गृह »  पीडित प्याउलीको सत्कार र बिर्खबहादुरको वात्सल्य 
विचार

 पीडित प्याउलीको सत्कार र बिर्खबहादुरको वात्सल्य 

रमेशकुमार पौडेल
बिहान घाम झुल्कन नपाउँदै धरानबाट हिँडेको अरुण तरेर भोजपुरको प्याउली पुग्दा दिउँसोको दुई बजिसकेको थियो । हामी चढेको गाडी त्यहाँभन्दा अगाडि जाँदैन थियो । ग्राभेल बिछ्याइएको त्यो बाटो सदरमुकाम भोजपुर नै पुग्छ । यो मध्यपहाडी राजमार्गकै खण्ड हो । तर, हामी सदरमुकाम जाँदै थिएनौं । त्यसैले पहाडी यात्राका लागि निकै भरपर्दो मानिएको ल्याण्डरोभर जिप हामीले छाड्नु प¥यो ।
सानो ठाउँ प्याउलीमा बजार भन्न मिल्ने खालका केही संरचनाहरु भने थिए । पक्की घरमा दुई चारवटा होटल तथा लजहरु देखिए । त्यही भेटिएका साथी शेखर भट्टराईले हामीलाई मूल बाटोभन्दा केही भित्र छिराए । एउटा पुरानो दुई पाखे घरमा हामी अडियौं । ‘अब माथि उक्लनुस् । आज खाने सुत्ने यहीँ हो’ शेखर जीले यसो भनेपछि हामी साँघुरो भ¥याङ उक्लिएर अध्यारो कोठामा आफ्ना सामानहरु राख्यौं ।
पर्यटकीय क्षेत्र तिर होमस्टे भन्छन् त्यस्ता घरहरुलाई । विमल क्षेत्री निरौलाको सो घर घोषणा नै नगरिए पनि सुविधाका हिसाबले होमस्टे नै थियो । सफा बिछ्यौना, मिठो खाना । दिउँसो साँघुरो भ¥याङ उक्लँदा र अध्यारो कोठामा पस्दा अलि कस्तोकस्तो नलागेको हैन तर निरौला परिवारको सत्कारले हामी फुरुङ्ग भयौं । साँझ खाना खाँदा नै भोलि बिहानका लागि नास्ता तयार गर्दिन भन्यौं । सबैले सुक्का रोटी खान मन ग¥यौं । तर, घरबेटी भाउजुले ‘यत्रा जनालाई त पकाउन सक्दिन भो’ भनिन् ।
हामीले ‘दुईवटा भन्दा खाँदैनौं, छ जना छौं, १२ वटा रोटी पकाउन के गाह्रो पर्ला र ’ भनेपछि भाउजुले ‘दुईवटा के तीन तीनका दरले पकाउन त भ्याइ हाल्छु । भकाभक धेरै नै खाने पो हो कि भने र पो हो’ भन्दै सुक्का रोटी बनाउन तयार भइन् । बिहान उज्यालो हुन नपाउँदै रोटी पकाउने तयारी सुरू भयो । धनकुटाबाट आएका दुई बस प्याउलीमा साँझ बास बसेका थिए । तीमध्ये कुनै एउटमा चढेर हामी तल लेगुवा झर्नु थियो । लेगुवाबाट उही ल्याण्डरोभरमा संखुवासभा सदरमुकाम खाँदबारी पुग्ने हाम्रो त्यस दिनको कार्यक्रम थियो ।
प्याउलीमा बास बसेको एउटा बस बिहान अलि चाडै हिँड्दो रहेछ । अर्को बस सदरमुकामबाट पहिलो बस आएपछि मात्रै बाटो लाग्न पाउने नियम रहेछ । आठ बजेयता सदरमुकामको बस नआउने स्थानीयले बताए । भाउजुले चाडै नै रोटी तयार गर्नु भयो । जति चाडो गरे पनि पहिलो बस चढ्न सकिएन, हिँडि हाल्यो । दोस्रो बस केही बेरपछि मात्रै जाँदै थियो । त्यसैले रोटी खाएपछि हामी त्यतै बरालियौं । पसलहरु खुलिसकेका थिएनन् । स्कुल आडका पसल स्कुल खुलेपछि मात्रै खुल्ने रे । पसलको भित्तामा दुई तीनवटा कागज टाँसिएका थिए । एउटा त्यहाँको अरुण गाउँपालिकाको सूचना रहेछ । एनजीओहरुलाई स्थानीय तहमा समन्वय गर्न आउ भनिएको थियो ।  