गृह » पुस्तकालयको मह¤व र समाजमा यसको भूमिका
विचार

पुस्तकालयको मह¤व र समाजमा यसको भूमिका

– महेन्द्रप्रसाद अधिकारी
पृष्ठभूमि :
पुस्तकालय शब्द पुस्तक र आलय (घर) दुई पद मिलेर बनेको शब्द हो, जसको सामान्य अर्थ पुस्तकहरु संग्रह गरी राखिएको घर भन्ने हुन्छ । जुनसुकै विधि वा प्रकृयाबाट पुस्तकालयमा प्राप्त भएका खरिद तथा उपहारस्वरुपका पाठ्यपुस्तक, पत्रपत्रिका, जर्नल, अनुसन्धानमूलक लेखरचनाहरु, थेसिस, पर्चा श्रव्य तथा दृश्य (अडियो÷भिडियो ) जस्ता आदि पाठ्यसामग्रीहरुलाई पाठकले चाहेको बेलामा तुरून्त दिन सकिने गरी व्यवस्थित तरिकावाट मिलाएर राखिने कोठा, घर वा अफिसलाई पुस्तकालय भनिन्छ ।
हाल आएर पुस्तकालयबाट हुनेगरेका सेवा तथा गतिविधिहरु र पुस्तकबाट पाइने ज्ञानका सामग्रीहरुलाई हिजोआजका पुस्तक भन्नाले इन्टरनेट र इन्टरनेटसहितको कम्प्युटरहरु राखिएको कार्यलयलाइ ई–पुस्तकालय वा ई–लाइब्रेरी भन्न सकिने गरी पुस्तकालयको परिभाषाको विकास भैसकेको वर्तमान अवस्थामा पुस्तकालयले सूचनाको पहुँच, शैक्षिक सामग्रीहरुको उपलब्धता, विज्ञान र प्रविधिको सर्वव्यापकतालाई सबैको पहुँचसम्म पु¥याउन उल्लेख्य भूमिका निर्वाह गर्छ र गरिरहेको छ । साँच्चै भन्ने हो भने पुस्तकालय शिक्षा आर्जन गर्ने अनौपचारिक स्रोतकेन्द्र हो, अनि विज्ञान र प्रविधिको पवित्र थलो भनेर चिनिन्छ ।
यस अवसरमा “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमुना पुस्तकालय” को नारासहित गत हप्ता भाद्र १५ मा देशभर दसौँ पुस्तकालय दिवस मनाइएको छ । हाम्रा पुस्तकालयहरुमा हाम्रै कर्मचारी, कार्यालय प्रमुख, निकाय प्रमुख आदिवाट पुस्तकालय प्रशासन र पुस्तकालय सेवा सञ्चालनमा हुनेगरेका केही कमीकमजोरीहरु भए सच्याउनका लागि पुनः स्मरण गराउँदै पाठकको सेवा, पुस्तकालय सामग्री, दक्ष जनशक्तिजस्ता पुस्तकालय विकासको विषयसँग सम्बन्धित रहेर एकअर्कामा भएको ज्ञान, सीप र प्रविधिका बारेमा प्रकाश पार्दै पहुँच नभएकाहरुलाई पनि हौसला हुने गरी ज्ञानको उज्यालो ज्योति छर्ने शुभ समयका लागिसमेत पुस्तकालय हो भन्न सकिन्छ ।
यसको उद्देश्य :
नेपालमा औपचारिक रुपमा विसं १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रुपमा स्मरण गर्दै पुस्तकालय तथा सूचना विज्ञानका क्षेत्रमा भएका गतिविधिहरु एवम् पुस्तकालयको आवश्यकता, पाठ्यसामाग्रीको संकलन, पुस्तकालय नियम, कानुन, पाठक तथा कर्मचारी सेवा र सुविधाबारे जानकारी गराउने, देशभरमा “एक स्थानीय तह एक नमुना पुस्तकालय” पुस्तकालयको स्थापना, संरक्षण र विकासमा सहयोग पु¥याउने, ज्ञान र सूचनाको पहुँच वृद्धि गर्ने, नागरिकहरुमा अध्ययन संस्कृतिको विकास गर्नुका साथै सूचना एवम् ज्ञानमा आधारित सभ्य समाज निर्माणमा सहयोग पु¥याउनेजस्ता विविध उद्देश्यका साथ नेपालमा विसं २०६५ देखि भाद्र १५ लाई ‘पुस्तकालय दिवस’ का रुपमा मनाउन सुरू गरिएको हो ।
