गृह » हरे राम ! हरे कृष्ण !
साहित्य

हरे राम ! हरे कृष्ण !

– बालकृष्ण थपलिया
balkrishna127@gmail.com

खै छन् कि छ्रैनन् भगवान् ?
भए पनि कस्ता होलान् भगवान् ?
कहाँ बसेर के गर्छन् होला भगवान् ?
जानी नजानी सबैले पुज्ने गरेका भगवान्लाई
म पनि पुकारिरहेछु
म हुँ एक सर्वसाधारण बालकृष्ण
जपिरहेछु हरे राम ! हरे कृष्ण !

के बनेका छैनन् सहरमा ?
बनेका छन् आलिशान भवन र बङ्गलाहरु
खुलेका छन् ठूला ठूला सपिङमल र कम्प्लेक्सहरु
बन्न त बनेकै छन् विद्यालय तथा विश्वविद्यालयहरु पनि
ठूला ठूला स्वीमिङ पुल, रङ्गशाला भन्नुस् या पुस्तकालयहरु
फनपार्क या उद्यानहरु युवाहरु भुलेकै छन्
भन्नेले विकास भनेकै छन्
बन्न त सुविधासम्पन्न अस्पतालहरु पनि बनेका छन्
सक्नेले पैसा गनेका छन्
नसक्नेले हे भगवान् ! भनेका छन्
म पनि चित्त बुझाउँछु आफैँसँग
धन्न सुनेछन् क्यारे आजसम्म भगवान्ले निम्सरो कविको गणित
हुर्काउन, बढाउन, पढाउन अझै बाँकी छ भगवान् यिनलाई
हरे राम ! हरे कृष्ण !

भित्रिएको छ थरी थरीका एक्सरे
भित्र के छ ? देखिन्छ रे, चिनिन्छ रे
बिचरा छोरी त जन्मनै नपाउने भए
पढेका, लेखेका, जानेका स्वार्थीका विवेक कता गए ?
छोरी नै नजन्मेपछि कसलाई बनाउने हो प्रेमिका ?
कसलाई बनाउने हो दिदी, बहिनी, भान्जी ? धत्तेरिका !
पुरस्कार लिएर घर फर्केको छोरी देखेपछि
मन लाग्छ झुक्न
हरे राम ! हरे कृष्ण !

के बनेका छैनन् सहरमा ?
फस्टाएको छ सहिद उद्योग
कसैको सालिक बनिरहेछ यहाँ
कोही रातारात मालिक बनिरहेछन् यहाँ
म न चोकको बेवारिसे सालिक बन्न सकेँ
म न कसैको मालिक बन्न सकेँ
म उही न सालिक न मालिक बन्न नसकेको कुण्ठित बालकृष्ण
र त पुकारिरहेछु
हरे राम ! हरे कृष्ण !

 

सुनेको छु दसगजाका जंगे पिलरहरु उत्तर सर्दैछन्
यो माटो मेरो हो भन्दा गोविन्दहरु मर्दैछन्
सबै भन्छन् जनता हुन् जनार्दन
जताततै सिन्डिकेट मौलाउँदै छ झन्झन्
सरकार मात्र फेरिएर के गर्नु ?
संस्कार कहिल्यै फेरिएन, भुक्तभोगीहरु भन्छन्
भोको पेटमा कसरी राखूँ म सगरमाथाको गौरव ?
रोगले थलिएर जीर्ण बनेको म
कसरी भनूँ वीरहरुको सन्तान ?
शोकले ओभाएन कहिल्यै आँखा
कसरी गरुँ म बुद्वको बखान ?
न इतिहास सम्झेर बाँच्न सकिन्छ
न स्वाभिमान बचाएर जाग्न सकिन्छ
हेर्दाहेर्दै, कस्तो निरीह जिन्दगी व्यहोर्नु प¥यो हे भगवान् !
मलाई नेपाली भएर नेपालमै गौरवसाथ बाँच्न रहर छ
नियतिको वर्तमानमा बसीबियाँलो गर्नैप¥यो
समय रहँदा भजन गाउँनै प¥यो
हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

पाए, भए, सके कसलाई सुहाउँदैन र गलामा सुन ?
तर जीवनमा कहिल्यै जुरेन जून
जहिल्यै धौधौ भयो जुटाउन भान्सामा नुन, भुटुन, लसुन
सम्झेँ महाकविको एक लाइन
बिगारेर सुनाएँ पत्नीलाई
मानिस ठूलो गुनले हुन्छ सुनले हुँदैन
त्यसैदिनदेखि श्रीमतीले छाकैपिच्छे तरकारी फेरिन्
बिहान आलु र मूला
बेलुका मूला र आलु
यसैमा रमाएको छ बालु
जिन्दगी चलाउनै प¥यो
भजनकीर्तन गाउनै प¥यो
बोलो हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

