गृह » माडीमा ढुक्कसँग बिजुली बल्ने आशा, स्थायी समाधान खोज्न मन्त्रालय तयार 
अर्थ प्रमुख समाचार

माडीमा ढुक्कसँग बिजुली बल्ने आशा, स्थायी समाधान खोज्न मन्त्रालय तयार 

 

माडी । मर्मत गरेर सकेको केही दिनपछि नै बिग्रेर हैरान हुने माडीको बिजुलीको समस्या समाधानका लागि जलस्रोत मन्त्रालयले पहल थाल्ने भएको छ । माडीका मेयर ठाकुर ढकालसहितको टोली काठमाडौं गएर समस्या अवगत गराएपछि मन्त्रालय समस्या समाधानमा सकारात्मक भएको हो ।
निकुञ्जभित्र भूमिगतरुपमा बिच्छ्याएको तार फेर्न मन्त्रालय तयार भएको मेयर ढकालले जानकारी दिए । पुरानो लाइन हटाएर नयाँ निर्माण गरिने छ । नयाँ लाइन बनाउँदा एउटा मात्रै नभएर दुई लाइन बनाउने योजना रहेको उनले बताए ।
माडीमा गएको भदौ १४ गते बुधबारदेखि बिग्रेको बिजुली १० दिनपछि आइतबारबाट मात्रै बल्न सुरू भएको थियो । यो वर्षको असारयता माडीमा बिजुली बल्न बन्द भएको यो तेस्रो पटक हो । बिजुली बिग्रेपछि बनाउने उपकरण भारतको राजधानी दिल्लीबाटै मगाउनु पर्छ । अघिल्लो पटक बिगँ्रदा चाडै उपकरण नआउँदा हप्तौं बिजुली बलेको थिएन । यस पटक पनि त्यस्तै भएको हो ।
माडीमा बिजुली पु¥याउन चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र भूमिगतरुपमा बिच्छ्याएको तारमा समस्या आएर बिजुली नबोलेको सबैलाई थाहा छ ।
तर, कहाँ नेर तार बिग्रेको हो पत्ता लगाउन उपकरण बिना सकिँदैन तर त्यो उपकरण नेपालमा छैन । जमिनभित्र रहेको बिग्रेको तार पत्ता लगाउने ‘फल्ट लोकेटर’ मेशिन सरकारले नकिन्दा मर्मतमा दिल्लीको भर पर्नु परेको हो ।
यसअघि साउनमा पनि निकुञ्जभित्रै समस्या आउँदा २४ दिनसम्म माडीमा बत्ती बलेको थिएन । दिल्लीबाटै फल्ट लोकेटर ल्याएर बिग्रेको तार पत्ता लगाएपछि साउन ३१ गतेबाट माडीमा बिजुली बल्न थालेको थियो । तर, दुई हप्ता पूरा नहुँदै समस्या बल्झेको छ । साउनअघि असार पाँच गतेदेखि असार १८ गतेसम्म पनि माडीमा बिजुली थिएन ।
यसरी पटकपटक समस्या दोहरिएर लामो समयसम्म माडी अन्धकारमा बस्नु परेपछि मन्त्रालय गएर स्थायी समाधानका लागि अनुरोध गर्नु परेको मेयर ढकालले बताए । पुरानो लाइनमा सिल्भरको तार प्रयोग भएकोमा अब कपर (तामा)को तार प्रयोग हुने ढकालले बताए । यसका साथै दुई वटा लाइन राखिने छन् । एउटा बिग्रेमा अर्कोबाट काम चलाउन त्यसो गरिने ढकालले बताए ।
‘मन्त्रालयले विभागलाई र विभागले नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखालाई पत्र काटिसकेको छ । एक हप्ताभित्र लागत अनुमान पेस गर्न मन्त्रालयले ताकेता गरेको छ । काम चाडै सुरू हुने आशामा हामीहरु रहेका छौं’ मेयर ढकालले भने । माडी जान चितवन निकुञ्जको जंगल पार पर्नुपर्ने हुन्छ । निकुञ्जको वातावरण र जनावरलाई असर पर्ने भन्दै निकुञ्जभित्र भूमिगतरुपमा तार बिच्छ्याइएको थियो । निकुञ्जभित्र रहेको आठ किलोमिटर भूमिगत प्रणालीको सात ठाउँमा ज्वाइन्टहरु छन् । ती ठाउँहरुमा नै पटकपटक समस्या आउने गरेको छ ।
झण्डै १२ करोड रूपैयाँ खर्च भएको आयोजनाले माडीवासीलाई ढुक्कसँग बिजुली बाल्न दिएको छैन । राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगे पनि माडी नगरपालिका घोषणा भएको थियो । निकुञ्जका कारण सधै समस्यामा परेको गुनासो गर्ने माडीबासीहरु बिजुली आयोजनाले पनि कम गुणस्तरको काम गरेको उनीहरु बताउँछन् ।
दिल्लीबाटै मगाउनु पर्ने फल्ट लोकेटर मेशिन नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले नै किन्ने तयारी पनि गरेको छ । नेपालमै उपकरण भए बिग्रेको खण्डमा चाडो मर्मत हुने माडीवासी बताउँछन् । प्राधिकरणले सो मेशिन किन्न टेण्डर सूचना निकाली सकेको प्राधिकरण भरतपुर शाखाका प्रमुख यादवले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट