गृह » यी दुवै अतिवादको चपेटामा
सम्पादकीय

यी दुवै अतिवादको चपेटामा

अतिवादले समाज, देश र सिंगो विश्व मानव समुदायलाई नै हानि पु¥याउँछ भन्ने कुरा बुझ्न टाढा जानु पर्दैन, नेपालभरिका अस्पतालहरुमा गएर उपचार नपाएका बिरामीको दुर्दशा हेरे पुग्छ । मुलुकभरका चिकित्सकहरु गत पाँच दिनदेखि इमरजेन्सी सेवाबाहेक अन्य सबै सेवाहरु ठप्प पारेर सरकारप्रति आक्रोश पोखिरहेका छन् । बिरामीको उपचार गर्ने क्रममा मृत्यु भएमा सम्बन्धित चिकित्सकले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने गरी नयाँ विधेयक संसदमा पेस गर्न लागेको समाचार सार्वजनिक भएपछि देशभरका चिकित्सकले उक्त विधेयकको विरोधमा हडतालमा उत्रिएका हुन् । सरकारले विधेयकको उक्त बुँदा हटाएको भएता पनि अन्य मागहरु सहित चिकित्सकले बिरामीको उपचार नगर्दा दसैँको मुखमा हजारौँ बिरामी उपचारविहीन अवस्थामा बस्नुपरेको छ ।
सरकार चिकित्सक विरुद्ध त्यति आक्रामक ढंगले प्रस्तुत नहुनु पर्ने थियो र चिकित्सकहरु पनि यो हदसम्म तल ओर्लिएर बिरामीको उपचार नै नगरेर हड्तालमा उत्रिनु नहुने थियो । चिकित्सक पेसा मर्यादित पेसा हो र उनीहरुको हातमा हजारौँ मात्र नभएर लाखौँ बिरामीको जीवनसँग खेलबाड गर्न नहुने थियो । चितवनका सरकारी र निजी अस्पतालहरु पनि चिकित्सकहरुको यो राष्ट्रव्यापी हड्तालबाट अछुतो रहन सकेनन् । चिकित्सकको पेसागत धर्म, मर्यादा र आचारसंहिता विपरीत मात्र नभएर मेडिकल सिटीको प्रतिष्ठा कमाउन थालेको चितवनका बिरामीहरु पनि अन्यत्र जस्तै ओपीडी सेवाको अनिश्चितकालीन बन्दको गम्भीर मारमा परेका छन् । अब सरकार र नेपाल चिकित्सक संघले निर्णायक वार्ता गरेर यो विवाद जतिसक्दो छिटो समाधान गर्नु आवश्यक भएको छ ।
नेपालीहरुको राष्ट्रिय चाड दसैँ समेत खल्लो हुने गरी अस्पतालहरुमा भइरहेको अनिश्चितकालीन हड्तालले चिकित्सकको पेसागत मर्यादामाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । सरकारसँग वार्ता गरेर आफ्ना जायज माग पूरा गराउने तर्फ पहल गर्नु आजको प्रमुख आवश्यकता बन्न गएको छ । अस्पताल र चिकित्सकहरु भनेका बिरामीको लागि एक भरपर्दो आस्थाको केन्द्र पनि हुन् । समाजमा चिकित्सकहरु सम्मानित व्यक्तिको रुपमा गनिन्छन् । बिरामीलाई जीवनदान दिने व्यक्तिको रुपमा प्रतिष्ठा कमाएका व्यक्तिहरु नै जब आफ्नो नागरिक कर्तव्य बिर्सिएर आमहडतालमा उत्रन्छन् भने त्यो भन्दा दुःखद स्थिति अरु केही पनि हुन सक्तैन । सामाजिक मूल्य र मान्यता समेतलाई मध्यनजर गर्दै चिकित्सकहरुको यो आमहडताल तत्काल बन्द हुनु पर्दछ भने सरकारले पनि लचिलो भएर चिकित्सकका जायज माग पूरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

Comments

About the author

चितवन पोष्ट