गृह » माओवादी जनयुद्ध र ‘वार भेट्रान सर्टिफिकेट’
विचार

माओवादी जनयुद्ध र ‘वार भेट्रान सर्टिफिकेट’

–घनश्याम सुवेदी
माओवादी जनयुद्ध, युद्धमात्र थिएन, थियो त केवल मुक्ति र समानताको लडाइँ थियो । परिवर्तनको खातिर उठेका जुझारु राता मान्छेहरुले बगाएको राता रगत र त्यही रगतले सिर्जिएको जनमुक्ति सेना अनि माओवादी पार्टी जनताको सुरक्षा कवच थियो । हजारौँ सहिदले नेपाली जगतमा जनवाद, समाजवाद र साम्यवादको जाज्वल्यमान झण्डा फर्फराउन वीरताको इतिहास निर्माण गरेका थिए । परिवर्तनका खातिर ती राता मान्छेहरु बलिदानको भीमकाय लडाइँमा लड्दा आफ्नो व्यक्तिगत स्वार्थलाई पूर्ण तिलाञ्जली दिएर अथक रुपमा अनवरत लडेका थिए । त्यो लडाइँ वर्गीय लडाइँ थियो । पार्टी कार्यकर्ता, जनमुक्ति सेना, शुभेच्छुकहरुमा माओवादी पार्टी र युद्धप्रति आशा र समर्पणभाव थियो । नेतृत्वलाई प्रेरणाको स्रोत मान्दै नेतृत्व सुरक्षाको खातिर हर जोखिम मोल्न तयार थिए– माओवादी कार्यकर्ता पंक्ति । सांस्कृतिक रुपान्तरणको नयाँ संस्कृति, नयाँ विचार र नयाँ संस्कारले ओतप्रोत थियो– माओवादी जनयुद्ध ।
माओवादी समाज, जनवादी साहित्य र संस्कृतिको अनुशरण गर्दै साहित्य र संस्कृति पनि पार्टी र क्रान्तिको हितअनुकुल विकास क्रममा थियो । पार्टीमा आस्थावान्हरुको क्रान्तिबाहेक अरुथोक केही थिएन । माओवादी युद्धमा पठित–अपठित हजारौँ युवाको सहभागिता रहेको थियो । पढाई छाड्दै माओवादी युद्धमा सहभागी हुनेहरुलाई भविष्य अन्योलमा नपर्ने भन्दै पार्टीका जिम्मेवार नेता रामबहादुर थापा ‘बादल’ले भोलि पार्टीले वैज्ञानिक शिक्षा दिने, विशेष तालिमहरु प्रदान गर्ने र जनयुद्धमा सहभागी भई लडेका जोधाहा कमरेडहरुलाई ‘वार भेट्रान सर्टिफिकेट’ दिने वाचा गरेका थिए । तर, यो वार भेट्रान सर्टिफिकेट कुन चराको नाउँ हो माओवादी नेतृत्व नै बेखबर छ । बुर्जुवा शिक्षाको डिग्री भनेर झोला स्कुलमै छाडेर माओवादी युद्धमा होमिएकालाई हेडक्वाटरले प्रत्येक जनमुक्ति सेनाको हातमा वार भेट्रान सर्र्टििफकेट हुनेछ भनेको थियो । सेना समायोजनमा पनि सबै मिलाइन्छ भनेर आश्वासन दियो । तर, युद्धमा होमिएका हजारौँ लडाकुहरु जिल्लै र चिल्लै भए । अहिले तिनै युवा खाडी राष्ट्रमा थ्री डी पेसा गर्दैछन् । अर्थात् डेन्जरस, डर्टी र डिफिकल्ट काम गर्न बाध्य छन् ।
यहाँनेर एक दिवंगत कवि भूपी शेरचनको कविता अंश ‘हे सहिदहरु हो बाँचेर त हेर, यहाँ बाँच्न कति गाह्रो छ !’ भन्ने उद्गार माओवादी कार्यकर्ताको लागि स्मरणयोग्य छ । जो सहिद भए, उनीहरुले सहिदको उपमा पाएकै छन् । होलसेलमै भए पनि वर्षमा एक दिन माओवादी नामका झुण्डले सहिद सप्ताह, सहिद दिवश, जनयुद्ध दिवसलगायतका नामबाट स्मरण गर्ने गर्दछन् । सहिदका परिवारलाई दोसल्ला ओढाउँछन् । तर, माओवादी युद्धमा सहभागी बीसहजारभन्दा बढी कार्यकर्ताको आजको अवस्था पार्टीलाई अवगत भएर पनि वास्ता गरेका छैनन् । कार्यकर्ताको अवस्थाप्रति पार्टी नेतृत्व गम्भीर हुन सकेन । ती इमान्दार कार्यकर्ताले बिनास्वार्थ पार्टीप्रति जुन लगानी गरेका छन्, त्यही लगानीको बलमा आज मुठ्ठीभर नेताहरु राज्यमन्त्री भए, मन्त्री भए र प्रधानमन्त्रीसमेत भइसके । तर, पार्टी कार्यकर्ताको संरक्षण भएन । पार्टी नीतिको आमसमाजमा संप्रेषण हुन सकेन । आफ्ना कार्यकर्ताको संरक्षणमा जोड दिनुभन्दा, संगठनमा जोड दिनुभन्दा माओवादी नेतृत्व संविधान निर्माणमा बढी केन्द्रित भयो । तर, आफ्नै नेतृत्वमा गरेका कार्यहरुको राम्रो प्रचार हुन सकेन । जसका कारण माओवादी चुनावमा पराजय बेहोर्न पुग्यो ।
अब पार्टीमा रहेका अवसरवादीहरुको झुण्ड बोकेर, नवआगन्तुकहरुको झुण्ड बोकेर, त्यही बुर्जुवा शिक्षा पठित टाठाबाठाहरुको झुण्ड बोकेर माओवादी अगाडि बढिरहेको छ । पार्टीका आधारभूत सिद्धान्तहरु, माक्र्सवादको माओवादी पुँजी बिग्रेर माओवादी अब कहाँ पुग्ने ? आफ्नो आधारभूत पुँजी छाडेर, बुर्जुवा प्रतिस्पर्धाको होडमा जाँदा पार्टीका इमान्दार र आस्थावान् कार्यकर्ता पार्टी र पार्टी नीतिप्रति असन्तुष्ट छन् । कार्यकर्ता जनवादी क्रान्तिको बाटो हुँदै समाजवाद र साम्यवादमा पुग्ने माओवादी अभीष्टमा धोकाघडी गरेको आरोप लगाइरहेका छन् ।
कार्यकर्ताको पंक्ति राज्यको सेनामा जागिर खान लडेका थिएनन् । र, लडेका थिएनन् वार भेट्रान सर्टिफिकेट पाउन पनि । थिए त केवल लक्ष्य प्राप्तिको कम्युनिष्ट ध्येयका लागि । आज माओवादी पूर्व कार्यकर्ताले के पाए ? वार भेट्रान सर्टिफिकेट ? केवल पाए त द्ुःख पाए, समयको बर्बादी, अन्धकार भविष्य यही प्राप्तिको लडाइँ थिएन माओवादी जनयुद्ध, हो रणनीतिलाई सघाउने कार्यनीति माओवादीको नीति हो । तर, आजको कार्यनीतिले रणनीतिलाई कति सहयोग पु¥यायो त्यको गम्भीर विश्लेषण गर्नु जरूरी छ । यसमा माओवादीवृत्तमा बहसको थालनी हुनु जरूरी छ ।
नेतृत्व पंक्ति आमोवादी अभीष्टमा जोडिनु आवश्यक छ । जनताको सम्पर्कमा जानु अनिवार्य भैसकेको छ । अजम्बरी शहीदका सपनाहरुको धूलीसात बनाएर पार्टीको आधारभूत वर्ग छोडेर, रोप्पाली शहीदको आमाहरु छोडेर, माओवादी शहीदका आफन्तजनसँगैको सम्पर्क टुटाएर गरिब तथा जनसमूहसँगको सम्पर्क टुटाएर पार्टीले आफ्नो आधारशीला आफँैले भत्काउँदैछ ।
उकाली र ओरालीमा रहेका शहीदका स्मृतिमा निर्माण भएका चौतारीले सानोतिनो झरी अझै ओत्छ होला । माओवादी पार्टीले आफ्नो कार्यकर्ताको पंक्ति ओत्न सकिरहेको छैन । नेतृत्वले आफ्नो पार्टीमा लगानी गरेका भन्दा पुँजीपतिहरुलाई ओत्न थाले । पार्टी भनेर कसरी बस्नु माओवादीजनहरु ?
