गृह » महतोको सहयोगको लागि ‘कलपाना’ को विशेष प्रदर्शन हुने
कला समाचार समाज

महतोको सहयोगको लागि ‘कलपाना’ को विशेष प्रदर्शन हुने

भरतपुर । ‘सञ्जीत महतो राहत कोष’ सहगोगार्थ चितवनमा थारू भाषाको चलचित्र ‘कलपाना’ को विशेष प्रदर्शन हुने भएको छ ।
यही असोज ७ गते २५ वर्ष पुरानो चलचित्र ‘कलपाना’ को विशेष शो गर्ने तयारी अन्तिम चरणमा पुगेको शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । सौराहास्थित न्यू सौराहा थारू कल्चर हाउसमा प्रदर्शन गर्न लागेको चलचित्र विसं २०४९ सालमा स्वर्गीय शिव रेग्मीले निर्देशन गरेको पहिलो चलचित्र हो ।
विसं २०६५ फागुन २२ गते थरूहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएका महतोको सहयोगको लागि चलचित्र प्रदर्शन गर्न लागिएको सञ्जित महतो राहत कोषका संयोजक शरदकुमार महतोले जानकारी दिए । हाल उनको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
चौधरी फिल्म प्रोडक्सनको पहिलो प्रस्तुति एवम् चितवनमै पहिलोपटक निर्माण भएको थारू भाषाको चलचित्र ‘कलपाना’को प्रदर्शनको लागि ५०० भन्दा बढी टिकट बिक्री गर्ने र दुई लाखभन्दा बढी रकम संकलन गर्ने लक्ष्य लिएको उनले बताए । चलचित्रमा महेन्द्र चौधरी, संगीता चौधरी, झगरु चौधरी, डम्मर चौधरीलगायतले अभिनय गरेका छन् । झगरू चौधरी र सहबिनिया चौधरीको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा झगरू चौधरीको कथा, पटकथा, संवाद तथा गीत रहेका छन् । कमल राईको नृत्य एनबी महर्जनको द्वन्द्व र गणेश रायमाझीको छायांकन रहेको चलचित्रलाई परशुराम चौधरीले सम्पादन गरेका हुन् । चलचित्र २५ वर्ष पुरानो भए पनि चलचित्रको कथावस्तु वर्तमान समयसँग मिल्दोजुल्दो भएको संयोजक महतोको भनाइ छ ।
को हुन् सञ्जीत महतो ?
रत्ननगर नगरपालिका वडा नं. ७ का स्थानीय सञ्जित सामान्य परिवारमा जन्मिएका हुन् ।
३० वर्षीय महतो विसं २०६५ सालको फागुनमा देशैभर चर्किएको थरूहट आन्दोलनमा घाइते भएका थिए । तत्कालीन सरकारले थारू समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा चितवनका थारू समुदाय पनि ‘हामी थारू मधेसी होइनौं, हाम्रो छुुट्टै पहिचान छ’ भन्दै आन्दोलन गर्दैगर्दा प्रहरीको गोली लागि घाइते भएका थिए । थारू समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा रत्ननगरको सौराहाचोकमा भएको आन्दोलनमा कमल चौधरी, विपिन खड्कालगायत दाङका प्रकाश चौधरी र रामप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । कमल र विपिनसँगै गोली लागेर सख्त घाइते भएका सन्जित महतो भने हालसम्म पनि घाइते अवस्थामै भरतपुरमा उपचाररत छन् ।
गोली लागेको नौ वर्ष बितिसक्दासमेत उनको घाउ निको हुन नसकेपछि उपचार अभावमा उनले बडो कष्टका साथ दिन बिताएका थिए । चिकित्सकको सल्लाहअनुसार समय–समयमा अस्पताल आएर जाँच गराउनका लागि पैसा नभएपछि दाहिने खुट्टामा लगाएको स्टिलसमेत ननिकालि बसेका थिए । उनले घरैमा बसेर तातोपानीले सफा गर्नुबाहेक कुनै विकल्प थिएन उनीसँग । बैसाखीको सहारामा घर भित्रबाहिर त गर्थे । तर, दिशापिसाब र सरसफाइका लागि भने परिवारको सहारा लिनु पर्ने बाध्यता थियो ।
श्रीमती लक्ष्मी महतोले ज्याला मजदुरी गरेर बचाएको पैसाले कहिलेकाही अस्पताल आए पनि उनको पूर्ण उपचार भने संभव थिएन । घाइते सञ्जितको ११ वर्षीय छोरा हाल सौराहास्थित मालपुर माविमा कक्षा ६ मा पढ्दैछन् । तर, उनका पढाइका लागि कापी कलमसमेत किन्न नसक्ने अवस्थामा गुज्रिरहेको उनको परिवारलाई केही सहयोग गर्ने उद्देश्यले चितवनका पत्रकार सन्तकुमार चौधरी, कारी महतो, स्थानीय कृष्ण चौधरीलगायतको सहयोगमा यही असोज ७ गते चलचित्र च्यारिटी शो गर्ने तयारी भइरहेको छ ।
थारू आन्दोलनमा घाइते भएका उनलाई चितवनका थारू कल्याणकारिणी सभाले समेत केही गर्न नसकिरहेको अवस्थामा केही युवाहरूको सक्रियतामा अहिले भरतपुरस्थित एलाइभ हस्पिटलमा पूर्णरूपमा निःशुल्क उपचार गराइरहेको छ । उनको अवस्थाबारे विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालको माध्यमबाट हालसम्म करिब साँढे दुईलाख रूपैयाँ रकम संकलन भएको छ ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाइहरूले सनराइज बैंकको सञ्जित महतोको नाममा रहेको खाता नं. ०१७०३९९५९२२०५००१ मा रकम जम्मा गराएका छन् । संकलित रकमबाट सञ्जितको परिवारलाई एउटा सानो घर बनाइदिने र सञ्जितको क्षमताले भ्याएसम्मको आम्दानीको स्रोत बनाइदिने योजना बनाएको पत्रकार सन्तकुमार चौधरीले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट