गृह » झमटा नाच देखाएर थारू सङ्ग्रहालयको लागि आर्थिक संकलन
समाचार समाज

झमटा नाच देखाएर थारू सङ्ग्रहालयको लागि आर्थिक संकलन

तुलमान गुरूङ
मेघौली । भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीमा रहेको थारू संग्रहालयको विकासको लागि एक लाख रूपैयाँभन्दा बढी आर्थिक संकलन भएको छ ।
थारू कल्याणकारिणी सभा क्षेत्र नंं. २ र ३ ले सोमबार पर्साढापमा आयोजना गरेका थारू महिलाहरूको सांस्कृतिक पर्व जितियाको अवसरमा आयोजित झमटा नाच प्रतियोगिता कार्यक्रमको अवसरमा विभिन्न दाताहरूबाट उक्त रकम संकलन भएको हो । कार्यक्रममा थारू सांस्कृतिक सङ्ग्रहालय मेघौलीका अध्यक्ष मायाराम चौधरीमार्फत सांसद उमेश श्रेष्ठले ५० हजार रूपैयाँ, डा मनोजकुमार चौधरीले ५६ हजार (सोमबार आयोजित कार्यक्रमको लागि ६ हजार रूपैयाँसहित) र थारू कल्याणकारणी सभा क्षेत्र नं. ३ का सभापति सोम महतोले दश हजार रूपैयाँ गरि एकलाख १० हजार रूपैयाँ रकम संकलन भएको हो ।
मेघौलीमा रहेको सङ्ग्रहालयमा संस्कृतिका लागि आवश्यक सामान राख्ने भवन भए पनि मञ्चसहितको ठूलो हल आवश्यक भएकोले उक्त हल निर्माण कार्य भइरहेको सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरीले बताए । यो हल सम्पन्न गर्नको लागि करिब ४२ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा हालसम्म ३२ लाख रूपैयाँ खर्च भइसकेको उनले बताए । बाँकी काम भने रकम अभावका कारण समयमा हुन नसकिएको उनको भनाइ छ । ‘मुख्य भवन त बनाइयो । तर, आवश्यक फर्निचर, विद्युत् वायरिङलगायतका काम गर्न बाँकी नै छ,’ उनले भने, ‘त्यसका लागि अझै १० लाख रूपैयाँ खर्च लाग्ने हामीले अनुमान गरेका छौँ ।’
‘हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ थारू संस्कृति संरक्षण र संवद्र्धनका लागि यो सङ्ग्रहालय स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सन्तबहादुर महतोले नेपालमा थारू मात्रै नभई धेरै आदिवासी जनजाति समुदायले आफ्नो भाषा, संस्कृति बिर्सँदै गएको भन्दै चिन्ता व्यक्त गरे । समय परिवर्तनसँगै पुरानो संस्कृतिमा पुस्ता हस्तान्तरण हुन नसक्दो यो समस्या निम्तिएको उनले बताए । अबका दिनमा आफ्नो जातीय पहिचान झल्किने भाषा, भेषभुषा तथा संस्कार संस्कृतिलाई संरक्षण गर्न उनले सुझाव दिए ।
यसैबीच सोमबार पर्साढापमा भएको झमटा नाच प्रतियोगितामा २६ वटा समूहले सहभागिता जनाएका थिए । प्रतियोगितात्मक कार्यक्रम भए पनि कार्यक्रममा सहभागी सबै समूहलाई पुरस्कृत गरिएको छ । झमटा नाच थारू समुदायमा प्रचलित नाच हो । हरेक वर्ष यहाँका थारू समुदायले जितिया पर्वको अवसरमा विभिन्न खालका प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक मञ्जु महतोले जानकारी दिइन् ।

Comments

About the author

चितवन पोष्ट