एउटा अर्को कागजमा आँखा गयो । जसकोे दाहिने तर्फबाट लगभग एक चौथाइ भाग च्यातिएको थियो । तर, लेखेका कुरा पढ्न मिल्थ्यो । त्यो कागजको विषयवस्तु पढेपछि पो हामी झल्यास्स भयौं । ओ हो हामीले त एउटा असामान्य घटना भएको गाउँमा पो रात बिताएका रहेछौं । देशमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहौल तातेको थियो । एकाएक भोजपुरबाट आएको एउटा भयङ्कर खबरले सबैको ध्यान तानेको थियो । असार १० गतेदेखि हराइ रहेका १६ वर्षका रञ्जिब सापकोटा, १४ वर्षकी सुष्मा फुँयाल र आठ वर्षका प्रदिप फुयाँल असार १२ गते बिहान स्थानीय पोखरीमा मृत भेटिए । गाउँलेहरुले आशंका गरे यो हत्या हो । चुनावको समय भएकाले गाउँमा प्रशस्तै सुरक्षाकर्मीहरु थिए । नेपाल प्रहरीले म्यादी प्रहरीसहितको टोली खटाएको थियो । सेनाको र सशस्त्रको टोली पनि थियो । सुरक्षा प्रबन्ध कडा भएको समयमा गाउँका बालबच्चा हराए । भेटिदा मृत थिए । के भएको हो लामो समयसम्म कसैले ठोकुवा गर्न सकेन । पछि पोष्टमार्टम रिपोर्ट आयो रे घाँटीमा चुइगम अड्कदा मृत्यु भएको देखिन्छ भनेर । तर, गाउँलेहरुले यसलाई पत्याएका छैनन् । उनीहरुले हत्या नै मानेर बसेका छन् । हो यही घटना भएको गाउँ प्याउलीमा पो रहेछौं हामी ।
कागजमा लेखिएको थियो ‘घटनाको ४३ दिन बित्यो तर अपराधी पत्ता लागेन । अब साउन २६ गतेबाट हामी कडा आन्दोलन गर्ने छौं ।’ हामीले भदौ २३ गते बिहान सो सूचना पढ्दै थियौं । तर, अवस्था उस्तै थियो । गाउँलेहरु भन्थे ‘हाम्रा नानीबाबुहरु मारिए तर अपराधी पत्ता लागेन ।’ प्याउलीका गाउँलेहरुले कडा आन्दोलन नगरेका होइनन् । सांसदहरुले संसदमा नबोलेका होइनन् । राष्ट्रपतिले समेत चासो दिएको घटना हो यो । तर, मृत्युको कारक चुइगमलाई बनाइयो । जसलाई गाउँले विश्वासै गर्दैनन् ।
‘यत्रो घटना भएको छ । तर, सरकार चुइगमले पो म¥यो भन्छ’ एकजना स्थानीयले अलि सानो स्वरमा भने । उनको हाउभाउले संकेत गर्दथ्यो भएको के हो भन्ने सबैलाई थाहा छ तर यही भएको हो भनेर ठोकुवा गर्न सबै डराएका छन् । अर्का एकजना महिला अलि कड्केर बोलिन् ‘जसले भने भनोस् तर भन्दैमा पत्याइदैन । चुइगम अड्केर उनीहरु मरेकै होइनन् ।’ अघिको पुरुषले भन्दा चर्को आवाजमा बोलिन उनले । उनको साथमा त्यस्तै १३÷१४ वर्षकी किशोरी थिइन् । सायद उनकी छोरी होलिन् । यो विषय छिमेकीका तीनजनाको निधनको विषय मात्रै थिएन । आफ्नै सन्तानको सुरक्षाको चिन्ता पनि थियो उनलाई । त्यसैले बेलामा नबोले असुरक्षा बढ्छ भन्ने लागेर पो हो कि उनी कडै बोलिन । तर, गाउँलेको शंका निवारण गर्न राज्यले अझै सकेको छैन ।बसले हर्न लगायो । अब हामी धेरै बेर अडिन असमर्थ थियौं । त्यसैले बाटो लाग्यौं । ‘टिकट नकाटी कोही नछिर्ला’ बसको ढोकैमा बसेको युवाले उर्दी लगायो । केहीले आनाकानी गरे । केहीले सरासर टिकट काटे । पौने नौ हुँदा नहुँदै सदरमुकामबाट हुत्तिदै बस आइपुग्यो । हामी बसेको गाडी पनि स्टार्ट भयो । अघि लौ टिकट काट भन्ने युवक बसभित्र छिरेर फेरि भन्न थाल्यो ‘लौ अब उ त्यो बसमा चढ्ने, झर्नु झर्नु ।’
हामीलाई उदेक लाग्यो । पहिला टिकट नकाटे सीटमा बस्न पाइँदैन भनेर त्यही युवकले टिकट काट्न लगायो । अब झरेर अर्को बसमा जा पो भन्छ । जुन बसमा हामीले सिट पाउने सम्भावना नै थिएन । के हो पारा, बसमा चढ्ने झर्ने विषयमा पूरै त्यसको अरनखटन पो छ । ओल्लोपल्लो सिटमा बसेका भुक्तभोगी स्थानीयले भने ‘गाउँको यातायात यस्तै हो । चुप लागेर बस्नुस् । झर्न पर्दैन ।’ हामी झरेनौं, बस कुद्यो । बस गुडेको हैन कुदेकै हो । अलि अलि हो र बेतोडले कुद्यो ।
सदरमुकामको बस नआइ गुड्न नपाउने र आएपछि उसलाई उछिन्न जति पनि कुद्न पाउने नियम पो रहेछ त्यहाँ । साघुँरो बाटोमा मोडै मोड । समथर क्षेत्रमा होइन डाँडाको टाकुरामा गुड्ने हो बस । यस्तो बाटोमा तीव्र गति हानिकारक हो तर उछिन्ने होडमा चालकले आँखा चिम्लेर गाडी उडाउँदा पो रहेछन त्यहाँ ।यसरी दौडदा उनीहरुलाई हुने फाइदा भनेको अगाडि बसेर गाडी पर्खेका एकाधलाई चढाउन पाउने अवसर मात्रै हो । तर, यसका लागि उनीहरुले बसमा बसिसकेका १५÷२० जनाको ज्यानलाई जोखिममा पारेका थिए । मोडमा थोरै गल्ती भयो कि गाडी सिधै सय डेढ सय मिटर तल पुग्ने खतरा छ । हाम्रो मुटुले ठाउँ छाड्यो, मोड आयो कि राम राम भन्यौ । अरुण नदीमाथिको लेगुवा पुल अगाडि पुगेपछि बल्ल ढुक्क भयौ । त्यो बसलाई हामीले लेगुवामा नै छाड्दै थियौं ।
अरुण नदीको पुल तर्दै गर्दा साइकल चलाउँदै गरेका एकजना पाका व्यक्ति देखिए । उनले साइकलको अगाडि एकजना सानी नानीलाई राखेका थिए । ती नानी स्कुले पोशाकमा थिइन् । कुनै पाको व्यक्ति साइकलमा सानी बालिकालाई राखेर स्कुल लैजाँदै थिए । ‘एउटा फोटो त खिच्नै पर्छ’ मेरो मनले यही भन्यो । बसबाट ओर्लेर हत्त न पत्त झोलाबाट क्यामेरा निकालेर म उनको फोटो खिच्न पुलतर्फ दौडिए । पुलको मुखमा अलि उकालो छ । ती व्यक्ति उकालोमा ओर्लेर साइकल डोराउँदै थिए ।
