गृह » दसैँको शुभकामना
साहित्य

दसैँको शुभकामना

– राधा कोइराला
या देवी सर्व भुतेषु…गुन्जियो मन्त्रको ध्वनि
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

बजे मन्दिरमा घण्टा बिउँझिऊन् ब्रह्मचारिणी
अस्तित्वको गरी बोध जागून् झुप्रो निवासिनी

कतै स्वार्थ कतै घृणा कतै देखावटी पन
लखेटिन्छिन् कतै आमा कतै निस्सासिँदो क्षण

गिटी फोर्छिन् कुनै आमा कुनै मेला निमेकमा
चिथोरिन्छिन् कतै आमा कुनै अन्धो विवेकमा

अर्धनग्न बनाइन्छिन् कुकृत्यमा यी पर्र्दिछन्
बाँच्ने अभिलाषामा अनजान यी मर्र्दिछन्

पिएर मदिरा प्याला शुम्भले सान गर्दछ
दुनियाँ दंग भै किन्तु शुम्भकै मान गर्दछ

बने मूर्ति पुजिइन्छिन् तर ज्यँुदी तिरस्कृत
सुरक्षार्थीहरुबाटै छैनन् नारी सुरक्षित

जन्मेर धरणीमाथि सुरक्षित बनून् जहाँ
आफ्नो भाग्य स्वयम् आफैँ लेख्नसक्ने बनून् यहाँ

माताहरु सबै खुसी सुखी सन्तुष्ट भै रहून्
गर्भमै लिंगको भेद गर्दै पतन क्वै नहून्

अन्त्य होस् आशुरी शक्ति फैलियोस् शुभ भावना
पूजिऊन् मातृका शक्ति दसैँको शुभकामना ।।

Comments

About the author

चितवन पोष्ट