गृह » चाडवाडमा कडा सुरक्षा : प्रहरी
समाचार समाज

चाडवाडमा कडा सुरक्षा : प्रहरी

भरतपुर । चितवन प्रहरीले चाडवाडको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी चाडवाड लक्षित सुरक्षा योजनाबारे जानकारी गराएको हो ।
चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन नदिने, कुनै पनि घटनामा तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने, राजमार्गको यातायात नियमित सञ्चालन गर्ने योजना प्रहरीको रहेको छ ।
राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ गर्ने, सादा पोसाकले बैँक तथा वित्तीय संघसंस्था, बढी आर्थिक कारोवार हुने स्थानहरुमा अनुगमन गर्ने, चोरी, लुटपाटजस्ता घटना हुन नदिन २४ सै घण्टा मोटरसाइकलमा समेत प्रहरी परिचालन गर्ने प्रमुख थापाले जानकारी दिए ।
त्यस्तै यात्रुको समस्यालाई ध्यानमा राखी टिकट काउन्टरबाट प्रदान गरिने सेवालाई व्यवस्थित र पारदर्शी गराउने उद्देश्यले भरतपुर–९ केन्द्रीय बसपार्क र भरतपुर–१ पुल्चोकमा यातायात व्यवसायीको प्रतिनिधिसमेत रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । दिवा तथा रात्रीकालीन सवारीलाई सुरक्षित बनाई लाइफलाइनको रुपमा लिइएको मुग्लिन–नारायणगढ सडक नियमित सञ्चालनका लागि आवश्यक प्रहरी, ट्राफिक प्रहरी खटाइने प्रउ थापाले बताए ।
१२ लाखसहित २१ जुवाडे पक्राउ
भरतपुर–१० बाट चितवन प्रहरीले १६ थान कौडासहित एउटै खालबाट २१ जना जुवाडेलाई पक्राउ गरेको छ ।
भदौ २७ गते भरतपुर आरोलोमा रहेको थकाली भान्सा घर तथा गेष्ट हाउसबाट पक्राउ गरिएको हो । नेपाली नगद १२ लाख ३७ हजार ३१० रूपैयाँ, एक सय अमेरिकी डलर र आईसी ५० रुपैयाँसहित २१ जना पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता डिएसपी शिव शर्माले जानकारी दिए ।
आरोपितविरुद्ध जुवा ऐन–२०२० अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कारबाही भइरहेको प्रहरीले जनाएको छ । चाडवाड र अन्य समयमा पनि जुवा र जुवाजन्य खेलहरु नखेल्न चितवन प्रहरीले सार्वजनिक अपिलसमेत गरेको छ ।

 

Comments

About the author

चितवन पोष्ट