हामीलाई दिनभरि रूपियाँले टोक्छ
रातभरि उपियाँले टोक्छ
टोक्न त भुसुना, किर्नो या लामखुट्टेले पनि टोक्छ
टोकिन्छन् दिनहुँ कुकुर, स्याल या सर्पदंशबाट पनि
क्रान्तिका खुब कुरा ग¥यौ यतिन्जेल
पाइँदैन अस्पतालहरुमा एन्टीरेबिज तथा एन्टीस्नेक भेनम पनि
यस्तो बेला कसलाई के भनम्
कसलाई गाली गरेर के हुन्छ र
भरोसा कसको पो रह्यो र ?
बिकल्प एउटै रह्यो
मनमनै ईश्वर सम्झने र भन्ने
हरे राम ! हरे कृष्ण !

न वृद्व बाआमालाई छाडेर खाडी जान सकियो
न पत्नीलाई गतिलो साडी छान्न सकियो
सादगी जिन्दगी नै उत्तम प्रिय ! मन भुलाएको छु
अघि–पछि भ्याइएन सोमबार सोमबार बजार डुलाएको छु
जिन्दगी जसरी चलाए पनि चल्दोरहेछ
त्यसै भनिएको होइन रहेछ आखिर रहेछ श्रीकृष्ण एक
बोलो हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

छोरीको टिपिन भर्नै प¥यो
बाआमाको औषधि गर्नै प¥यो
तिथि, पर्व, गाउँसहर चर्नै प¥यो
स्वदेशमा केहीसीप नलागे समुद्र तर्नै प¥यो
यी पनि नगरे ज्यूँदै मर्न प¥यो
हजारौँ युवा बाहिरिन्छन् दिनहुँ
भित्रिन्छन् केही थान काठका बाकसहरु पनि
धन्न म मेरै देशको माटोमा रमाएको छु
कहिले इष्टमित्र, कहिले शत्रु कमाएको छु
के गर्दा पुण्य पाइन्छ कुन्नि ?
जानी नजानी थुप्रै पाप गरेको छु
पश्चात्तापले छाती पोलेपछि
अन्तरमनको आवाज बोलेपछि
भन्ने गरेको छु
हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

विधानमा हटेछ सनातन हिन्दूराज्य
सापेक्ष र निरपेक्षको खाँटी अर्थ थाहा छैन मलाई
पिताजी नित्य पञ्चायन पूजा गर्नुहुन्छ
मैले त पछ्यौरा ओढाएर पुरेतले सिकाएको मन्त्र पनि बिर्सें
भिर्न त काँधमा जनै भिरेको छु
कविहरुको संगत गर्नैप¥यो
कहिले यता कहिले उता छिरेको छु
तैपनि बुबाको बिँडो धान्नैप¥यो
समाजले भनेको मान्नैप¥यो
आउन त मलाई केही पनि आउँदैन
तर आपत पर्दा भगवान् सम्झन्छु र भन्छु
हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

समय निकालेर फोन गर्छु कहिलेकाहीँ सहरबाट
दूर पहाडकी आमालाई
सोध्छु सञ्चो बिसन्चोका खबरहरु
आमा लामो सुस्केरा हालेर खुईय गर्नुहुन्छ
मरेकै भए त खबर गर्दा हुन् नि गाम्लेले
बाबु ! तिमीलाई जन्माउँदा, हुर्काउँदा, पढाउँदा
खपेको हुँ असाध्य कष्टहरु
सकुन्जेल गरेर केही नलागेपछि
भाकेकी हुँ ठाम ठामका देवीदेवतालाई
बरू, बुहारीलाई भनेर कोटमा बत्ती बाल्दे है
मेरो नाममा पनि दुई–चार पैसा र अक्षता फाल्दे है
आमा बोल्दाबोल्दै रोकिनुहुन्छ
म एकोहोरो आमा ! आमा ! भन्छु
आमा पटक्कै नबोलेपछि भन्ने गरेको छु
हरे राम ! हरे कृष्ण !
हरे राम ! हरे कृष्ण !

 

Comments

About the author

चितवन पोष्ट