गृह » विद्यालयमा सुरक्षात्मक पर्खाल निर्माण
समाचार समाज

विद्यालयमा सुरक्षात्मक पर्खाल निर्माण

लोथर । राप्ती नगरपालिका–१२ स्थित गणेश निमावि यौरालीटारका भूपू विद्यार्थी बुद्धि तामाङले आफूहरु पढ्ने बेलामा प्राथना गर्ने चौर, खेलमैदान नहँुदा निकै कष्ट पाए ।
१० वर्षअघिका विद्यार्थीहरु प्रार्थना गर्नबाटमात्र होइन, खेल खेल्नबाटसमेत वञ्चित थिए । तर, अब भने यो समस्या टरेको छ । विद्यालयको चौर बढ्ने गरी यहाँ सुरक्षात्मक पर्खाल निर्माण गरिएपछि यो समस्या टरेको हो । ‘हाम्रो पालामा चौर सानो हुँदा निकै समस्या थियो, साथीहरु कति लड्यौँ कति’ उनले भने, ‘अब भने भाइबहिनी सुरक्षित भए ।’
राप्ती नगरपालिकाका–२ का दुई विद्यालयमा पहिरो रोकथामका लागि सुरक्षात्मक पर्खाल निर्माण गरिएको हो । वडा नं १२ स्थित गणेश आधारभूत विद्यालय यौरालीटार र वडा नं १३ स्थित कान्देश्वरी राष्ट्रिय प्रावि कान्दामा पर्खाल निर्माण गरिएको हो ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनद्वारा साप्ला निरको आर्थिक सहयोगमा सञ्चालित जल उत्पन्न प्रकोप न्यूनीकरण परियोजनाअन्तर्गत सो काम गरिएको हो । पहिरोको जोखिम व्यवस्थापनको लागि साबिक लोथर गाविसमा काम गर्दै आएको यस संस्थाले विद्यालय सुरक्षाका लागि उक्त संरचना निर्माण गरेको परियोजनाका प्रमुख व्यवस्थापक मदिना पौडेलले जानकारी दिइन् ।
बुद्धि अहिले विद्यालय छाडेर तारजाली भर्ने काममा लागेका छन् । उक्त विद्यालयको पर्खाल निर्माणका लागि प्रमुख मिस्त्री भएर तारजाली भर्ने उनै हुन् । आफैँले पढेको विद्यालयको सुरक्षाका लागि काम गर्न पाउँदा उनी निकै खुसी छन् ।
पर्खालको जाली भर्नका लागि यसै विद्यालयका शिक्षक सागर प्रजा, राप्रपाको तर्फबाट वडाअध्यक्षको उम्मेदवार बनेका सुनिल तामाङ, विद्यालयका कार्यालय सहयोगी वीरबहादुर तामाङलगायत खटिएका थिए । परियोजनाले सामुदायिक विपद् व्यवस्थापन समितिसँग सम्झौता गरेर उनीहरुकै सक्रियतामा काम गरेकोे हो । कान्दा र यौरालीटार दुवै ठाउँको पर्खाल निर्माणका लागि झण्डै १३ लाख रूपैयाँ लागत लागेको जिल्ला परियोजना संयोजक रवीन्द्रसिंह ठकुरीले बताए ।
तारजाली लगाइएपछि विद्यालय पहिरोको जोखिमबाट सुरक्षित भएको छ । विद्यालयको खेल मैदान चौरसमेत बढेको छ । ‘यसअघि विद्यार्थीहरु खाल्डोमा खसेर घाउ चोटपटक लाग्ने अवस्था थियो’, गणेश निमावि यौरालीटारका प्रधानाध्यापक रमेश थिङले भने, ‘पर्खाल निर्माण गरिएपछि विद्यालय र विद्यार्थी दुवै सुरक्षित भएका छन् ।’
उनका अनुसार पर्खाल निर्माण गरिएपछि चौर फराकिलो भएको, विद्यालय भवन पहिरोको जोखिमबाट दीर्घकालीनरुपमा सुरक्षित भएको, विद्यार्थीलाई प्राथना गर्न सजिलो भएको र विद्यार्थीहरु ढुक्कसँग लेखपढ गर्न सक्ने भएका छन् ।
उक्त ठाउँमा २०६८ सालमा पहिरो खस्दा ट्याक्टर दुर्घटना भएको थियो । माथिबाट ढुङ्गा खसेर बाटोमा हिँड्नेलाई त्रास थियो । पर्खाल निर्माणपछि जोखिम हटेको सामुदायिक विपद् व्यवस्थापन समिति यौरालीटारका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।
विद्यालय निर्माण गरिँदा पुरिएको माटो कमजोर थियो, त्यसलाई ०७२ सालको महाभूकम्पले थप कमजोर बनायो । विद्यालयको कक्षाकोठामा समेत जोखिममा रहेको यस विद्यालय पर्खाल निर्माणपछि भने सुरक्षित बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर तामाङले बताए । यो विद्यालय ०३९ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको यो विद्यालय ०६५ सालबाट निमाविको रुपमा स्थापित छ । यहाँ हाल कूल २०३ जना विद्यार्थी अध्ययनरत छन् । जसमा १०८ छात्र र ८२ छात्रा रहेका छन् ।
साबिक लोथर गाविसका ६ वटा वडा १, २, ३, ४, ५ र ९ हाल राप्ती नपा १२ र १३ नं वडासहित कोराकको २ नं वडा र मकवानपुरबाटसमेत यस विद्यालयमा विद्यार्थीहरु अध्ययन गर्न आउँछन् । सुरक्षात्मक पर्खाल लगाउनुभन्दा अगाडि यहाँ भिरालो जमिन भएकाले माटो खसिरहने समस्या रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट