गृह » राष्ट्रिय ढुकुटीमा अर्को ब्रह्मलुट प्रमले बनाए ५४ जनाको सरकार
सम्पादकीय

राष्ट्रिय ढुकुटीमा अर्को ब्रह्मलुट प्रमले बनाए ५४ जनाको सरकार

नेपालको संविधान र विगतका सबै परम्पराहरुलाई तोड्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका चार जना मन्त्रीहरु थपेर कुशासनको नयाँ कीर्तिमान कायम गरेका छन् । गरिब देशका नेपाली जनताको शिरमा प्रतिव्यक्ति राष्ट्रिय ऋण रु. २४ हजार थोपरिएको वर्तमान अवस्थामा देउवाले आफ्नो कुर्सी बलियो बनाउन नियम, कानुन, परम्परा र नैतिकताका सबै पक्षहरुलाई बिर्सेर यस्तो धृष्टता गरेको हुन सक्छ । सहनशीलताको प्रतिमूर्तिको रुपमा परिचित नेपाली समाजको मानसिकता र मनोविज्ञान समेतलाई खिल्ली उडाउँदै उनले ५४ जनाको मन्त्रिमण्डल बनाएका हुन् । तर, यसपटक मिडिया र नेपाली जनताको धैर्यको बाँध टुटेको छ र उनीहरु खुलेरै यो सरकारको विरोधमा उत्रिइसकेका छन् ।
स्मरणीय छ, २०५२ सालमा पनि देउवाले आफ्नो कुर्सीको आयु लम्ब्याउन ५२ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । प्रधानमन्त्रीले नै जब संविधानको उल्लंघन गर्छन्, तब जनताबाट कानुनी शासनको पालना हुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ? कामै नभएका २३ जना राज्यमन्त्रीको लागि मात्र मासिक रु. ६ करोड ७२ लाख तलब भत्तामा खर्च हुनेछ । जनताले रगत पसिना चुहाएर जम्मा गरी तिरेको करबाट प्रम, मन्त्री र राज्यमन्त्रीहरुलाई आकर्षक तलब सुविधाको व्यवस्था गरिनु पनि दुर्भाग्यपूर्ण हो । देश र जनताको आर्थिक हैसियतभन्दा सयौँ गुणा बढी तलब खुवाएर यी सेता हात्तीहरु पाल्न नेपाली जनता अब बाध्य भएका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको जगमा टेकेर बनाइएको यो सरकारमा पछि फोरम लोकतान्त्रिकलाई पनि समावेश गराइयो । परिवर्तनका संवाहक शक्तिहरुको सरकारमा यथास्थितिवादी र प्रतिगमनका प्रतीकहरुलाई पनि सत्तामा सहभागी गराएर अब प्रम देउवाले के गर्न खोजेका होलान् भन्ने जिज्ञासा आम नेपालीहरुमा उत्पन्न भएको छ । नेपालका दुर्गम ग्रामीण बस्तीहरुमा आवश्यक उपचार नपाएर सुत्केरी आमाहरुको ज्यान गइरहेको स्थिति एकातिर छ भने स्वाथ्य संस्थाहरुमा ज्वरो आउँदा खाने गरिएको सिटामोलको समेत अभाव देखिएको छ । तर, सरकार हाँक्ने व्यक्ति भने आफ्नो कुर्ची कसरी बढीभन्दा बढी लम्व्याउन सकिन्छ भनेर जाने बुझेसम्मका सबै उपायहरु अर्थात् साम, दाम, दण्ड र भेदका शक्तिहरुको प्रयोग गरेर निजी सुख, सुविधा र पदीय लालसा पूरा गर्न प्रस्तुत भइरहेको यो एक प्रकारको देउवा सरकारको नाङ्गो नाच सिवाय अरु केही हुन सक्तैन ।

Comments

About the author

चितवन पोष्ट