गृह » असोज ११ गते बाट ‘छक्कापञ्जा–२’ को प्रदर्शन
कला समाचार समाज

असोज ११ गते बाट ‘छक्कापञ्जा–२’ को प्रदर्शन

–तुलमान गुरूङ
नारायणगढ । दसैँको फूलपातीमा प्रदर्शन हुन तयारमा रहेको बुहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘छक्कापञ्जा–२’ को टोली यतिबेला प्रचार–प्रसारका लागि देशदौडाहामा छन् ।
पूर्वको दमकबाट प्रचार–प्रसारमा निस्किएको टोली आइतबार नारायणगढमा पनि देखा परे । पत्रकारहरूसँग कुराकानी गर्दै निर्देशक दीपाश्री निरौलाले चलचित्र मनोरञ्जनात्मक बनेको बताइन् । पारिवारिक कथावस्तु र वैदेशिक रोजगारको कथालाई पृथक शैलीमा चलचित्रमा उतार्ने प्रयास गरिएको उनले बताइन् । ‘त्यसैले पनि यो चलचित्र युवापुस्ता लक्षित बनेको छ,’ उनले भनिन् ।
निर्माता एवम् अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रको लागि राजधानी पछिको ठूलो शहर चितवन भएको भन्दै अहिलेसम्मका चलचित्र सफल हुनुमा चितवनका दर्शकको ठूलो भूमिका रहेको बताए । ‘आर्थिकरूपमा चलचित्र ‘छक्कापञ्जा’ लाई उछिन्छ या उछिन्न भन्न सकिन्न । तर, दर्शकको माया भने अवश्य उछिन्छ,’ उनले भने ।
हाँस्य अभिनेता जीतु नेपाल (मुन्द्र)ले पनि चलचित्रको माध्यमबाट दर्शकहरूलाई फरक स्वाद चखाउने प्रयास गरेको बताए । ‘हामीले हरेक चलचित्रमा फरक–फरक स्वाद दिन सक्नुपर्छ,’ उनले भने, ‘अरूकोभन्दा फरक भएकैले आजसम्म हामी चलिरहेका छौँ ।’ ‘छक्कापञ्जा–२’ अहिलेसम्मकै बढी मेहनेत र लगानीमा बनेकोले ‘छक्कापञ्जा’ भन्दा सर्वाधिक हिट हुने दाबी गरे ।
प्रचार–प्रसारका लागि नायिका प्रियङ्का कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल (मुन्द्रे), केदार घिमिरे (माग्ने बुढा) तथा गायक हेमन्त शर्मालगायतको जम्बो टोली नै चितवन आइपुगेका थिए । यसपछि पश्चिमका विभिन्न जिल्ला पुगेर प्रचार–प्रसार गर्ने निर्माणपक्षले जनाएको छ ।

नदी किनारमा फिल्मी कन्सर्ट
नारायणगढ । नारायणी नदी किनारमा प्रायः चटपट र पानीपुरीका ठेलाहरूको भीड देखिन्थ्यो । केहीसमयअघिदेखि यहाँको ठेला हटाएपछि सुनसान जस्तै बनेको नदी किनारमा आइतबार भने बाक्लै भीडभाड थियो । पश्चिमतर्फ सूर्यास्त हुँदैगर्दा नारायणी नदी किनारको माहोल भने रमाइलो बन्दै गएको थियो । चलचित्र ‘छक्कापञ्जा–२’ को कन्सर्ट हेर्नका लागि चितवनका दर्शक कलाकारसहितको टिमलाई भेट्नका लागि नदी किनार पुगेका थिए ।
कन्सर्टमा कलाकारहरूले आ–आफ्नो प्रस्तुति मार्फत दर्शकलाई हँसाएका थिए । सबैभन्दा बढी दीपाश्री निरौला र केदार घिमिरे (माग्ने बुढा)ले उपस्थित दर्शकलाई हँसाउन सफल भए । असोज महिना लागिसक्दा समेत चितवनमा भने गर्मी कम भएको छैन । तर, दर्शकहरू भने गर्मीको कुनै प्रवाह नै नगरी प्रस्तुति हेरेर मज्जा लिइरहेका थिए । तर, मञ्चमा गायक हेमन्त शर्मा भने दर्शकहरूका लागि मुख्य केन्द्रबिन्दु बने । गायक शर्मा
चितवनका मान्छे राम्रा नारायणीका माछा,
अर्को हप्ता छक्कापञ्जा हामी सबलाई थाह छ,
भन्दै मञ्चमा उक्लिएपछि दर्शकदीर्घाबाट हुटिङ सुरू भयो । त्यसपछि उनले आफ्नो चर्चित गीत ‘मूल हौ भने रसाइदेऊ’ गाए । साँझको समयमा चितवनका दर्शकबाट उनले राम्रै साथ पाए । पालैपालो मञ्चमा उक्लिएका कलाकारहरूले विभिन्न प्रहसनमार्फत दर्शकलाई पेट मिचिमिचि हँसाउन बाध्य बनाएका थिए ।
जीतु नेपाल मुन्द्रे भने कार्यक्रम सञ्चालकको रूपमा उपस्थित भएका थिए । उनले पनि विभिन्न तरिकाले राम्रा नराम्रा व्यङग्य् गरेर दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । सोही मौका छोपेर चलचित्र युनिटले दसैँको शुभकामना दिँदै फूलपातीको दिन चलचित्र हलमा दर्शकसँगै बसेर चलचित्र हेर्ने बाचा गरे । पछिल्लो समय चलचित्रकर्मीहरुले चलचित्रको प्रचारप्रसारको फरक तरिका अपनाउन थालेका छन् । यसअघि ‘प्रेमगीत–२’ ले पनि नारायणी नदी किनारमा कन्सर्ट गरेको थियो भने ‘म यस्तो गीत गाउँछु’ को कलाकार टोलीले नारायणगढमा हात्ती चढेर प्रचारप्रसार गरेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट