गृह » कृषि तथा वन विश्वविद्यालयको  बजेट डेढ अर्ब रुपैयाँ
प्रमुख समाचार

कृषि तथा वन विश्वविद्यालयको  बजेट डेढ अर्ब रुपैयाँ

रामपुर । कृषि तथा वन विश्वविद्यालयको बजेट डेढ अर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । विश्व विद्यालयको गतहप्ता सम्पन्न छैठौँ साधरण बैठक (सिनेट) ले आर्थिक वर्ष ०७४/७५ का लागि एक अर्ब ५६ करोड चार लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको विश्वविद्यालयका उपकुलपति डा आईपी ढकालले जानकारी दिए ।
सिनेटमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा मनराज कोलाक्षपतिले सो बजेट तथा विश्वविद्यालयको वार्षिक प्रतिवेदन पेस गरेका थिए । कृषि तथा वन विश्वविद्यालयले यो वर्ष त्रिभुवन विश्वविद्यालयसँग रहेको सम्पत्ति हस्तान्तरणको विवाद किनारा लगाउँदै नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको उपकुलपति ढकालको भनाइ छ ।
ढकालका अनुसार सिनेटले विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा बाँकेको खजुरा, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा प्राकृतिक व्यवस्थापन कलेज खोल्ने निर्णय गरेको छ । त्यस्तै, धादिङको खनियाबास गाउँपालिकाको सत्यदेवीमा कृषिविज्ञान केन्द्र खोलेर सञ्चालन गर्ने निर्णय पनि सिनेटले गरेको उपकुलपति ढकालले बताएका छन् ।
यसअघि गत वैशाख ५ मा सम्पन्न विशेष सिनेटले देशका विभिन्न ठाउँमा कृषि र वनविज्ञानका सातवटा आंगिक क्याम्पस र एउटा कृषिविज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । कृषि तथा वन विश्वविद्यालयको हालसम्म एउटामात्रै आंगिक क्याम्पस छ । त्यसैले कृषि शिक्षाको विस्तारका लागि देशैभर क्याम्पस खोल्ने योजना बनेको हो ।
त्यसो त, विश्वविद्यालयले निजी कलेजहरुलाई सम्बन्धन दिने नीति पनि नबनाएको हैन । तर, सम्बन्धनका विषयमा विवादहरु बढ्दै गएका छन् । केही कलेजहरुलाई विश्वविद्यालयले सम्बन्धन दिन लागेको भन्दै विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले लामो समयसम्म विरोध प्रदर्शनहरु गरेका थिए । निजी विद्यालयको सम्बन्धनका विषयमा सिनेटले केही निर्णय गरेको छैन ।
सिनेट बैठकको अध्यक्षता विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । प्रधानमन्त्री देशका सबै विश्वविद्यालयको कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था छ । बैठकमा प्रधानमन्त्री तथा कुलपति देउवाले सम्पत्ति हस्तान्तरणका विषयमा आफूले त्रिवि पदाधिकारीहरुलाई पनि निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै, सहकुलपति तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले त्रिवि र कृषि विश्वविद्यालयबीच रहेको सम्पत्ति हस्तान्तरणको काम चाँडै टुङ्गोमा पुग्न लागेको जानकारी बैठकमा गराएका थिए । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको रामपुरको कृषि क्याम्पस र हेटौँडाको वन क्याम्पसलाई गाभेर कृषि तथा वन विश्वविद्यालय गठन भएको हो ।
विसं २०६७ सालमा ऐन जारी भएर ६९ सालदेखि पठन पाठक सुरू भए पनि त्रिविले नयाँ विश्वविद्यालयलाई अहिलेसम्म कुनै खालको सम्पत्ति हस्तान्तरण गरेको छैन । केही जमिनहरु त्रिविलाई दिएर यो विवाद समाधान गर्ने निर्णय मन्त्रिपरिषद्को गत वैशाखमा सम्पन्न बैठकले गरेको थियो ।
कृषि तथा वन विश्वविद्यालयले अहिले चितवन रामपुरमा कृषि, पशु र माछामा स्नातक, स्नातकोत्तर र विद्यावारिधिसम्मको पढाइ सञ्चालन गर्दै आएको छ । त्यस्तै, हेटौँडामा वनविज्ञान विषयको पढाइ सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयमा हाल स्नातक तहमा एक हजार ४७१, स्नातकोत्तरमा ३६७ र विद्यावारिधिमा ४५ जनाले पढिरहेको उपकुलपति ढकालले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट