गृह » ‘ पत्रकारका अनुहार कार्टुनमा ’
कला समाचार समाज

‘ पत्रकारका अनुहार कार्टुनमा ’

–तुलमान गुरूङ
नारायणगढ । चितवन साहित्य परिषद्को हलमा प्राय हरेक हप्ता शनिबार कुनै न कुनै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यिक संस्थाको आफ्नै भवन भएकोले जिल्लाका धेरै जसो साहित्यिक संघसंस्थाहरूले यही हलमा कार्यक्रम गर्दै आइरहेका छन् । जहाँ साहित्यसम्बन्धी विभिन्न गतिविधि हुने गर्दछ ।
तर, यो हप्ताको शनिबार भने साहित्यकाहरूको बढी भीड लाग्ने चितवन साहित्य परिषद्को यो हलमा चितवनका पत्रकारहरूको बढी भीडभाड थियो । भित्तामा केही चित्रहरू टाँसेर राखेका थिए । तर, सबै तस्बिरलाई बाहिरबाट छोपेर राखेको थियो । कार्यक्रमस्थलमा पुगेपछि पत्रकारहरूले कुन फोटो कसको भन्ने भेउ पाइसकेका थिए ।
जब अग्रज पत्रकार गणशेखर शर्माले पत्रकार विनोदबाबु रिजालको आकृतिसँग मिल्ने तस्बिर खोले त्यसपछि माहोल फरक बन्यो । भित्तामा सजाइएका ती सबै तस्बिर चितवनका पत्रकारहरूको अनुहारसँग मिल्ने गरि बनाइएका कार्टुन थिए । जीवनमै पहिलो पटक आफ्नो अनुहारलाई कार्टुनको रूपमा देख्दा पत्रकारहरू रमाइलो मानिरहेका थिए ।
नेपालमा हुने फोटो प्रदर्शनी प्रायः राजधानी केन्द्रित भइरहँदा चितवनमै फोटो प्रदर्शन गरिनु सकारात्मक काम भएको भन्दै चितवनका अग्रज पत्रकार ईश्वरकुमार जोशीले भने, ‘मोफसलमा अहिलेसम्म फोटो प्रदर्शनी तथा चित्रकारहरूले राम्रो स्थान पाउन सकेको छैन । तर, आजको यो प्रदर्शनीमा आफ्नै तस्बिरलाई कार्टुनको रूपमा अनुभव गर्न पाउँदा म एकदमै खुसी छु ।’ उनले पत्रकारिताको इतिहासमै फरक अनुभवको रूपमा लिएका छन् ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्यालले पहिलो पटक पत्रकारहरूको क्यारिकेचरसहितको कार्टुन देख्न पाएको बताइन् । ‘कलाकारहरूले कार्टुनको माध्यमबाट समाजमा हुने गरेका नकारात्मक प्रसंगको मात्रै व्यङ्ग्य गर्दैन,’ उनले भनिन्, ‘त्यसैले सकारात्मक सन्देश दिन पनि व्यङ्ग्य शैली अपनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।’ आफ्नै कार्टुन देख्दा आफैँलाई रमाइलो लागेको उनले बताइन् ।
यस्तै चित्रकार एवम् अग्रज पत्रकार रामबाबु सुवेदीले राजधानी बाहिर व्यवसायिकरूपमा फस्टाउन नसकेको यो पेसाले गति लिन सक्ने सम्भावना बढ्दै गएको बताए । ‘पछिल्लो समय प्रविधिको विकाससँगै आर्टिष्टहरू समस्यामा परेका छन्,’ उनले भने, ‘तर, ‘पनि प्रकाशजीको यो पौरख देख्दा मोफसलमा पनि यसको व्यवसाय सम्भव छ भन्ने भान हुन्छ ।’ तस्बिरको मह¤व बुझ्ने मानिसका लागि चित्रले धेरै अर्थ बोक्ने हुँदा मानिसहरूले चित्रको मह¤व बुझन सक्नुपर्ने उनले बताए ।
पत्रकारहरू सधैँ अरूको विषयमा केन्द्रित हुँदा आफ्नो बारेमा लेखिदिने कोही पनि नहुने भएकोले आफूले केही सन्देश दिन सकिन्छ कि भनेर ३४ जना पत्रकारहरुको कार्टुन बनाइएको कलाकार (चित्रकार) प्रकाश थापा ‘प्रथा’ ले बताए । सधैँ अरूको विषयमा मात्रै चिन्ता लिइरहने पत्रकारहरूका लागि आफैँ पनि समाचारको स्रोत बन्न सक्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । ‘मैले मेरो नजरमा जस्तो देखेँ, त्यस्तै उतार्ने प्रयास गरेको हुँ,’ उनले भने ।
यो कार्यक्रमले पत्रकार तथा कलाकारहरूबीचको सम्बन्ध अझ सुमधुर हुने चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका अग्रज पत्रकार गणशेखर शर्माले सबैभन्दा पहिले पत्रकार विनोदबाबु रिजालको कार्टुन उघारेर कार्यक्रमको उद्घाटन गरेका थिए । चितवन आर्टिष्ट संघ, चितवन साहित्य परिषद् र प्रकाश आर्ट एण्ड सर्भिसेजले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रम चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको हो ।

Comments

About the author

चितवन पोष्ट