गृह » भोक, दशा र दसैँ
सम्पादकीय

भोक, दशा र दसैँ

प्रधानमन्त्री शेरबहादुर देउवाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको ७२ औँ महासभालाई गत शनिबार सम्बोधन गर्दै आतंकवाद र अतिवाद नै लोकतन्त्रका बाधक भएको विचार व्यक्त गरे । तर, उनले नेपाललगायतका सार्क मुलुकको गरिबी र भोकको भने चर्चा गरेनन् । विडम्बनाको कुरा के छ भने, पश्चिम नेपालको पदेश नं ७ को बाजुरा जिल्लामा रहेको कोल्टीस्थित खाद्य गोदाममा चामल किन्न आएका हुम्ला श्रीनगरका तेजबहादुर बुढाको बाटोमै पहिरोमा परी मृत्यु भएको खबर राजधानीबाट प्रकाशित हुने ब्रोडसिट अखबारहरुले प्रकाशित गरेका छन् । पश्चिमका पहाडी जिल्लाहरुमा वर्षमा ६ महिना अनिकाल लाग्छ र उनीहरुको दसैँ कहिल्यै रमाइलो हुँदैन भन्ने विषयमा डँडेलधुराका जनप्रतिनिधि एवम् देशका प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी छैन भनेर अवश्य पनि विश्वास गर्न सकिँदैन ।
स्मरणीय छ, पहाडी जिल्लाहरुमा सधैँजसो खाद्यान्नको संकट हुने गर्दछ । सरकारले खाद्य संस्थानमार्फत चामल ढुवानी गरेको भए यो मानवीय संकटको कारण अकालमै ज्यान गुमाउनु पर्ने थिएन । आफ्नो देशका जनताको दुई छाक टार्न नसक्ने स्थिति अवगत हुँदाहुँदै पनि प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्नु त्यति शोभनीय काम अवश्य पनि थिएन । उता, २०७२ सालको महाभूकम्पबाट पीडित व्यक्तिहरुमध्ये अधिकांशले अझै पनि त्रिपालमुनि दिनरात कटाउनु परेको तीतो यथार्थ पनि हामीले टुलुटुलु हेरिरहनु परेको छ । जम्बो सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले गरिब नेपाली जनताको भोका पेट भर्ने खालका कुनै पनि काम नगरी विदेश भ्रमणमा गएपछि गरिब नेपाली जनताको दसैँ दशामा परिणत भएको अनुभव गरिएको छ ।
हाम्रा नेपाली समाज हुनेखाने र हुँदाखाने गरी स्पष्ट रुपमा दुई वर्गमा विभाजित छ । सम्पन्न वर्ग र विपन्न वर्गबीचको दूरी दिन प्रतिदिन बढ्दै गएको छ । विद्यालय शिक्षा पनि दुई खालका छन् र यहीँबाट वर्ग विभाजन सुरू हुन्छ । राज्यले सबै नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने भनिएता पनि व्यवहारमा त्यसको उचित कार्यान्वयन भने अझै हुन सकेको छैन । दसैँ, तिहारजस्ता राष्ट्रिय पर्वहरुमा विभाजनको यो रेखा झन् स्पष्ट रुपमा देखा पर्दछ । बजार महँगो यही समयमा हुने गरेको कारण विपन्न समुदायको पहुँचमा दसैँ पुग्न सकेको छैन । कम्तीमा पनि यो राष्ट्रिय चाडमा खाद्यान्नको अभाव नहोस् र बजार मूल्य नियन्त्रण होस् भन्नेतर्फ आवश्यक महसुस गरिएको छ । दसैँ कसैको पनि दशा नबनोस् र भोकको कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गर्नु हामीले आफ्नो कर्तव्य ठानेका छौँ ।

 

Comments

About the author

चितवन पोष्ट