पुस्तकालय दिवसलाई युवा पिँढीबीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न प्रणय दिवसमा प्रेमीप्रेमिकाबीच गुलाबको फूल आदानप्रदान गरेजस्तै पुस्तकालय दिवसमा कम्तीमा एउटा मन परेको पुस्तक किन्ने, अध्ययन गर्ने र आपसमा सकारात्मक अनुभवहरु आदानप्रदान गर्नुका साथै उक्त पुस्तक प्रेमपूर्वक प्रेमीप्रेमिका, साथी–साथी, शिक्षक–विद्यार्थी, लेखक–लेखक र लेखक–पाठकबीच साटासाट गर्ने र आफूले लेखेका, प्रकाशन गरेका वा किनेका नयाँ पुस्तक पुस्तकालयलाई उपहार दिने नवीन संस्कृतिको विकास गर्न, समयसापेक्ष आधुनिक पुस्तकालय (ई–लाइब्रेरी) को विकास तथा यसको प्रयोग विधिसहित हरेक स्थानीय तहमा कम्तीमा एक पुस्तकालय रहनु सान्दर्भिक ठहर्छ ।
कुनै कुनै निजी तथा सरकारी क्याम्पस, कार्यालयहरुमा सेवासुविधाको ख्याल नगरी नाममात्रको पुस्तकालयका रुपमा स्थापना गर्ने र यसको नाममा रकम मात्र असुल गर्ने, एउटा कोठामा साइनबोर्ड झुन्ड्याइदिने गर्ने गरेका पनि देखिन्छन् भने कतिपयमा पुस्तकालय भए पनि ठिकै हुन्छ र नभए पनि हुन्छ जस्तो गरिदिने र यदि छ भने पनि खुले पनि ठिकै छ र नखुले पनि किन खुलेन ? भनेर चासो नराख्ने कार्यालय प्रमुखहरु पनि भेटिन्छन् । अन्य कुनै शाखामा वा कहीँकतै आर्थिक पक्षसँग गाँसिएका विभागहरु, जस्तै कुनै कर्मचारी बिदामा बस्दा वा परीक्षा सञ्चालन गर्दा वा फर्म भराउन पर्दा वा विद्यार्थीको भर्ना गर्दा कर्मचारीको खाँचो परेमा पुस्तकालय नै बन्द गरी कर्मचारी खटाउने वा पठाउने परम्पराका साथै अन्य कुनै पनि शाखामा काम गर्न सक्षम नभएका वा काम गर्न नसक्ने अवस्थामा पुगेका वा राजनीतिक पहुँच भएका जसलाई काम गराउन नसक्ने अवस्थामा रहेका वा आचरण ठीक नभएका कर्मचारीहरु पुस्तकालय शाखा वा विभागमा राख्ने, पठाउने वा खटाउने परम्पराको विकास नरोकिएसम्म पुस्तकालयको विकास नहुने भएकाले आधुनिक भन्ने क्याम्पस र कार्यालयहरु पनि भेटिन्छन् । पुस्तकालय प्रशासन र पुस्तकालय सेवासुविधा भनेको के हो ? यससँग सम्बन्धित र सरोकार पक्ष को को हुन् ? पुस्तकालयलाई सञ्चालन गर्ने तरिका, हेर्ने र बुझ्ने दृष्टिकोण र पुस्तकालयको भविष्य कतिपय कार्यालय प्रमुखहरु र त्यसका आधिकारिक व्यक्ति वा पदाधिकारीमा पनि भर पर्ने विषय हँुदोरहेछ ।