आज वीरताको इतिहासमा नाम लेखाउने रोल्पाली र रुकुमेली हुन् या देशका कुना काप्चामा शहीद परिवारको स्थिति के छ थाहा छ पार्टीलाई ? पार्टी र क्रान्ति नै सबथोक भन्ने इमान्दार कार्यकर्ताहरुको स्मरण छ पार्टी नेतृत्वलाई ? युद्धका क्रममा घाइतेहरु कति त अझै पनि शरीरमा बन्दुकका छर्राहरु बोकेर बाँचिरहेका छन् । पार्टीका पेशेवर कार्यकर्ताको लक्ष्य प्राप्ति नहुँदा आज जीविकोपार्जनका लागि अरबका राष्ट्रहरुमा कठिन जीवन गुजारा गर्न बाध्य भएका छन् । थाहा छ पार्टीलाई ?
हो अब असन्तुष्टहरुसँग कोअर्डिनेशन गरेर गाउँघरमै पलायन भएर बसिरहेकालाई माओवादी उद्देश्यमा समाहित गर्न ढिलाइ गर्नुहुँदैन । टुटफुटमा विभक्त भएका तमाम माओवादी शक्तिहरुलाई माओवादीको मुलधारमा जोड्न नेतृत्वदेखि कार्यकर्ता पंक्ति सबै एकजुट भएर लाग्नैपर्छ । तवमात्र हामी माओवादी एक भएको ठहर्ने छ । हाम्रो लडाइँले बुर्जुवा भए पनि गणतन्त्र, संघीयता, समानुपातिक, समावेशीजस्ता एजेन्डाहरु स्थापित भएका छन् । यो नै कार्यनीतिक माओवादी पुँजीहरु हुन् ।
यो पुँजीको संरक्षण गर्दै रणनीतिक उद्देश्य प्राप्तिको लागि नयाँ राजनीतिक कार्यदिशासहित माओवादी तागाधारीहरु एक हुनुको विकल्प छैन । संसदवादी कांग्रेसले वषौँदेखि प्रजातन्त्रको पिठो बेचिरहेको छ । एमालेले आफ्नो पालामा दिएको वृद्धाभत्ता र खोक्रो राष्ट्रवाद अलापेर पिठो नै बेचिरहेको छ । बिक्री पनि भैरहेको छ । माओवादीले आफ्नो आधारभूत कुराहरु नछोडी आफ्नै एजेन्डालाई कार्यनीति बनाउन सक्नुपर्छ । गणतन्त्र, संघीयता, समावेशीता हाम्रै लडाइँका उपज हुन् । यी उपलब्धि बासमति चामलबराबर छन् । जनसमूहमा अवगत गराउन नसक्दा अरुले नै फाइदा उठाइरहेका छन् ।
अबको राजनीतिक कार्यदिशा
२०५२ सालमा जनयुद्धको कार्यदिशा लिएर हिँडेको माओवादीले २४० वर्षीय सामन्ती राजतन्त्रात्मक व्यवस्थाको समुल अन्त्य गरेको छ । मुलुकमा गणतन्त्रात्मक व्यवस्था स्वीकार्न संसदीय दलहरुलाई माओवादी आन्दोलनले बाध्य बनाएको छ । सामन्ती व्यवस्थासँगै सामन्ती भू–स्वामित्वको अन्त्य गर्नुपर्ने हो । प्रथम कार्य सम्पन्न भइसकेको छ । दोस्रो कार्य सामन्ती भू–स्वामित्वको अन्त्य हो । अब दोस्रो कार्यदिशातर्फ माओवादी अभियान जोडिनु आवश्यक छ । इमान्दार भएर बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रसँगै जोड्नु माओवादीको तेस्रो कार्य हो । इमान्दार भएर पार्टीले आफ्नो सही कार्यदिशा लिने हो भने जनताले पार्टीलाई विश्वासको मत दिने छन् । चिराचिरामा विभाजित भएकाहरु माओवादी केन्द्रमा नै एकाकार हुनेछन् । नेतृत्वले आँट गर्नुप¥यो । परिवर्तनको नेतृत्व गर्नुप¥यो । जनता तथा कार्यकर्ता साथ दिन तयार छन् । जनगणतन्त्रात्मक राज्यव्यवस्थाका लागि नयाँ आधारमा नयाँ एकता अबको राजनीतिक कार्यदिशा हो ।

Comments

About the author

चितवन पोष्ट