गृह » अबचाहिँ भद्दा राजनीति त्याग्नुस् डाक्टर सा’ब !
विचार

अबचाहिँ भद्दा राजनीति त्याग्नुस् डाक्टर सा’ब !

रामचन्द्र भट्ट
डाक्टर सा’ब तपाईंलाई फेरि पनि बधाई । म लुकिछिपी होइन, गर्वसाथ भन्छु । भन्नेमात्र होइन सार्वजनिक सञ्चारमाध्यमबाटै लेख्दैछु– तपाईंलाई मैले यसपटक भोट दिइनँ । भोट नदिए पनि बधाई दिने हक मलाई छ । त्यसले तपाईंलाई ‘हार्दिक बधाई ।’
दुई वर्षअघि जतिखेर म ओक्लाहोमामा थिएँ । तपाईंको नाम थोरै सुनेकै भरमा पनि मैले भोट दिएको थिएँ । किनकि नेपालदेखि अमेरिका आएर यो अवसरको भूमिमा प्रगति गर्नेमध्ये तपाईं औँलामा गन्न सकिनेमा पर्नुहुन्छ । त्यही भएर मैले तपाईंका बारेमा धेरै नसुने पनि र नजाने पनि त्यतिखेर मैले भोट दिएँ ।
मैले यसपटक तपाईंलाई भोट दिइनँ । किनकि, तपाईंले दुईवर्षे कार्यकाल पूरा गरिसक्नुभयो । तपाईंको परीक्षण भैसक्यो । तपाईंसँग जति क्षमता, बौद्धिकता, सीप छ त्यो भएजति सबै दुई वर्षको अवधिमा एनआरएन अमेरिकालाई दिइसक्नुभएको छ ।
मलाई राम्रोसँग थाहा छ– यो दुई वर्षको अवधिमा तपाईंले शायद कुनै सप्ताहन्त आफ्नो परिवारसँग बिताउनुभएन । कहिले टेक्सास, कहिले न्यूयोर्क, कहिले लसएन्जलस त कहिले सिकागो गर्दै तपाईंका धेरै सप्ताहन्तहरु बिते । तपाईंको क्षमताको एनआरएन अमेरिकाले भरपुर प्रयोग गरिसकेकाले यसपटक मैले नयाँलाई मौका दिनु उचित ठानेँ ।
मैले भोट नदिए पनि तपाईं फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । ४ हजार दुईसय मतभन्दा बढी ल्याएर तपाईं विजयी हुनुभएको छ । मैले मत नदिए पनि तपाईं अब म र मजस्तै अमेरिकामा रहेका आमनेपाली समुदायको अध्यक्ष हो । त्यसैले फेरि पनि बधाई !
डाक्टर सा’ब, तपाईंले चुनाव त जित्नुभयो । तर, एनआरएनलाई तपाईं र तपाईंको कार्यसमितिले निकै भद्दा र गिरेको संस्थाका रुपमा पु¥याएको छ । मसँग धेरै तथ्य र उदाहरणहरु छन् । एउटामात्र उदाहरण यहाँ दिन्छु । मेरा एक आफन्त १५ वर्षदेखि अमेरिकामा हुनुहुन्छ । उहाँहरुले यहाँको नागरिकता लिएको पनि १० वर्ष भैसक्यो । उहाँहरुसँग नेपाली दूतावासले प्रदान गर्ने एनआरएन परिचयपत्र पनि छ । जुन लिन पाँचसय डलर तिर्नुपर्छ ।
तर, उहाँहरु एनआरएन अमेरिकाको सदस्य हुनुहुन्न । अघिल्लो पटकको चुनावमा उहाँहरु सदस्य भएर भोट हाल्नुभयो । तर, यसपटक उहाँहरुले सदस्यता नै लिनुभएन । एनआरएनभित्रको भद्दा राजनीतिले गर्दा उहाँहरुले यो संस्थाप्रति चासो दिनुभएन । मसँग पनि एनआरएनको सदस्यता किन लिने भनेर उहाँहरुलाई कन्भिन्स गर्ने आधार थिएन । किनकि त्यो आधार तपाईंहरुले दिनुभएकै छैन ।