नेपालमा पुस्तकालयको विकासका लागि जति पनि सेमिनार, सभा, सम्मेलन तथा पुस्तकालयसँग सम्बन्धित कार्यक्रमहरु हुनेगरेका देखिन्छन्, ती कार्यक्रमहरुमा पुस्तकालय प्रमुख वा पुस्तकालय कर्मचारी मात्र सहभागी नभएर कार्यालय प्रमुख र पुस्तकालय प्रमुख तथा पुस्तकालयका कर्मचारीहरुलाई सँगै सहभागी नगराउँदासम्म पुस्तकालयको समस्या र मर्का यथार्थमा बुझ्न र बुझाउन अथवा व्यवहारमा उतार्न कठिन रहेको वर्तमान अवस्थामा नेपाल सरकारको शिक्षा मन्त्रालयसँग सम्बन्धित मन्त्री, सचिव, योजनाविद्, विश्वविद्यालय सभाका पदाधिकारी, काननुविद्हरुवाट ऐन र नियम बनाउने, समयमा नै कार्यालय प्रमुखलाई समेत समेट्ने गरी पुस्तकालय के हो ? यसको मह¤व कति छ ? यसका फाइदा तथा बेफाइदाहरु र यसको अभावमा वा यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा उत्पन्न हुने असरहरु, यसबाट प्राप्त हुने राम्रा र नराम्रा प्रतिफलहरुका बारेमा स्पष्ट जानकारी हुन र गराउन जरूरी देखिन्छ ।
पुस्तकालयको सेवासुविधा तथा विकासमा देखिएका र हुनेगरेका कमीकमजोरीहरुलाई कहाँ केकस्ता समस्याहरु छन् ? केकसरी विकास गर्न सकिन्छ ? भनेर सुधार गर्दै जानका लागि सुझावसहित सम्बन्धित व्यक्ति र निकायबीच जिल्लास्तरमा रहेका पुस्तकालयका प्रतिनिधिहरुबीच भेला तथा छलफल गराउनु नै यसको मुख्य उद्देश्य हो । जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । हरेक वर्ष भाद्र १५ को दिनलाई पुस्तकालय दिवस भनेर यसलाई केवल नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक तथा प्रकाशक नीति निर्माता, राजनीतिक दलका नेता, बुद्धिजीवीलगायत आमनागरिकहरुले आदरपूर्वक सम्झने दिनका रुपमा स्थापित गराउनुपर्छ । पुस्तकालय दिवसको सेरोफेरोमा हामी पुस्तकालयकर्मीहरु, पुस्तकालयका संरक्षकहरु, पुस्तकालय विकास समितिमा रहने पदाधिकारीहरु समयले प्रदान गरेको यस ऐतिहासिक जिम्मेवारीप्रति सबै मिलेर सुधार गर्ने प्रण गर्न जरूरी छ ।
यसैगरी, पुस्तकालयको आफ्नो छुट्टै भवन र इन्टरनेट जडानको व्यवस्था रहेको भएता पनि हाम्रोे यस वीरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालयमा नेपाल कलेक्सन, रेफेरेन्स सेक्सन, लेनदेन सेवा तथा थेसिस सेवा सञ्चालन गर्न असहज अवस्थाको सिर्जना भैरहेको वर्तमान परिस्थितिमा करिब ४६,००० खरिद पुस्तक, ३,००० उपहारस्वरुपका पुस्तकहरु र ३,००० थेसिसजस्ता सामग्रीहरुको लिव्रा लाइबे्ररी डिजिटल सफ्टवेयरमार्फत करिव ३,५०० विद्यार्थी, ३०० शिक्षक र ५० कर्मचारीहरुलाई सेवा दिइरहेका छौँ । विहान तथा दिवा दुवै सत्रमा पठनपाठन सञ्चालन हुने यस पुस्तकालयमा हाल कार्यरत प्राविधिक कर्मचारीको अभावमा पुस्तकहरुलाई राम्रोसँग व्यवस्थित गर्न सकिएको छैन । यसै वर्षदेखि इन्टरनेटको सहायतामा थेसिसहरुलाई पनि अनलाइन गर्न सकिने व्यवस्था मिलाइएको छ । दक्ष जनशक्तिको अभावमा पुस्तकालयको रेफ्रेन्स शाखा, ई–लाइब्रेरी, नेपाल कलेक्सनजस्ता सेवाहरु बन्दै भइसकेका छन् । दक्ष प्राविधिक कर्मचारीको अभावले पुस्तकालयको स्टक रूममा विषयगत बुक व्यवस्थापन, बाँकी बक्यौता रेकर्ड, स्टक भेरिफिकेसन कार्य, पुस्तक धुल्याउने कार्यलगायत अन्य सेवालाई चुस्त र दुरूस्त पार्न नसकिएकाले क्याम्पसको समस्याका बारेमा पटकपटक क्याम्पसप्रमुखलाई, क्याम्पसप्रमुखमार्फत त्रिवि पदाधिकारीहरुसँग गुनासो राख्दा कुनै प्रतिकृया नआएपछि त्रिवि केन्द्रीय पुस्तकालय प्रमुख श्री इन्द्रप्रसाद अधिकारीज्यूलाई अवगत गराउँदा पनि समस्या समाधान हुने कुनै उपाय अथवा सुझावबिना नै फर्कन बाध्य हुनुपरेपछि केही त गर्नैप¥यो भन्ने भावनाले यस्तै अवस्था रहिरहेमा विभिन्न विषयगत विभागका विद्यार्थीहरुलाई भोलेन्टियर सेवामा संलग्न गराएर भए पनि पाठकहरुलाई सेवा प्रदान गर्ने सोच वनाइएको छ । यसको विकासका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षको ध्यान जानु जरूरी छ ।
आवश्यकता र उपयोगिता :
सामाजिक, राजनीतिक, शैक्षिक र प्रशासनिकजस्ता क्षेत्रहरुमा ज्ञान र सूचनामा आधारित शिक्षित, सभ्य, सुसंस्कृत एवम् समृद्ध समाज निर्माण गर्न सहरदेखि गाउँगाउँ र हरेक स्थानीय तहका कार्यालयमा वा विद्यालयमा बालबालिकादेखि युवा, वृद्ध अनि शारीरिक रुपमा अशक्त, दृष्टिविहीन तथा श्रवणविहीन आदि सबै प्रकारका पाठकहरुका लागि मैत्रीपूर्ण एवम् विविध पाठ्य, श्रव्य, श्रव्य÷दृश्य र विद्युतीय सूचना सामग्रीहरुले सुसज्जित आधुनिक पुस्तकालय वर्तमानको आवश्यकता हो । नेपालको सन्दर्भमा भन्नुपर्दा निजी, शैक्षिक, सामुदायिक गरी विभिन्न किसिमका पुस्तकालय स्थापना भई सञ्चालन तथा व्यवस्थापन हुँदै आएका छन् । शिक्षाका लागि पुस्तकालय ऐन, नियममार्फत एक स्थानीय तह एक सार्वजनिक पुस्तकालय, एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय अर्थात् टोलटोलमा अनि हरेक विद्यालयमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमात्र पुस्तकालय अभियान सार्थक भएको मानिने छ ।
