गृह » कंकाली वनको अध्यक्षमा अधिकारी निर्वाचित
राजनीति समाचार समाज

कंकाली वनको अध्यक्षमा अधिकारी निर्वाचित

रत्ननगर । चितवनको पहिलो सामुदायिक वन कंकाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा वेदबहादुर अधिकारी निर्वाचित भएका छन् ।
आइतबार राति सकिएको मतगणनाको अन्तिम परिणामबाट एमाले निकट अधिकारी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले अध्यक्षका प्रत्यासी एकराज डल्लाकोटीलाई १५८ मतको भारी अन्तरले पराजित गरे । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी तथा नेकपा एमाले र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस र माओवादी गठबन्धनबाट एकराज डल्लाकोटी र एमाले तथा राप्रपा गठबन्धनबाट वेदबहादुर अधिकारीको नेतृत्व चुनावी मैदानमा होमिएका थिए ।

अध्यक्षका प्रत्यासी डल्लाकोटी हालै सम्पन्न स्थानीय तह निर्वाचनमा खैरहनी नगरपालिकाको प्रमुख पदमा समेत पराजित भएका थिए । अध्यक्ष र सहसचिव एमाले राप्रपा गठबन्धनले जीत हात पार्दा अरु पदाधिकारी पद भने कांग्रेस माओवादी गठबन्धनले जितेको छ । माओवादीले कांग्रेससँग गठबन्धन गरे पनि निर्वाचित पदाधिकारी सबै कांग्रेस निकटका उपभोक्ता हुन् । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देवीप्रसाद न्यौपाने, उपाध्यक्षमा छविध्वज वुढाथोकी, सचिवमा मनु गुरुङ, कोषाध्यक्षमा भीमसेन खनाल र सहसचिवमा रामहरि अर्याल निर्वाचित भएका छन् ।

लेखा समितिमा कांग्रेस निकटकै नारद वरुवाल निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार ५७३ मत खसेको थियो । सदस्यका लागि भने पछि निर्वाचन प्रक्रियानै हुने निवर्तमान अध्यक्ष राममणि न्यौपानेले जानकारी दिए । पर्यटनको प्रचुर सम्भावना रहेको कंकाली सामुदायिक वन राजनीतिका कारण थिलो थिलो भएको थियो । कंकाली वनमा ऐतिहासिक कंकाली कोट मन्दिर, भ्यु टावरबाट जिल्लाको अवलोकन समेत गर्न पाइन्छ भने पिकनिकका लागि समेत उपयुक्त स्थान हो ।

Comments

About the author

चितवन पोष्ट