म यतिखेर खोजी गर्दैछु । हरेक सप्ताहन्तमा तपाईं र तपाईंका निवर्तमान टिमका पदाधिकारीहरु हरेक सप्ताहन्त सुटकेश गुडाएर अमेरिकाका एअरपोर्टहरुमा पुग्नु त भयो । तर, देखिने कामचाहिँ किन हुन सकेन ? किन एनआरएनप्रति अमेरिकामा रहेका आमनेपालीहरुमा चासो जाग्न सकेन ? योचाहिँ अति नै रहस्यको विषय भएको छ ।
डा पौडेल, अमेरिकामा आएर मेडिकल शिक्षा लिएको, बोल्नमा पनि मिठास भएको, सबैसँग त्यतिकै घुलमिल हुनसक्ने तपाईंका सकारात्मक पक्षहरु हुन् । त्यसका अतिरिक्त नेपालका नेताहरुसँग सुमधुर सम्बन्ध, यहाँ अमेरिकामा रहेका हरेक संघसंस्थाका कार्यक्रममा पुग्नु पनि तपाईंका अर्को सकारात्मक पाटो हो । तपाईजस्तो व्यक्ति नेतृत्वमा फेरि दोहो¥याउने इच्छा राख्दा सबैले बाटो खुल्ला गरेर स्वागत गर्नुपर्ने थियो । तर, किन त्यो वातावरण हुन र बन्न सकेन ? त्यसको शायद तपाईंले आत्म समीक्षा कहिल्यै गर्नुभएन र गर्न उचित पनि ठान्नुभएन ।
तपाईंसँग रहेर सँगै काम गर्नुभएका पाँचैजना उपाध्यक्षहरु तपाईंका प्रतिद्वन्द्वी भएर निस्किए । अनि नेपालमा रहेको एउटा व्यवसायको पार्टनर गौरी जोशी पनि तपाईंको प्रतिस्पर्धी भए । भलै एक उपाध्यक्ष र जोशीलाई तपाईंले नेपालदेखिको ठूलै शक्ति लगाएर सम्हाल्न त सक्नुभयो । तर, अरुलाई सम्झाउने मामिलामा असफल हुनुभयो ।
तपाईंले जित्नु भयो । जोशीले मैदान खाली गरिदिनासाथ तपाईंको विजय सुनिश्चितजस्तै थियो । किनकि जोशी पक्षको मत तपाईंलाई जाने सहमति भएको भन्ने अपुष्ट हल्लाहरु त्यो सहमतिसँगै आइसकेको थियो । जुन हल्लालाई तपाईं चुनावको दिनदेखि ड्यालसमा आएर बस्नुले पनि पुष्टि गरेको छ ।
निर्वाचन आयोगले विजयको पुष्टि गरिसकेको छ । तर, त्यो पुष्टि गरिरहन आवश्यक थिएन । अहिल्यै घोषणा भए पनि डा केशव पौडेल र भरे, भोलि, पर्सी जहिले घोषणा गरे पनि डा पौडेल नै हो एनआरएनको २०१७÷२०१९ को अध्यक्ष ।
अबको बाटो डा पौडेललाई काँधमा राखेर हिँड्ने एकजनाले केही दिनअघि सामाजिक सञ्जालमा लेखेका थिए– ‘एनआरएन अमेरिकाको चुनावमा नेपाली कांग्रेसका साथीहरुलाई मात्र मतदान गरौँ ।’ ती मित्रले भनेजस्तै परिणाम देखिएको छ एनआरएन अमेरिकामा । अधिकांश पदमा नेपाली कांग्रेस निकट नै विजयी भएका छन् । प्रवासी मञ्चसँग निकटता राख्ने केही व्यक्तिबाहेक अधिकांश नेपाली कांग्रेस निकट विजयी भएका छन् ।
प्रवासी मञ्चलाई पत्तासाफ गर्नका लागि गत वर्ष स्थगित गरिएको एउटा मेलासम्बन्धी घटनालाई लिएर मसान उतार्ने प्रयास नभएको होइन । जुन घटनामा मञ्चका तत्कालीन अध्यक्ष रहेका सञ्जय थापालाई मुख्य दोषी देखाएर उनलाई एनआरएनबाटै पत्तासाफ गर्ने रणनीति लिइएको थियो ।
यस हिसाबले अघि बढ्दै गयो भने अमेरिकामा एनआरएनको भूमिका जनसम्पर्क समितिजस्तै नहोला भन्न सकिन्न । एनआरएन अमेरिकालाई छाया जनसम्पर्क समिति बनाउने कि साँचोरुपमा संस्थाको मर्मअनुसार चलाउने भन्ने मह¤वपूर्ण जिम्मेवारी अब डा पौडेलकै काँधमा आएको छ । यदि जनसम्पर्क समिति झैँ बनाइयो भने यसपटक तपाईं र तपाईंजस्तै उम्मेदवारले ‘स्पोन्सर’ गरेका भरमा १५ हजार सदस्य देखिए । तर, अर्कोपटक पाँचहजार सदस्य हुँदा गर्व मान्ने अवस्था आउन पनि सक्छ ।
यो चुनावले डा पौडेललाई ‘राजनीतिको खेलाडी’ त पक्कै बनाएको छ । किनकि, अन्तिमसम्म पनि बलिया उम्मेदवार गौरी जोशीलाई डा पौडेलले थचक्कमात्र बसाएनन् कि जोशी पक्षका भनिएका भोटसमेत आफ्नो पक्षमा पार्न सफल भए । तर, जोशीको पनि पहिले चर्चा गरिएअनुसारको मत यो परिणामले देखाएन । जोशीलाई जाने भनिएका मतहरु अन्तिममा चारैतिर बाँडियो ।
यही चुनावले जनसम्पर्क समिति अमेरिकामा नराम्रोसँग चिरा पनि परेको छ । जनसम्पर्कले आधिकारिक भनिएका उम्मेदवार कृष्ण पोखरेलको सबैभन्दा कम भोट आउनुले जनसम्पर्क समितिको संस्थापन पक्ष कति कमजोर अवस्थामा रहेछ भन्ने पुष्टिसमेत भएको छ ।
भनिन्छ, चुनाव भनेको साम, दाम, दण्ड र भेदको खेल हो र चुनाव जित्न यी सबै अस्त्र अपनाउन सक्नुपर्छ । डा पौडेलले यी सबै नीतिलाई अपनाए । सदस्यहरुको नामावलीलाई काटेर हुन्छ कि, अरुलाई उम्मेदवार हुनबाट रोकेर हुन्छ । पौडेलले चुनाव सोचेभन्दा पनि सजिलोसँग फेरि जितेका छन् ।
एनआरएन अमेरिकाको नेतृत्वयात्रा पहिलेजस्तो सहज पक्कै हुनेछैन । एनआरएनलाई कुनै दल विशेषको भातृसंस्थाका रुपमा भन्दा साझा संस्थाको रुपमा यो चिनियोस् । अमेरिकाका ठाउँठाउँमा खुलेका नेपाली संस्थाहरुभन्दा एनआरएन कमजोर हुनुहुँदैन । तर, अहिले म दाबीका साथ भन्नसक्छु– नेपाली समाज टेक्सासभन्दा पनि एनआरएन अमेरिका कमजोर छ ।
नेपाली समाज टेक्ससले जति पनि नेपाली समुदायका लागि एनआरएनले काम गर्न सकेको छैन । एनआरएनको चुनावमा सबैभन्दा बढी मत ल्याएर जित्ने टेक्ससकै किन परे भने उहाँहरुले यहाँको समुदायका लागि एनआरएनभन्दा ज्यादा काम गर्नुभएको छ ।
अन्त्यमा, डाक्टर सा’ब, तपाईंले एनआरएन अमेरिकाको अध्यक्ष दोहो¥याउनका लागि देखाउनुभएको भद्दा र लाजमर्दो राजनीतिचाहिँ त्याग्नुहोला । यो त्याग्नसक्नुभयो भने तपाईंका लागि आईसीसीको यात्रासमेत सहज र सरल हुनेछ । अन्यथा यतैतिर ठेस लागेर लड्नुहुनेछ ।

Comments

About the author

चितवन पोष्ट