पुस्तकालय ज्ञानको भण्डार हो । पुस्तकालयबाट हामी हरेक किसिमका ज्ञान पाउन सक्छौँ । त्यसैले पनि यसको मह¤व बढेको छ । पढाइ मान्छेको जीवनमा एउटा यस्तो कुरा हो, जसले जीवन परिवर्तन गर्न सहयोग गर्दछ । किताबबिनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै मह¤व हुँदैन । किताबबिनाको जीवनले ढुंगेयुगको स्मरण गराउँछ । आज समाजमा जति पनि विकास भएको छ, चाहे त्यो सामाजिक होस्, चाहे सांस्कृतिक होस वा चाहे प्राविधिक होस्, हरेक परिवर्तनमा पुस्तकको ठूलो हात छ । हाम्रो समाजमा अझै पनि धेरै व्यक्तिहरुले पुस्तकको अनुहार पनि देखेका छैनन् । पुस्तकालयको लक्ष्य पनि हरेक व्यक्तिको पहुँच पुस्तकमा हुनु र त्यसको मह¤व बुझाउनु हो ।
त्यसमा पनि २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पका कारण नेपालका थुप्रै शिक्षालय एव केही मह¤वपूर्ण पुस्तकालय भवनहरुमा क्षति पुग्नाले तमाम विद्यार्थी वर्ग, खोज अनुसन्धाता, सर्वसाधारण मात्र नभएर समस्त नेपालको शैक्षिक, सामाजिक एवं आर्थिक क्षेत्र नै धराशायी भएको छ । २०७२, वैशाख १२ को महाभूकम्पले हाम्रो यस वीरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालय भवन चर्केको र पुस्तक अनि दराजहरु पनि यत्रतत्र ढलेका कारण भूकम्पबाट अछूतो रहन सकेन । विशेषगरी, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तकालय, मदन पुरस्कार, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलगायत काठमाडौँ उपत्यकाका अधिकांश सार्वजनिक पुस्तकालयका भवन भत्किएका÷चर्किएका कुराहरु विभिन्न लेखरचनाहरुवाट थाहा पाउन सकिन्छ । इतिहासकार दाजुभाइ महेशराज पन्त र दिनेशराज पन्तले संरक्षण गरेका निजी र संशोधन मण्डलका पुस्तकालय भने भूकम्प प्रतिरोधी घर भएकाले ¥याक, दराज, कुर्सी, टेवल ढले पनि खासै कुनै ठूलो क्षति भएको छैन । भूकम्पपछि अन्यत्र सेवा बन्द भएकाले कतिपय शुभेच्छुकहरु हेर्न एवं अध्ययन गर्न भनी संशोधन मण्डल पुस्तकालयमा समेत पुगे । यस पुस्तकालयमा अन्यन्त्र नभएका हस्तलिखित लक्ष्मीपति–नयराज संग्रहका साथै नेपालको इतिहास, ज्योतिष विद्या र जर्नल गरी करिब १० हजार पुस्तक छन् भन्ने जानकारी इन्टरनेटमा राखिएका विभिन्न लेखरचनाहरुवाट हामी थाहा पाउन सक्छौँ । नेपालकै सबैभन्दा बढी विद्यार्थीको आकर्षणका रुपमा रहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालय पनि भूकम्पका कारण प्रभावित हुँदा विद्यार्थी एवं अनुसन्धानकर्ताहरुले केही समयसम्म कष्ट बेहोर्नुप¥यो । उक्त पुस्तकालयलाई महाभूकम्पअघिको अवस्थामा परिणत गर्न आईटी विभागमा काम गर्ने कर्मचारी, एक्सपर्ट एवं लाइबे्ररी प्रोफेसनलहरुको अद्यापि खाँचो छ, किनकि आवश्यक जनशक्तिको अभावमा स्तरीय र दिनुपर्नेजति सेवा प्रदान गर्न सकिएको छैन ।
वि.सं २०१६ सालमा त्रिविसँगै स्थापित यो पुस्तकालय हाल ‘अनुसन्धान पुस्तकालय’ का रुपमा सञ्चालिन छ । करिब १२ सय पुस्तकबाट प्रारम्भ भएको यस पुस्तकालयमा हाल साढे तीन लाख किताब तथा करिब २५ हजार पत्रपत्रिका संकलित एवं सुरक्षित छन् । आइएसबिएन नम्बर उपलब्ध गराउने राष्ट्रिय एजेन्सीका रुपमा रहेको यस पुस्तकालयले अक्सफोर्ड विश्वविद्यालयको समन्वयमा अन्तर्र्रािष्ट्रय अनलाइन, डाटावेस र किताब निःशुल्क उपलब्ध गराएको छ । हाल मुलुकभरका करिब ५५ क्याम्पस तथा विभिन्न संघसंस्थाले यो सेवा लिँदै आएका छन् । हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालय भूकम्पकै कारण इन्जिनियरहरुले बस्न नमिल्ने गरी रातो स्टिकर टाँसिदिएकाले बन्द गरिएको छ । यस पुस्तकालयमा विभिन्न भाषाभाषीका कुल १ लाख पुस्तक, ३ हजारभन्दा बढी शोधपत्र, १ हजार जर्नल र त्यति नै संख्यामा पत्रपत्रिका संकलित छन् । केशरशमशेरको निजी संकलनबाट प्रारम्भ गरिएको केशर पुस्तकालयमा रहेका युनेस्कोको मेमोरी अफ दी वल्र्ड हेरिटेजमा समावेश भएको हजार वर्षभन्दा पुरानो सुश्रुतसंहिता संकलित छ । भूकम्पका कारण यहाँ संग्रहित थुप्रै संख्यामा रहेका सामग्रीहरु खसेर नष्ट भए । ललितपुरस्थित मदन पुरस्कार पुस्तकालय भूकम्पबाट ज्यादै प्रभावित बन्यो । भूकम्पका कारण नेपाली वाङ्मयको सबैभन्दा ठूलो अभिलेखालय मानिएको यस पुस्तकालयले पनि धेरै समयसम्म सेवा प्रवाह ठप्प गर्नुप¥यो । विसं २०१३ सालमा स्थापित यस पुस्तकालयमा करिब ३५ हजार पुस्तक, साढे ५ हजार पत्रपत्रिका, ५० हजार तस्बिर, १० हजार हस्तलिखित ग्रन्थ एवं अनेकन श्रव्यदृश्य सामग्री संकलित छन् । यसका साथै, साँखु सहरस्थित भजनघरसँगै रहेको विसं २००९ सालपछि स्थापित साँखुकै सबैभन्दा पुरानो उग्रतारा पुस्तकालय पनि भूकम्पको धक्काले क्षतिग्रस्त भएको छ । भूकम्पपछि त्यहाँका सयौँ पुस्तक नजिकैको रामभजनघरमा सुरक्षित गरिएको छ । यतिमात्र नभएर काठमाडौँ उपत्यकाबाहिरको दोलखा जिल्लाकै पुरानो र दुर्लभ मानिएको भीम पुस्तकालयमा पनि भूकम्पका कारण क्षति पुगेको छ । भीमेश्वर नपास्थित स्वयम्भूथानमा अवस्थित दुईतले भीम पुस्तकालयभित्र र बाहिर दुवैतिर चर्किएर धराप बनेकाले भूकम्पको धक्काका कारण जीर्ण भएकाले वरपर आवतजावत गर्नसमेत कठिन भएको छ । २००९ सालमा स्थापित त्रिपुरा पुस्तकालय र विसं २०१४ सालमा अमेरिकी पुस्तकालयको सहयोगमा स्थापित भैरव लाइब्रेरी २०२३ सालतिर आगजनीबाट ध्वस्त भएका छन् ।
