गृह » सबैको प्रथम हुने दौड
सम्पादकीय

सबैको प्रथम हुने दौड

स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा यतिबेला चुनावी सरगर्मी बढेको छ । तराई मधेसको प्रमुख शक्ति मानिएको राजपासमेत चुनावमा सहभागी बनेपछि चुनावी रौनक झनै बढेको छ । राष्ट्रिय राजनीतिको प्रमुख चासो पनि यतिबेला प्रदेश नं २ को निर्वाचनमा जोडिन पुगेको छ । मधेसमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राजपासमेत चार दल नै प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा आफू पहिलो हुने दाबी गर्दैछन् । सबैको पहिलो हुने मह¤वाकांक्षा रहे पनि कुनै पनि दौडमा सबै प्रथम हुँदैनन्, त्यो सौभाग्य एक दलले मात्र प्राप्त गर्छ । तर, आफूलाई नै सर्वेसर्वा ठान्ने दलहरुले समेत धरातलीय यथार्थ र मधेसको मनोविज्ञानलाई नबुझी यस्तो आँकलन गरेका हुन् । बाढीको चपेटामा परेको प्रदेश नं २ का जनता स्थायी तटबन्धको माग प्रमुख रुपमा उठाउँदै आएका छन् । अरु कुरा त तपसिलका विषयहरु मात्र हुन् । सर्वोपरि जनताको अभिमत कसको पक्षमा छ भन्ने कुरा सबै दलको झन्डा आफ्नै झुपडीमा गाडेका प्रदेश नं २ का दलित बस्तीहरुले अहिले बताइहाल्ने स्थिति देखा परेको छैन ।
बाढी, अभाव, गरिबी र भोकमरीजस्ता जटिल मानवीय समस्याहरुलाई प्राथमिकतामा राखेर जुन दलका नेताले काम गर्ने विश्वास दिलाउन सक्छन्, जनताको मत त्यतै जाने अहिलेको तीतो यथार्थ हो । तसर्थ, चुनाव आउनु एक हप्ता बाँकी छँदैमा मेरै दल पहिलो हुन्छ भनेर घोषणा गर्नु आत्मरतिबाहेक अरु केही हुन सक्दैन । चुनावी माहोल तात्तिएसँगै चोकचौराहा, चौतारो, बजार, चियापसल, ढावा सबैतिर चुनावको उत्साह जागेको छ । बाढी र डुबानबाट पूर्ण रुपमा पुनःस्थापित नभए पनि आममतदाता जनप्रतिनिधि छान्न उत्साही देखिएका छन् । तर, जनताको उत्साह देखेर सबैजसो दलले यतिबेला आफू पहिलो हुने दौडमा छन् । यसअघि निर्वाचन सम्पन्न भएका ६ वटा प्रदेशमा दोस्रो स्थानमा रहेको कांग्रेस मधेसबाट क्षतिपूर्तिसहित पहिलो दलको हैसियत कायम गर्ने रणनीतिमा छ । मधेसले उठाएको माग संघीयता, समावेशिताजस्ता कुरा कांग्रेसकै नेतृत्वमा पूरा भएको र अहिले उठेका माग पनि कांग्रेसले सम्बोधन गर्छ भनेर कांग्रेसले जनमत आफ्नो पक्षमा पार्ने प्रयासमा छ । यस्तै, अर्को सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि मधेसलक्षित कार्यक्रममा जोड दिँदै मधेसमा आफ्नो पक्षमा राम्रो उपस्थिति बनाउने प्रयास गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले पनि मधेसलक्षित कार्यक्रम गर्दै आएको छ । केन्द्रीय नेताहरु मधेसका आठवटै जिल्लामा व्यस्त भएका छन् । एमालेले मधेसमा पनि ६ वटा प्रदेशमा जस्तै पहिलो पार्टी बन्ने दाबी गरेको छ । यस्तै, मधेसकेन्द्रित दल राजपालाई मधेसमा आफ्नो साख जोगाउने चुनौती छ । चुनावमार्फत आफ्ना एजेन्डा लिएर मधेसी जनताको घरदैलोमा पुगेको राजपाले मधेसमा पहिलो दलको आकांक्षा राख्नु स्वाभाविकै हो । मधेस आन्दोलनको औचित्य पुष्टि गर्न र जनताको अधिकार स्थापित गर्न चुनाव अनिवार्य र अन्तिम विकल्प रहेको कुरा राजपाले स्वीकार गरिसकेको छ । संघीय समाजवादी फोरमले मधेसमा आफ्नो हिस्सा खोज्नु अस्वाभाविक होइन । उसले पनि मधेसमा आफ्नो पक्षमा जनमत रहेको र सबैभन्दा धेरै सिट जित्ने दाबी गर्दै आएको छ । तर, मधेसीको जनमत कसलाई प्राप्त हुन्छ भनेर यकिन गर्न असोज २ को चुनावपछिको मतपरिणाम नै कुर्नुपर्ने हुन्छ । चुनावको माहोल आफ्नो पक्षमा पार्न सबैले प्रथम हुने ‘प्रोपोगान्डा’ फैलाइरहेका छन् । मधेसी जनताले झन्डा र चुनाव चिन्ह हेरेर होइन, मधेस र मधेसी जनताको सर्वोपरि हित ठानेर काम गर्ने ‘राम्रो’ उम्मेदवारलाई विजयी गराउनु अहिलेको आवश्यकता देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट