गृह » रोटरीको स्थापना दिवसमा विविध कार्यक्रम
अर्थ समाचार समाज

रोटरीको स्थापना दिवसमा विविध कार्यक्रम

भरतपुर । रोटरी क्लब अफ भरतपुरको १५ औँ स्थापना दिवस आइतबार चितवन जिल्लाभर विभिन्न रचनात्मक कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराईलगायत सदस्यहरु डा आईपी ढकाल, टीकाराम पोखरेल, नेत्रप्रताप सेन, डा शारदा थपलिया, डा माधव श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, धनबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा सुशीलप्रताप रानाले क्लबको इतिहासबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सन्तोष रेग्मी, विजया ढकाल र जीवन रिजाललाई नयाँ सदस्यता प्रदान गर्दै रोटरीको पिन लगाइएको थियो । स्थापना दिवसमा प्रमुख अतिथि रविन्द्रकुमार पिया, अतिथिहरु राजेन्द्रकुमार श्रेष्ठ, डा तिलचन्द्र भट्टराई, बसन्त रानाभाट, शरदगोपाल न्याछ्यौं, शान्ति उपाध्यायलगायतले क्लबलाई समाजसेवी संस्थाको रुपमा अगाडि बढाउन सबैले प्रेरित गर्नुपर्ने बताएका थिए । कार्यक्रम क्लबका अध्यक्ष नयनराज नेपालको अध्यक्षतामा भएको थियो । यसअघि स्थापना दिवसकै अवसरमा क्लबले पोखरा बसपार्कमा तयार पारेको नो हर्न सम्बन्धी जनचेतनामूलक बोर्डको समेत उद्घाटन गरिएको थियो ।
रोटरीले बाड्यो दसैँलाई नयाँ कपडा
सामाजिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ चितवनले सोमबार एक कार्यक्रमका बीच चितवन मानव सेवा आश्रममा आश्रितहरुलाई दसैँलाई नयाँ कपडा वितरण गरेको छ ।
क्लबका अध्यक्ष शरदगोपाल न्याछ्यौंको सहयोगमा आश्रममा आश्रित असहायहरुलाई नयाँ कपडा हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष न्याछ्यौंले ७० हजार रूपैयाँ बराबरको कपडा आश्रमलाई सहयोग गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ इन्टरनेशनलका पूर्व डिष्ट्रिक गभर्नर रवीन्द्रकुमार पिया र क्लबका अध्यक्ष न्याछ्यौंले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि रवीन्द्रकुमार पिया, विशेष अतिथि ममता शर्मा न्यौपाने, रोटरी क्लब अफ चितवनका निवर्तमान अध्यक्ष चन्द्रमान श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रम क्लबका अध्यक्ष शरदगोपाल न्याछ्यौंको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दुव्र्यसनविरुद्ध रोटरी क्लबको सचेतना
नारायणगढ रोटरी क्लब र अटोवेज प्रालि भरतपुरको संयुक्त आयोजनामा विद्यालयमा दुव्र्यसनीविरूद्ध सचेतना कार्यक्रम एवम् ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपरासीको कावासोतीमा सम्पन्न भएको छ । ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, कावासोती नवलपरासीको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा नवलपरासीका ५० विद्यालयका प्रिन्सिपल र स्थानीयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय कावासोतीका सहायक प्रहरी निरीक्षक तीर्थराज गौतमले लागूऔषध दुव्र्यसन तथा रोकथामका विषयमा प्रशिक्षण दिएका थिए । अटोवेज प्रालिका सिनियर सेल्स कन्सल्ट्यान्ट गोकुल मोहित भण्डारीले सवारी साधनको सुरक्षाको विषयमा प्रशिक्षण दिएका थिए ।
सहभागी विद्यालयका प्रिन्सिपलहरूको तर्फबाट भोजराज दाहाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका इन्चार्ज धर्मेन्द्र रावलले ट्राफिक व्यवस्थापनका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रमबाट नवलपरासीको गैँडाकोटदेखि दुम्कीबास सम्मका विद्यार्थीहरू लाभान्वित हुने क्लबका अध्यक्ष नारायण प्रधानले बताए । कार्यक्रम संयोजक इन्द्रप्रसाद रेग्मीले ट्राफिक तथा लागूपदार्थ दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर जारी रहने बताए । राजाराम सिटौलाले सहजीकरण गरेको सो कार्यक्रममा सहभागीहरुलाई ट्राफिक ज्याकेट उपलब्ध गराइएको थियो । नारायणगढ रोटरी क्लबका अध्यक्ष नारायण प्रधानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान प्रमुख अतिथि रहेका थिए ।
चित्रकलामा अनिशा प्रथम
युथ क्लब नारायणगढ र बालकुमारी कन्या माविको संयुक्त आयोजनामा राष्ट्रिय बालदिवस २०७४ को अवसरमा ‘बालमैत्री शासनः बालअधिकारको सम्मान’ मूल नाराका साथ माविस्तरीय चित्रकला प्रतियोगिता बालकुमारी कन्या माविमा सम्पन्न भएको छ ।
चित्रकला प्रतियोगितामा प्रेमबस्ती मावि कक्षा १० मा अध्ययनरत भरतपुर–७ की विद्यार्थी अनिशा खड्का पहिलो, बालकुमारी कन्या मावि कक्षा ९ मा अध्ययनरत भरतपुर–२ की विद्यार्थी सोनी गुप्ता दोस्रो र भानुभक्त माविमा अध्ययनरत भरतपुर–१का विद्यार्थी सन्दिप रानाभाट तेस्रो स्थान हासिल गर्न सफल भएको निर्णायक मण्डल अध्यक्ष प्रकाश थापाले घोषणा गरे ।
युथ क्लब नारायणगढका अध्यक्ष भगवानकुमार जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा बालकुमारी कन्या माविका प्रधानाध्यापक हेरम्बकुमार श्रेष्ठ (असीम) विशेष अतिथि रहेका थिए । युथ क्लब नारायणगढका पूर्वअध्यक्ष सुरेशकुमार श्रेष्ठ, उपाध्यक्ष रामबाबु श्रेष्ठ, कार्यक्रम अधिकृत रामचन्द्र आचार्यलगायतले बाल दिवसलाई बालबालिकाको क्षमता विकास र प्रतिभा प्रष्फुटन गर्ने कार्य गर्नुपर्ने कुरामा जोड दिए ।

Comments

About the author

चितवन पोष्ट