गृह » २० वर्षपछि आफनै भवनबाट सेवा सुरू
समाचार समाज

२० वर्षपछि आफनै भवनबाट सेवा सुरू

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ वडा कार्यालयले नयाँ भवनबाट सेवा सुरू गरेको छ ।
जमुनापुरमा सामुदायिक भवनसहितको वडा कार्यालय निर्माण गरी कार्यालयले आफनै भवनबाट सेवा सुरू गरेको हो । विगत २० वर्षदेखि जयमंगलास्थित संयुक्त सेवा केन्द्रबाट सेवा दिँदै आएको सो कार्यालयले स्थानीय तहको निर्वाचनपछि आफ्नै भवनबाट सेवा सुरू गरेको वडा अध्यक्ष वीरबहादुर पाख्रिनले जानकारी दिए ।
स्थानीय चन्द्रकुमारी भण्डारीले प्रदान गरेको जग्गाका नगरपालिकाको वडा कार्यालय निर्माण बजेट तथा विभिन्न व्यक्तिहरुसँग सहयोग जुटाएर भवन निर्माण गरिएको हो । भवन निर्माण समितिका संयोजक दीपबहादुर भण्डारी र जग्गादाता चन्द्रकुमारीले एक कार्यक्रमबीच सो भवनको साँचो वडा अध्यक्ष पाख्रिनलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले भवनको उद्घाटन गरेपछि वडा कार्यालयले नयाँ भवनबाट सेवा सुरू गरेको हो । कार्यक्रममा जग्गादाता भण्डारी र बाटोको लागि जग्गा दिने श्यामबहादुर लामिछानेलाई सोही अवसरमा दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद गौतम, रत्ननगर खानेपानी संस्थाका अध्यक्ष ऋषिराम वाग्ले, पञ्चकन्या सामुदायिक वनका उपाध्यक्ष कृष्णप्रसाद बगाले, नेपाली कांग्रेसका श्रीकृष्ण घिमिरे, एमालेका कृष्णप्रसाद दुवाडी, माओवादी केन्द्रका भीष्मराज पौडेल, राप्रपाकी खड्ककुमारी थापा, भवन निर्माण समितिका उपाध्यक्ष शिवप्रसाद भट्ट, सदस्य मोहनप्रसाद भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
भवन निर्माण समितिका संयोजक दीपबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम अनुगमन तथा मूल्यांकन समितिकी संयोजक अनिता अर्यालले सञ्चालन गरेकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट