गृह » शीर्ष नेता चितवनबाट उठ्नु मनासिब, ‘एकमा सुरेन्द्र, दुईमा रामचन्द्र, तीनमा प्रचण्ड उठ्नुपर्छ’
प्रमुख समाचार

शीर्ष नेता चितवनबाट उठ्नु मनासिब, ‘एकमा सुरेन्द्र, दुईमा रामचन्द्र, तीनमा प्रचण्ड उठ्नुपर्छ’

किशोर खनाल
भरतपुर । शीर्ष नेता पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट उठ्ने घोषणा गरिसकेका छन् । अर्का शीर्ष एमाले नेता पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको रोजाइ पनि चितवन हो । संविधान सभाका चुनावमा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला पनि चितवनबाट उठेका थिए ।
जिल्लास्तरका राजनीतिक विश्लेषक तथा व्यवसायीहरुले यसरी एकपछि अर्को शीर्ष नेताले चितवनलाई रोजेर उठ्ने प्र्रतिबद्धता गरिनुलाई मनासिब भनेका छन् । उनीहरुले जुनसुकै पार्टीका शीर्ष नेताले चितवनलाई रोज्नु जायज र स्वागतयोग्य भएको बताए ।
राजनीतिक विश्लेषक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवनलाई राजनीति थलो बनाएर शीर्ष नेता यहाँबाट उठ्ने चाहना देखाउनु अत्यन्तै मनासिब भएको बताए । उनले भने, ‘चितवनबाट पुष्पकमल दाहाल उठ्ने निश्चित भयो, सुरेन्द्र पाण्डे पनि उठ्ने यही
जिल्ला हो । जुनसुकै पार्टीका शीर्ष नेताको रोजाइमा चितवन पर्नु गर्वको कुरा हो ।’
पूर्वप्रधानमन्त्री दाहालले चितवनबाट उठ्ने घोषणा गरे पनि यही क्षेत्रबाट उठ्ने भन्ने खुलाएका छैनन् । उनी चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने सम्भावना बढी छ । त्यस्तै उठेदेखि पूर्वअर्थमन्त्रीको सुरेन्द्र पाण्डेको रोजाइ चितवन क्षेत्र नम्बर १ हुन्छ ।
‘शीर्ष नेताको रोजाइमा चितवन नपरेर पछाडि परेको हो, अब रोजाइ बन्दै गएको छ’ राजनीतिक विश्लेषक अधिकारीले भने, ‘म त अझ एकबाट सुरेन्द्र पाण्डे, दुईबाट रामचन्द्र पौडेल र तीनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्नुपर्छ भन्छु ।’ उनले शीर्ष नेताका रोजाइमा चितवन परे यो जिल्लाको विकास तीव्र रुपमा अगाडि बढ्ने बताए ।
‘बुटवलमा एमालेका शीर्ष नेता विष्णु पौडलले अर्बौ बजेट पारेर कायापलट पारेका छन् । नुवाकोटमा रामशरण महतलगायतका शीर्ष नेताले विकास गरेर जहाँसुकै भित्री सडक पनि कालोपत्रे गरेका छन् । झापामा एमाले अध्यक्ष केपी ओलीले चिनियाँ लगानी भित्र्याएर औद्योगिक क्षेत्रलाई अर्बौं बजेट पारेका छन्’ राजनीतिक विश्लेषक अधिकारीले भने, ‘चितवनले शीर्ष नेता नपाएर पछाडि परेको हो । चितवनले सुरेन्द्र पाण्डे, पुष्पकमल दाहालजस्ता नेता पाइरहनुपर्छ ।’
एकपटक चितवनले नेपाली कांग्रेसबाट पूर्वप्रधानमन्त्री सुशील कोइरालाजस्ता शीर्ष नेता पाएको थियो, तर उहाँ धेरै समय हामीमाझ रहन नसक्नु भएकाले यहाँको विकास अगाडि बढ्न नसकेको उनको बुझाइ छ ।
‘चितवनबाट जितेर गएपछि सुशील कोइराला धेरै समय बाँच्नु भएन, सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा धेरै नै बजेट पार्नुभएको हो । प्रचण्डले प्रधानमन्त्री हुँदा चितवन प्याकेज घोषणा गरी २ अर्बभन्दा बढी बजेट पार्नुभयो’ उनले भने, ‘शीर्ष नेता उठेपछि केही न केही हुन्छ, उहाँहरुले केही गर्नैपर्छ । जुनसुकै पार्टीका शीर्ष नेताको रोजाइमा चितवन पर्नुपर्छ ।’
चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मित्रराज दवाडी जुनसुकै पार्टीका शीर्ष नेता चितवनमा आउनु सकारात्मक रहेको बताए । उनले भने, ‘राष्ट्रलाई नेतृत्व गर्न सक्ने व्यक्ति पाउनु गर्वको कुरा हो । हिजो पनि सुशील कोइराला पाएका थियौँ, आज पुष्पकमल दाहाल पाउँदैछौँ । यो त खुसीको विषय हो ।’
हिजो पहुँच नपुग्दा चितवन पछाडि परेको थियो, अब शीर्ष नेता चितवनमा आएर उठ्दा पहुँच पुग्ने र चितवन अगाडि बढ्ने दवाडीको भनाइ थियो ।
त्यस्तै, चितवनका उद्योगी तीलचन्द्र भट्टराईले जुनसुकै शीर्ष नेताले चितवनलाई रोज्नु राम्रो विषय भएको बताए । उनले भने, ‘शीर्ष नेता चितवन आउनु राम्रो हो, तर यस ठाउँलाई प्रयोग थलो बनाएर मात्र जानुहुन्छ भने त्यो राम्रो होइन ।’ उनले प्रमुख दलका प्रमुख नेताहरु आउँछन् भने स्वागतयोग्य गर्नुपर्ने बताए । उनले भने, ‘एमालेका शीर्ष नेता आऊन्, कांग्रेसका पनि आऊन् सबै शीर्ष नेतालाई चितवनवासीले स्वागत गर्नुपर्छ ।’

Comments

About the author

चितवन पोष्ट