गृह » पहिलो भण्डारा महोत्सव असोज १९ बाट
अर्थ

पहिलो भण्डारा महोत्सव असोज १९ बाट

भण्डारा । दसैँ र तिहारलाई लक्षित गरेर चितवनको राप्ती नगरपालिका अन्तर्गत भण्डारामा पहिलो भण्डारा महोत्सवको आयोजना हुने भएको छ ।
राप्ती नगरपालिका क्षेत्रका धार्मिक, सांस्कृतिकलगायत स्थानीयस्तरका ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । स्थानीय भण्डारा बजार यूवा समाज चितवनले असोज १९ गतेदेखि आयोजना गर्न लागेको महोत्सव दश दिनसम्म चल्ने छ । महोत्सवमा कृषि, उद्योग, स्वास्थ्य, शिक्षा, वित्तीय, सूचना प्रविधि, अटोलगायत १०० व्यवसायीक स्टलहरु समेत रहने महोत्सव मूल आयोजक समितिका संयोजक सुदिप ओलीले जानकारी दिए ।
आयोजकका अनुसार ७० भन्दा बढी व्यवसायिक स्टलहरु बुक भइसकेको छ । महोत्सवमा बाल उद्यानसँगै स्थानीयस्तरमा उत्पादन भएका मह, माछालगायत कृषिका उपजलाई बढी प्राथमिकता दिने तयारी छ । दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने भएकाले महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । स्थानीय भण्डारा माध्यमिक विद्यालयको परिसरमा आयोजना गर्न लागिएको महोत्सवमा ३० हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव सम्पन्न गर्न ३६ लाख रुपैयाँ लाग्ने र महोत्सवबाट कम्तीमा ४१ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । महोत्सववाट भएको आम्दानीले राप्ती नगरपालिकाका लागि एम्बुलेन्स खरिद गरिने भण्डारा युवा समाजले जनाएको छ । स्थानीयस्तरका धार्मिक, सांस्कृतिकसँगै अन्य ऐतिहासिक विषयको प्रचारप्रसारसँगै महोत्सवाट संकलन भएको आर्थिकले एम्बुलेन्स सेवा दिने योजना रहेको मूल समितिका संयोजक ओलीले बताए ।

 

Comments

About the author

चितवन पोष्ट