मैले टाढाबाट जुम गरेर र नजिकै बाट पनि फोटोहरु खिँचे । माओवादी केन्द्रले चुनावमा बाँडेको सेतो टि सर्ट लगाएका ती व्यक्तिले आफ्नो नाम बिर्खबहादुर लिम्बु बताए । सेतो सर्ट र सेतै फ्रक लगाएकी सानी नानी छोरी रहिछन् । जसको नाम धिमा रहेछ । स्कुल जान हतार थियो । धेरै बोल्नै पाइएन । बसले एक घण्टाभन्दा बढी समय लगाउला भनेको ४५ मिनेटमै लगुवा पु¥यायो । उछिन्ने होडले चाडो आइयो । उता संखुवासभा जान हिलेबाट हिँडेको ल्याण्डरोभर आएकै थिएन । त्यसैले हामी लेगुवामा टहलिन थाल्यौं ।
बिर्खबहादुर फेरि भेटिए ।  यो पटक उनी पैदल हिँड्दै थिए । पछाडि पछाडि एकजना महिला थिइन् । दुईजनाको उमेरमा राम्रै फरक देखिन्थ्यो तर बिर्खबहादुरले भने ‘उ मेरी श्रीमती ।’ ती महिलाको दुबै हातको हत्केला थिएनन् । बिर्खबहादुरले उही गोलाकारभित्र हँसिया हथौडा रहेको चुनावी सेतो टिसर्ट लगाएका थिए । ‘हैन यी माओवादीमा युद्धकालदेखि नै संलग्न पो थिए कि । ती महिलाको हत्केला कुनै विष्फोटको शिकार पो भयो कि’ मेरो मनमा खुल्दुली चल्यो ।
सिधै कुरा सुरू गर्न भएन ‘बिहान छोरीलाई स्कुल पु¥याउनु भयो ती छोरी कतिमा पढ्ने हो नि’ भनेर सोधेको उनले ‘नर्सरी’ भने । अहिले कता जाँदै भनेको उनले दिक्क मान्दै भने ‘हेर्नुस अब दसैँ आयो नि । दसैँ कि दशा भन्ने हो । त्यसेको तयारीमा लाग्नु प¥यो । किनमेलका लागि पैसाको जोगाड गर्नुपर्छ । त्यसैले काम खोज्न हिले हिँडेको ।’ उनीसँग यति कुरा हिड्दाहिड्दै गरियो । तर, हिलेबाट हिँडेको हामी संखुवासभा जाने ल्याण्डरोभर जिप त्यही बेला आइपुग्यो । त्यो रिजर्भ गाडी थिएन । हामीसँगै अरु टनाटन यात्रु थिए । गाडीले नकुर्ने भएपछि कुरालाई बिट मार्नै प¥यो । बिर्खबहादुरसँग लामो कुरा गर्नै पाइएन । साच्चै उनले माओवादीको टिसर्ट मात्रै लगाएका हुन् कि पार्टीसँग त्यो भन्दा लामो सम्बन्ध पनि थियो भन्ने प्रसंगसमेत उप्काउन पाइएन ।साँझ संखुवासभा पुगेपछि क्यामेरामा बिर्खबहादुरको फोटो हेरेको साइकलमा बाबु तिर ढल्केकी उनकी छोरीलाई देख्दा लाग्यो यी दुईबीच गहिरो लगाब छ । तस्बिरमा बिर्खबहादुरको वात्सल्य छल्किरहेको थियो । माउ कुखुराले सुरक्षित तबरले चल्ला डुलाए झै लाग्यो फोटो हेर्दा । अनि प्याउली सम्झिए त्यहाँका चल्लालाई कुनै चीलले लगेको पीरचिन्तामा गाउँलेहरु थिए । त्यस्तो चील पिँजडामा पुगोस् र गाउँ सुरक्षित होस् भन्ने गाउँलेहरुको चाहना बरु कहिले पूरा हुने हो ? चिन्ता लागेर आयो ।

Comments

About the author

चितवन पोष्ट