यसैगरी, पुस्तकालयको आफ्नो छुट्टै भवन रहेको हाम्रोे यस वीरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालमा करिब ४६,००० खरिद पुस्तक, ३००० उपहारस्वरुपका पुस्तकहरु र ३००० थेसिसजस्ता सामग्रीहरुलाई सुरक्षित राख्दै लिव्रा लाइबे्ररी डिजिटल सफ्टवेयरमार्फत काम गरिरहेका छौँ । हाल प्रयोग गरिएको लिव्रा डिजिटल सफ्टवेयरमा बुक क्याटलग, क्लासिफिकेसन, पुस्तक इस्यु, फिर्ता पाठको व्यक्तिगत विवरण, पुस्तकालय कार्ड, विलम्ब शुल्कजस्ता अन्य आवश्यक, जुन पुस्तकालयका लागि चाहिने कुराहरुको सुविधा भएको यो सफ्टवेयर रहदाँरहँदै भोलिका दिनहरुमा अझै परिमार्जित र सुविधासम्पन्न सफ्टवेयरको आवश्यकता पर्न सक्ने सम्भावना पनि पुस्तकालय र ईलाइब्रेरीको विकासले देखाएको छ । यसै वर्षदेखि इन्टरनेटको सहायतामा थेसिसहरुलाई पनि अनलाइन गर्न सकिने व्यवस्था गरिएको छ ।
पुस्तकालयको विकासमा देखिएका अवरोधहरु :
नेपालमा अन्य क्षेत्रको तुलनामा मोबाइल, इन्टरनेट, भेइकलजस्ता इलेक्ट्रोनिक सामानहरुको विकास नभएको चाहिँ होइन, तर राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक हिसाबले मध्यम वर्गका मानिसहरु र त्योभन्दा तल्लो वर्ग अझै पनि पीडित रहेर शिक्षाबाट वञ्चित छ । शैक्षिक विकास तथा चेतनाको अभाव र आर्थिक अभावले दूरदराजका जनताहरु अझै पनि मोटर नदेख्ने, चामल नदेख्ने, एकसरो कपडाले वर्षदिन धकल्नेजस्ता कुरा त कति सुनिन्छन् कति ! तर, आरक्षणका नाममा धनी, नेता, ठूलाबडा भनाउँदा पहुँचवालाहरुले सुविधा उपभोग गरिरहेका छन् । जसरी राजनीति हाबी भएका कारण आक्रान्त भएको छ नेपाल, त्यसैगरी पुस्तकालयका विकासमा पनि तल उल्लेखित विभिन्न अवरोधका कारणहरु छन् ।
क) सम्बन्धित कर्मचारीको गैरजिम्मेवारीपन र कामप्रति जवाफदेहिता नहुनु ।
ख) सरकारले नै कर्मचारीहरुमा विभिन्न फाँटमा काम गर्ने कर्मचारीहरुको तलब तथा सेवासुविधाहरुमा विभेद गर्नु ।
ग) तलबका लागि हाजिर गर्ने र काम गरेबापत् अतिरिक्त पारिश्रमिकको माग गर्ने ।
घ) कर्मचारीहरुको कार्यविभाजन नहुनु र सम्बन्धित कार्यालय प्रमुखको गैरजिम्मेवारीपन ।
ङ) दक्ष र प्राविधिक तथा पर्याप्त कर्मचारीको व्यवस्था नहुनु ।
च) समय–समयमा कार्यालय प्रमुख वा जिम्मेवार पदाधिकारीहरुबाट छड्के तथा अनुगमन नहुनु ।
छ) नागरिकसँग सरोकार राख्ने विषय भएकाले सञ्चालक समितिमा समाजका प्रतिष्ठित व्यक्ति, समाजसेवीहरु समावेश नहुनु ।
ज) बजेट भएर या नभएर आवश्यक पुस्तक, फर्निचर तथा उपकरणको व्यवस्था नहुनु ।
झ) कर्मचारीलाई कार्यालय प्रमुखले सेवासुविधामा भेदभाव वा काखा र पाखा गर्नु ।
ञ) ठूला राजनीतिक दलको संरक्षण, आडभरोसा तथा जागिरमा प्रवेश गर्नु ।
ट) शैक्षिक क्षेत्रमा हुने नियुक्तिमा खुल्लमखुल्ला राजनीतिक भागबन्डा गर्नु÷गराउनु र गर्न लगाउनु ।
ठ) नीति तथा निर्णयहरु तर्जुमा गर्दा र कार्यान्वयनमा अनावश्यक राजनीतिक दबाब दिनु ।
ड) दण्ड–जरिवाना तथा पुरस्कार र आन्तरिक मूल्यांकनजस्ता विषयहरु राजनीतिक दलको इसारामा कार्यान्वयन गर्नु÷गराउनु ।
ढ) ठूला राजनीतिक दलहरुले आआफ्ना भातृ संगठन खोल्न उक्साउने, कार्यालय समयमा सडकमा हुने नारा र जुलुसमा उत्रन र उतार्न वाध्य पार्नु ।
ण) सरकारी आड र आडम्बरमा आफ्नो दल र विचारमा सहमत हुने कर्मचारी दोषी भए पनि कारबाहीबाट बचाउन अनेक हत्कन्डा अपनाउनु ।
पुस्तकालयको वातावरण, संरक्षण र संवद्र्घन ः
पुस्तकालय परिवार, पुस्तकालय व्यवस्थापन समिति, पुस्तकालय समिति, कार्यालय प्रमुख, पाठक, शुभचिन्तकहरु सबैले विशेषगरी भवन वनाउँदा स्थानको छनौट, वरपरको वातावरणको ख्याल, भवन परिसरमा फूल, बगैँचा र सरसफाइ, फर्निचरहरु खरिद गर्दा गुणस्तर रहे÷नरहेको, उपकरणको गुणस्तर छनौट तथा खरिद गर्दा, पाठ्यसामग्रीहरुको संकलन तथा खरिदमा विशेष ध्यान दिनुलगायतका कार्य उत्तिकै जरूरी देखिन्छ । जसरी विभिन्न सामग्रीहरुको खरिद र संकलनमा पाठकको रूचिलाइ ध्यान दिनु जरूरी छ, त्यसरी नै संकलन भएका उक्त सामग्रीहरुको आगो, घाम, पानी, मुसा, चोरी, कीरा, धमिरा, चिसो, मर्मत आदि कुराहरुबाट जोगाउन पनि जरूरी छ । यसका साथै पुस्तकालय परिसर सुन्दर, सफा, हराभरा तथा मनोरम दृश्यको निर्माण, बत्ती, पंखा, पिउने पानीको व्यवस्था, शौचालय, पत्रपत्रिका, पुस्तकालयभित्र र बाहिर स्वच्छ र सफा, वस्ने र पढ्ने फर्निचरहरु सफा, पुस्तकालयमा प्रयोग भएका फोटोकपीजस्ता उपकरणहरुको सरसफाइसँगै सेवाग्राहीलाई कर्मचारीहरुले तनमन लगाएर सुद्ध मनले सेवा गरिराख्न पाए हुुन्थ्यो भन्नेजस्ता भावहरु देखिनु आवश्यक छ ।
अन्त्यमा, हामी पुस्तकालयमा काम गर्ने÷गराउने, विधिविधान पालना गर्ने÷गराउने सबैको मन–मस्तिष्कमा पुस्तकालयको विकासप्रति केही नयाँ सोच र परिवर्तनको हाल टड्कारो आवश्यकता देखिन्छ । हालै मनाइएको दसौँ पुस्तकालय दिवसमा सहभागी हुनाले यति सुधार गर्न पाइयो भन्ने सुन्न पाइयोस्, अनिमात्र हरेक वर्ष पुस्तकालय दिवस मनाउनुको सार्थकता र अर्थ रहने छ ।

Comments

About the author

चितवन पोष्ट