गृह » दिनरात मजदुरी गरेर श्रीमानको उपचार
समाचार समाज स्वास्थ्य

दिनरात मजदुरी गरेर श्रीमानको उपचार

होमनाथ सापकोटा
रत्ननगर । कालिका नगरपालिका वडा नं.१० सिद्धिका गुञ्जमान चेपाङको परिवारमा विगत चार वर्षदेखि संकटमाथि संकट थपिएको छ । आर्थिक विपन्नताका कारण सधै जसो मेलापात गरेर जीविकोपार्जन गर्दैैै आएका चेपाङ परिवारमा गुञ्जमान बिरामी भएपछि बिहानबेलुका चुलो बल्न मुस्किल हुन थाल्यो ।
दिनभरी कमाएर ल्याउने श्रीमान बिरामी भएर थलिएपछि सञ्जु चेपाङलाई परिवार पाल्ने अभिभारा आइप¥यो । एकातिर श्रीमानको उपचार खर्च र अर्कोतर्फ बिहान बेलुका हातमुख जोर्न अन्न जुटाउनु पर्ने समस्याले सञ्जुलाई सताउन थाल्यो । सिद्धिमा उनीहरुको अलिकति खोरिया जमिन छ । सो जमिनमा मकै फल्छ । खोरियामा उत्पादन भएको मकैले उनीहरुलाई मुस्किलले तीन महिना खान पुग्छ । श्रीमानको उपचारको त परको विषय भयो ।
डाँडामा बसेर श्रीमानको उपचार खर्च जुटाउन नसक्ने देखिएपछि चेपाङ दम्पती चार वर्षअघि जुटपानी आए । अर्काको घरमा बसेर मजदुरी गरेर परिवार पाल्ने र श्रीमानको उपचार खर्च जुटाउने सोचका साथ सञ्जुकै आग्रहमा उनीहरु जुटपानी आएका हुन् । गुञ्जमानलाई ठूलै रोग लागेको छ । गुञ्जमानलाई कलेजो र आन्द्रामा अल्सर तथा पित्तमा मासु पलाएको छ । एक एक महिनामा उनलाई अस्पताल पु¥याउनु पर्छ । सम्पत्तिको नाममा एक आना जग्गासमेत नभएका कारण सञ्जुलाई श्रीमानको उपचारको लागि खर्च जुटाउन मुस्किल छ । ‘कहिले पैसा नभएर अस्पताल नै लैजान सक्दिन’ उनले भनिन्, ‘मजदुरी गर्न जान सकिन भने श्रीमानलाई औषधि किन्ने पैसा समेत हुदैन ।’ सन्जुका एक छोरा र एक छोरी छन् । छोराछोरीलाई हुर्काउन र पढाउन पनि उनलाई मुस्किल छ । ९ वर्षको छोरी सीया र ४ वर्षको छोरा सन्दिप विन्देश्वरी आधारभूत विद्यालय माधवपुरमा अध्ययन गर्छन् ।
घरमा बिहानबेलुका खानसमेत समस्या रहेकाले छोराछोरीलाई एक महिना विद्यालयनै आवासीय रुपमा पढाउने जिम्मेवारी लिएको छ । सञ्जुले घर बनाउने काममा मजदुरी काम गर्छिन । श्रीमानको उपचारको लागि खर्च जुटाउन मजदूरी गरेको उनले बताइन् । ‘मैले मजदूरी नगरे उहाँलाई औषधि किन्ने पैसा पनि हुदैन’ उनले भनिन्, ‘त्यही भएर दिनरात मजदूरी गरेर श्रीमानको उपचार गरेकी छु ।’
गुञ्जमानलाई भरतपुरको सरकारी अस्पतालमा उपचार गरिएको छ । ‘डाक्टरले जाँचेको पैसा लाग्दैन’ उनले भनिन्, ‘औषधि लगायत अन्य परीक्षण गर्न पैसा चाहिन्छ ।’ एक महिनासम्म कष्टपूर्ण मजदूरी गरेर कमाएको पैसाले श्रीमानको उपचार गर्ने गरेको उनको भनाइ छ । श्रीमानलाई एक महिनामा औषधि खरिद गर्न मात्र दुई हजार पाँच सय रुपैया खर्च लाग्छ । ‘डाक्टरले एकै पटक दुई महिनाको औषधि लेख्नुहुन्छ’ उनले भनिन्, ‘मैले पैसा नभएर १५ दिनको लागि मात्र ल्याउने गरेको छु ।’ मजदूरी गरेर पैसा जम्मा भएपछि मात्र आवश्यक पर्ने औषधि किन्ने गरेको उनले बताइन् । सञ्जुको परिवार जुटपानीमा माधव सुवेदीको घरमा भाडामा बसेका छन् । श्रीमानको उपचारकै लागि सञ्जुले मासिक एक हजार भाडा तिरेर सुवेदीको घरमा बस्दै आएकी छन् ।
‘छोराछोरीलाई पाल्न सक्ने पनि क्षमता भएन’, उनले भनिन्, ‘राम्रो शिक्षा दिने बेलामा रेखदेख समेत गर्न पाइन ।’ दिनभरी मजदूरी गर्न सजिलो होला भनेर उनले छोराछोरीलाई विद्यालयमा आवासीय रुपमा राखिदिन आग्रह गरेको बताइन् । सञ्जुका दुई छोराछोरीको शिक्षाको निरन्तरताको लागि रत्ननगर उद्योग वाणिज्य संघले बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री र आयआर्जनको लागि बाख्रा सहयोग गरेको छ । चेपाङ दम्पतीको अवस्था अत्यन्तै नाजुक रहेको थाहापाएपछि आयआर्जनको लागि चार बाख्रा सहयोग गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले बताए । ‘हाम्रो सहयोग बालबालिकाको शिक्षाको निरन्तरताको लागि हो’ उनले भने, ‘परिवारमा आयआर्जनको माध्यम भयो भने छोराछोरीले पढ्न पाउँछन् भन्ने हाम्रो बुझाइ हो ।

Comments

About the author

चितवन पोष्ट