गृह » मुग्लिन– नारायणगढ सडक २४ सै घण्टा खुला
समाचार समाज

मुग्लिन– नारायणगढ सडक २४ सै घण्टा खुला

भरतपुर । चाडपर्वलाई ध्यानमा राखी नारायणगढ–मुग्लिन सडक बुधबारबाट चौबिसै घण्टा सञ्चालनमा आएको छ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर सडक चौबिसै घण्टा सञ्चालन हुने भएको हो । असार २५ गतेबाट रातको समयमा बन्द गर्न थालिएको थियो । हाल निजी सवारी र भाडाका यात्रु बस रातको समयमा चल्न दिइने भएको छ ।
पहिरोको कारण रातको समयमा यस सडकमा यातायात सञ्चालन गर्नु निकै जोखिमयुक्त भएपछि संसदको विकास समितिको सुझावका आधारमा रातमा आवागमन बन्द गरिएको थियो । असार दोस्रो हप्ता यसै क्षेत्रमा रातको समयमा गएको पहिरोमा परी चार प्रहरीको निधन भएको थियो । हालसम्म एक जना बेपत्ता रहेका छन् ।
मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो । अर्को निर्णय नभएसम्मका लागि २४ सै घण्टा यातायात खुलाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।
त्यस्तै सडकमा रहेका निर्माण सामग्री हटाउने, खाल्डाहरु पुर्ने र धुलो उडेको अवस्थामा पानी हाल्नेसम्मको व्यवस्था गरिने उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई इच्छाकामना ३ स्थित लेवाटारमा रोकिने भएको छ । रातको समयमा हुने सम्भावित दुर्घटनालाई कम गर्न मेशिनरी सामान र सुरक्षाकर्मीको संख्या बढाइएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिए जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउन ठाउँठाउँमा पहाड काट्ने काम भएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर हैरानी हुने गरेको छ ।
सूचना बोर्ड प्रभावकारी
नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुलाई सूचना उपलब्ध गराउने उद्देश्यले राखिएका डिजिटल सूचना बोर्डहरु निकै प्रभावकारी रहेको गाडी चालक र यात्रुहरुले बताएका छन् । चाडवाडको समयमा यस बाटो भएर लाखौं यात्रु आवातजावत गर्ने हुनाले डिजिटल बोर्डको उपयोगिता उच्च हुने आयोजनाले विश्वास लिएको छ ।
सडक खण्डमा बाटोको अवस्था (बन्द वा खुला)ं र अन्य थप जानकारी पाउन थालेपछि यात्रुले केही सहजता महसुस गरेका छन् । ‘ठाउँठाउँमा राखिएको सूचना बोर्डले सहज भएको छ, काठमाडौंबाट नारायणगढ यात्रा गरिरहेका कृष्ण सिलवालले भने । काठमाडौं नागढुंगामा दुई महिनाअघि नै राखेको छ । नारायणगढ–आँपटारी, मुग्लिन र नौबिसेमा पनि बोर्ड राखिएको छ । पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने आयोजनका इन्जिनियर शिव खनालले जानकारी दिए ।
सौर्य उर्जाबाट बोर्ड चल्ने छ । बाटोको अवस्था के छ आयोजनाका अधिकारीहरुले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्धतले बोर्डमा राख्नुपर्ने जानकारीहरु प्रवाह गर्ने छन् ।

Comments

About the author

चितवन पोष्ट