्यस्त छु ।’ त्यसो त उनले ५० भन्दा बढी गीत लेखिसकेका छन् । पेसाको हिसाबले सरकारी जागिरे भएकोले बचेको समय उनी गीत–संगीतमै व्यस्त हुन्छन् ।
एकैछिन फुर्सद पाउनासाथ शब्द कोर्ने र लय निकाल्ने प्रयासमा लागिहाल्छन् । निकट भविष्यमै सफल संगीतकार बन्ने उनको ठूलो रहर केही हदसम्म पूरा भइसकेको छ । ‘तर, गर्नुपर्ने कामहरू धेरै नै बाँकी छन्,’ उनी भन्छन्, ‘अग्रजहरूको तुलनामा मैले त केही पनि गरेको छैन । किनकि मेरो अहिलेको समय भनेको सिक्ने समय हो । त्यसैले भोलिको लागि आजैदेखि गीत÷संगीत सिक्दैछु ।’
०७० सालको माघमा दीपक शर्माको संगीत र गोकुल विसीको शब्दमा उनले ‘तिमी राम्री’ बोलको पहिलो गीत रेकर्ड गरेका थिए । उक्त गीतले उनलाई नेपाली गीत–संगीतको क्षेत्रमा धेरथोर चिनायो । यो गीत रेकर्ड गरेर स्रोतासम्म ल्याउनका लागि हरिप्रसाद दाइ (ठूलो बाको छोरा)को ठूलो भूमिका रहेको उनले बताए । ‘हरि दाइकै सहयोगको कारण आज म यो स्थानमा आइपुेको छु,’ उनले भने, ‘उहाँको गुन म कहिल्यै पनि भुल्न सक्दिन ।’
स्रोताले मन पराएपछि उनले आफ्नै शब्द, संगीतमा ‘संसार भूली’ बोलको गीत गाए । दोस्रो गीतले थप उचाइ दिएपछि उनले गीत–संगीतलाई निरन्तरता दिँदै गए । जसको फलस्वरूप अहिले उनी दर्शक स्रोताको मनमा बस्न सफल भइसकेका छन् । त्यसपछि पनि उनको ‘मरिलानु के नै छ र’, तिम्रो अनेक बहानामा लगायतका गीतले चर्चा कमायो ।
प्रायः सबै खालका गीत–संगीतलाई उत्तिकै न्याय दिन सक्ने क्षमता भएका गायक तथा संगीतकार विश्वकर्माले संगीत क्षेत्रमा पनि भविष्य देखेका छन् । ‘जागिर भन्ने कुरा उमेर छउञ्जेल खाइन्छ । त्यसैले निश्चित समयभित्र मात्रै चल्छ,’ उनी भन्छन्, ‘तर, गीत–संगीत भन्ने चिज बाँचुञ्जेललाई हुने कुरा हो । त्यसैले अन्तिम साससम्म पनि गीत–संगीतलाई निरन्तरता दिने सोचमा छु ।’ घरपरिवारबाट पनि राम्रो साथ पाएकोले उनले संगीत क्षेत्रकै लागि भनेर मरिमेट्नु परेन ।
दर्शक स्रोताको मायाकै कारण यो वर्ष पनि उनले दसैँ तिहारसम्बन्धी वियोगान्त गीत ‘दसैँ आउँदा तिहारै आउँदा’ बजारमा ल्याएका छन् । आफ्नै स्वर÷शब्द÷संगीतमा रहेको यो गीतलाई पनि दर्शक स्रोताले मन पराएका छन् ।
‘एकदमै छोटो समयमा लेखेको गीतले यतिको चर्चा पाइएला भन्ने सोचेको थिएन,’ उनले भने, ‘तर, पनि छोटो समयमै दर्शकस्रोताले मन पराइदिनुभएको छ । त्यसैले पनि म एकदमै खुसी छु ।’
भरतपुर–१३ मंगलपुरस्थित विश्वप्रकाश माविबाट २०६९ सालमा एसएसली परीक्षा उत्तीर्ण गरेका उनी हाल राजधानी बसेर गीतसंगीतको साथै जागिर र पढाइलाई पनि सँगसँगै अगाडि बढाइरहेका छन् । उनले केही समयअघि सिनर्जी एफएममा कार्यक्रम चलाएका थिए ।

Comments

About the author

चितवन पोष्ट