गृह » उहिलेको दसैँ
साहित्य

उहिलेको दसैँ

– भावना परिष्कृत सुनुवार

उहिले उहिले हाम्रो गाउँको
तीनतले ढुंगे घरमा
हामी सानामसिना, सिँगानका खाटो,
फाटेको भोटो अनि टालेको जामामा
ढुंगा र माटोसँग, हिलो र मैलोसँग
बुर्कुसी मारी खेल्थेम् ।

आँगनभरि सेतो, रातो
र कालो माटो देखेर
बाजे, बा, बडा र काकासँग सोध्थिम्
दसैँ आइपुग्यो नानी हो,
घरको भित्तालाई नयाँ बनाउनुपर्छ
यो सेतो कमेरो घरभरि छ्याप्नुपर्छ
यो रातो माटोलाई
भित्ताको तल, यसरी पोत्नुपर्छ
अनि यो कालो माटोले
झ्यालढोकाहरु रंंगाउनुपर्छ

आहा ! कति चिटिक्क
हाम्रो ढुंगाले छाएको घर
हाम्रो मात्र हैन रहेछ
उस्तै भएछ वरपरका सबै घर
हाम्रो गाउँ त
कस्तो जादुको संसारझैँ चम्केको
कुटो, कोदालो, हलो, जुवा
चाड मनाउन भनी थन्केको
उहिले उहिले हाम्रो गाउँको
खरले छाएको न्यानो घरमा
हामी खाली खुट्टा दौडिँदै
कुखुराको हुल अनि
गाईको बाच्छा, भैँसीको पाडासँग
जिस्किँदै खेल्थिम्
आँगनभरि गुन्द्री बिछ्याएर
सियो धागो तन्काउँदै
कपडाको टालाटुली
काटेको देखेर हामी सोध्थिम्
भन्नुहुन्थ्यो बज्यैले
नयाँ नाना छेक्नेछन् तिमीहरुलाई
दसैँमा लगाएर टीका थापी
मामाघर जानलाई
आहा ! हाम्री बज्यै कति जाती
अनि कति सुन्दर यो दसैँ
रमाएर खेल्दै हामी फुच्चाफुच्ची
मात्तिन्थिम् त्यसै त्यसै ।

उहिले उहिले हाम्रो गाउँको
तल ओखरबोटे चौरमा
हामी लुकामारी खेल्दै
कहिले गाईबाख्र्रा चराउँदै
बा, काका र बडाले थुपारेको
काठ र बाँसलाई देखेर
यी सब केको लागि ? भनी सोध्थिम्
दसैँ आयो ठूलो चाड हाम्रो मुलुकभरिको
हाल्नुपर्छ रोटे, लिंगेपिङ दुई थरीको
आहा ! कति रमाइलो
दसैँको बेलामा हाम्रो गाउँघर
यही बेलामा आइपुग्छन्
परदेशीले छाडी सहर ।

नौरथा लाग्दा पूजारी आउँथे
चण्डी पाठ लाउन
बाजे, बज्यै, बा, आमा
व्रत बस्थे जमरा राख्न
चिउरा कुटी ढिकीमा
केरा पाकी ढाकीमा
काँक्रोको खल्पी हाली
दही जमाई ठेकीमा
दसैँको सो चहलपहल
बूढाबूढीदेखि केटाकेटीमा
यो ठूलो भाले, परेवा जोडी
भीमसेनको पूजालाई
यो रातो जोर भाले पोथी
कुल देवता पुज्नलाई
यो कालो बोको
कालीमाईको चरणमा भोग दिनलाई
सो राँगो, यो खसी
दसैँको मार हान्नलाई
कठै ! यो कुरा सुनेर
किन किन मन खिन्न हुन्थ्यो
यो दसैँ त कति निर्दयी
ब्यारे नआए नि हुन्थ्यो ।

साना साना नानी हामी
थिएम् अन्जान अज्ञानी
पिङ हालिसक्यो, नाना सिलाई सक्यो
उठी जान्थिम् रमाउँदै केही नभनी
उहिले उहिले
पुरानो त्यो हाम्रो गाउँको घरमा
दहीचामल मुछेर टीकाजमरा राख्थे
बाजे र बाले सबको निधारमा
परदेशी आउँथे टाढाबाट
कोसेलीको पोको बोकी
पाहुना आउँथे छोरीचेली
बोकी सोली रोटी
हतार हुन्थ्यो आफूलाई
हिँडी जान मामाघर
पिङमा खुट्टा हाल्नैपर्ने
दिनमा सबलाई रहर
उहिले उहिले हाम्रो गाउँमा
दसैँको त्यो चलन
ऐले हाम्रा नातिनातिना भन्छन्
त्यो सबै फाल न
दसैँ पार्टी त मनाउँछन्
डिस्को नाची रातभर
भन्छन् गाउँमा त्यस्तो के छ ?
छाडी जानलाई सहर
उहिलेको कुराले गाउँघरको मायाले
छाती फोरी रूवायो ।

कुन साइतमा, बालकै कालमा
गाउँ छाडिएछ
फर्कने दिन आउँछ कि भन्दै
उमेरले सत्तरी पु¥यायो
दसैँको सम्झनामा मेरो गाउँको आँगनमा
फेरि पुग्ने धोको छ फर्केर
यो सहरको कोलाहल
र दुर्गन्धदेखि थाकेर
मनले सङ्कल्प गरिसक्यो
गाउँ जान्छु फर्केर
तर होस् है सद्भाव सबै ठाममा
सुन्छु धेरै कुरा अहिले,
कसले कसले दुःख दिए
हेपे कसैलाई पहिले
तर विज्ञानको विकास भयो
सोचलाई पनि विकास गर न
कुरो र कुलो जता लगे नि हुने
अब सत्यलाई साथ दिई मिल न
अहिलेको दसैँ ठीक भनौँ कि
उहिलेको दसैँ ठीक भनौँ
दशाले त छोड्दैन कहिल्यै नि
दसैँलाई जहिले नि
तर उहिलेको दसैँमा
मेरो सम्झनाका स्वादहरु
मनका आभासहरु छन्
त्यसैले म भन्छु–
मेरो सम्झनाको दसैँ
लाग्छ मलाई
प्यारो प्यारो उहिलेको दसैँ ।

 

Comments

About the author

चितवन पोष्ट