गृह » युवती हत्या आरोपमा नेपाली पक्राउ, छोराले गरे हत्या, बाबुले देखे शव
प्रमुख समाचार

युवती हत्या आरोपमा नेपाली पक्राउ, छोराले गरे हत्या, बाबुले देखे शव

–दिपेन्द्र अधिकारी
भरतपुर । बोराभित्र पोको पारेर फालेको अवस्थामा शव भेटिएको भरतपुर महानगरपालिका वडा नं २१ पहारिलोटारकी २० वर्षीया सुजता बराल घिमिरेको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न प्रमुख अभियुक्त भरतपुर २३ बस्ने १७ वर्षीय तिलक नेपाली रहेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । नेपालीलाई उनको घरबाटै भदौ २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘अभियुक्त नेपालीले हत्या गरेको स्वीकारेका छन्, प्रमुख थापाले भने, ‘यस घटनामा अरुको पनि संलग्नता रहेकाले खोजी भइरहेको छ ।’ बोरामा पोको पारी बाहिरबाट तारले बाँधेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बाबुले देखे शव
हत्या गरी फालिएकी युवतीको शव हत्या आरोप लागेका तिलकका बुबा ‘तुले’ भन्ने दिलबहादुर नेपालीले घाँस काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय प्रकाश बरालका अनुसार हत्या आरोप लागेका तिलकका बाबुले नै उक्त शव देखेपछि सबैलाई खबर गरेका हुन् । आफूले देखेको शव छोराले नै हत्या गरेको भन्ने प्रारम्भिक जानकारी पाएपछि दिलबहादुर अचम्ममा परेका छन् ।
यसरी भेटियो शव
भदौ २२ गते भरतपुर–२३ स्थित शीतलपानीमा स्थानीय दिनानाथ पौडेलेको खेतको कुलोमा बोरामा पोको पारेर फालिएको अवस्थामा शव भेटिएको थियो । भदौ १७ गते बेलुकी घरबाट हराएकी युवतीको शव २२ गतेमात्र फेला परेको थियो । घटना रहस्यमय भएपछि यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक अन्जना श्रेष्ठलाई अनुसन्धानमा खटाएको थियो । एक हप्तापछि घटनाबारे तथ्यहरु खुलेको प्रहरी प्रमुख थापाले बताए ।
बोराभित्र हालिएको अवस्थामा शंकास्पदरुपमा शव फेला परेपछि परिवार र छिमेकीले हत्यारा पत्ता लगाउनका लागि प्रहरी प्रशासनलाई निरन्तर दबाब दिएका थिए । युवतीको माइतीघर पनि भरतपुर–२३ मा रहेको प्रहरीको भनाइ छ ।
मृतकको श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ । शव फेला परेपछि भएको पोष्टमार्टमका आधारमा युवतीको हत्या भएको भन्ने पुष्टि भएको प्रहरी प्रमुख थापाले बताए । अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको र बुधबार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१७ वटा नक्कली आईडी
हत्या आरोपित युवकले फेसबुकमा नक्कली आईडी बनाएर अन्य युवतीलाई पनि अनावश्यक सन्देशहरु पठाउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित नेपालीको १७ वटा झुटा फेसबुक आईडी रहेका छन् । ‘युवतीलाई ब्ल्याकमेलिङ गर्ने उद्देश्यले फरक–फरक आईडी बनाइ खराब धन्दा चलाउने गरेको पाइयो,’ एसपी थापाले भने ।

Comments

About the author

चितवन पोष्ट