गृह » भरतपुरको मेयरलाई पत्रकारको सुझाव ,‘माफियाहरुको चंगुलमा कहिल्यै नफस्नू’ 
प्रमुख समाचार

भरतपुरको मेयरलाई पत्रकारको सुझाव ,‘माफियाहरुको चंगुलमा कहिल्यै नफस्नू’ 

?

भरतपुर । भरतपुर महानगरपालिकाका मेयर उपमेयरसँग चितवनका क्रियाशील पत्रकारहरु अन्तक्र्रिया गरेका छन् । कार्यक्रममा पत्रकारहरु भरतपुर महानगरपालिकाका मेयर उपमेयरलाई पत्रकारहरुले माफियाहरुको चंगुलमा नफस्न सुझाव दिएका थिए ।
पत्रकारहरुले महानगरको विभिन्न समस्याहरु बताउँदै यसको समाधानमा डटेर लाग्न सुझाव दिए । स्वागत तथा सम्मानका कार्यक्रमहरुमा मेयर उपमेयर बढी व्यस्त हुँदा विकासका कार्यक्रम पछाडि परेको तर्फ पत्रकारहरुले ध्यानाकर्षण गरेका थिए । अन्तक्र्रिया कार्यक्रममा ५० भन्दा बढी पत्रकारहरु उपस्थित भएका थिए ।
महानगरपालिकाको मेयर तथा उपमेयर सपथ लिएको ३२ दिनमा पत्रकारहरुसँग अन्तक्र्रिया भएको हो । पत्रकारहरुले देखेका र झेलेका समस्याहरु चाँडो हल गर्न मेयर उपमेयरलाई सुझाव दिएका थिए ।
पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले नगरवासीको साझा जनप्रतिनिधि भएर काम गर्न सुझाव दिए । उनले चितवनमा रहेका पत्रपत्रिका, एफएम, टेलिभिजनहरुको वस्तुस्थितिबारे जानकारी दिएका थिए । अध्यक्ष खतिवडाले भने, ‘जिल्लाका धेरै व्यवसायिक तथा सरकारी विज्ञापनहरु स्थानीय मिडियाले कम पाएका र राष्ट्रिय मिडियाहरुले बढी पाएका छन् ।’ उनले मेयर तथा उपमेयरलाई स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिन आग्रह गरेका थिए ।
अध्यक्ष खतिवडाले भरतपुरमा मिडियाको तालिम केन्द्र बनाउन माग गरेका थिए । समग्र चितवनको पत्रकारहरुको हकहितमा कार्यक्रमहरु ल्याउन उनले सुझाव दिएका थिए ।
पत्रकार महासंघका उपाध्यक्ष नारायण अधिकारीले चितवनको मिडियाहरुको अवस्था मजबुद बनाउन महानगरले भूमिका खेल्नुपर्ने बताए । प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले भरतपुर अस्पतालमा महिला र वृद्धलाई ओपीडी टिकट निःशुल्क छ, गरिबहरुलाई मेजर अप्रेसनहरुमा के हुन्छ ? भनेर प्रश्न गरेका थिए ।
खेलकुद पत्रकार संघका अध्यक्ष विनोदबाबु रिजालले चुनावको बेला घोषणा भएका अल्पकालीन, दीर्घकालीन योजनाहरुको अवस्थाबारे ध्यानाकर्षण गराएका छन् । प्रेस चौतारीका अध्यक्ष तीर्थ नेपालले इमान्दारी र पारदर्शी भएर काम गर्न सुझाव दिएका थिए ।
प्रेस सेन्टरका अध्यक्ष प्रकाश ज्ञवाली, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष नवराज ढकाल, जनजाति पत्रकार संघका अध्यक्ष संदिप श्रेष्ठलगायतले मेयर तथा उपमेयरलाई सबैको समन्वयमा अघि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, सिर्जना अर्याल, प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।
उपस्थिति पत्रकारहरुले महानगरको ग्रामीण भेगलाई विशेष ध्यान दिन, सडक र ढलको अवस्थामा सुधार ल्याउन, अव्यवस्थित नारायणगढलाई व्यवस्थित पार्न, कर्मचारीतन्त्रको जालझेलमा नफस्न, कसैलाई काखा र कसैलाई पाखा नगर्न, तरकारी तथा फलफूल बजारको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सुझाव दिएका थिए । भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले पत्रकारहरुको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताइन् । उनले महानगरका काम र जनप्रतिनिधिलाई घचघच्याइरहेमा अघि बढ्न सजिलो हुने बताइन् ।
माफियाहरुको चंगुलमा कहिल्यै फस्नेछैन’
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले पत्रकारहरुको सुझावपछि माफियाहरुको चंगुलमा आफू कहिल्यै नफसेको र अबका दिनमा पनि नफस्ने बताइन् । उनले भनिन्, ‘म कुनै पनि माफियाहरुको जालोमा हिजो पनि परेकी थिइन् र अब पनि पर्नेछैन ।’ उनले भरतपुर महानगरमा सहरी विकास मन्त्रालयमा २ अर्ब बजेट परेको बताउँदै महानगर विकासमा लम्कन थालेको बताइन् । उनले भनिन्, ‘अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित छिट्टै विशेष गुरुयोजना ल्याउन लागिएको छ ।’
मेयर रेणुले सञ्चारकर्मीहरुका लागि पनि महानगरले विधि नै बनाएर पत्रकार महासंघमार्फत विशेष सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । स्वागत तथा मानसम्मानमा बढी समय खर्चभएको पत्रकारहरुको जिज्ञासामा मेयर दाहालले भनिन्, ‘चुनावको बेला सबैले सहयोग गरेको हुनाले स्वागत कार्यक्रममा आउँदिन भन्न जटिल भएको हो, विस्तारै स्वागत सम्मानमा जान कम भइरहेको छ ।’ दसैंपछि नगर सभा हुन लागेको बताउँदै दाहालले नगर सभाले धेरै विकासका योजनाहरु ल्याउने बताइन् ।

Comments

About the author

चितवन पोष्ट