गृह » सदियौँदेखि
साहित्य

सदियौँदेखि

– शारदा पौडेल

चुँडाउन खोज्दा जन्जीरहरु
शताब्दीयौँदेखि
मेरी हजुरआमालाई
निलिसक्यो दास बनाएर
आदिम कुसंस्कारहरुले
मनभित्रको विद्रोही भावले
दिएको छट्पटीलाई
ढुंगाको देवतासमक्ष
अघिल्लो जन्मको पाप सम्झिएर
चढाइन् आमाले दूधका धारा
मन्दिरमा सजाइरहेको शिवलिंगमाथि
र जबरजस्त सान्त्वनाको
धूलो छरिन् आफ्नो मनमा

बस्तीहरुको चटारोलाई
सकेन निल्न त्यो रातले पनि
न त छर्नै सक्यो उज्यालो
त्यो चम्किएको सूर्यले
ती असमान दर्दहरुलाई
सदियौँदेखि नियालिरहेछन्
अनिँदा बसेर यी पहाडहरु
नवीन उज्यालोको आशामा

हरेक बिहानीहरु उदाइरहेछन्
आफ्नै छटपटीमा
नवीन समाचारहरुले छापिएका
अखबारका पानाहरु
अध्ययन गर्ने आशामा
कोइलीको कुहु कुहुले
ओकलिरहेछ विरही भावलाई
सदियौँदेखि
सदियौँदेखि नै
नवीन बिहानी डाकिरहेछ
कुखुरी काँ !!
र गौँथलीको चिरबिर स्वरमा
डाकिरहेछ स्वाधीनताको लालिमा
तर समय
अड्किरहेछ कसैको बन्धक बनेर
घडी फगत् विनाउपलब्धिमै
टिक् टिक् गरिरहेछ
न त लालिमाको माग सुनेको छ
न त साँझमा गाउने झ्याउँकीरीको
विरही भाव बुझेको छ
बुझेन कसैले
अन्धकारभित्रका यातनाहरुलाई

चुँडाउन खोज्दा जन्जीरहरु
शताब्दीयौँदेखि
दास बनाएर निलिसक्यो
मेरी हजुरआमालाई
संस्कारी समयले
यातनाको पहाड बोकाई रह्यो
मेरी आमालाई
आज मलाई पनि
नृशंस बलात्कार गरिरहेछ
यही समय आधुनिकताको
छद्म बनेर आफ्नै परिवेशले
अनिँदा यी सडकहरु
हरेक दिन हात थापिरहेछन्
छापाका समाचारहरु
सत्तरी वर्षको वृद्धद्वारा
८ वर्षकी बालिका बलात्कृत ।

Comments

About the author

चितवन पोष्ट