गृह » स्मार्ट सिटीको सपना छाडौं : उपाध्यक्ष वाग्ले
अर्थ प्रमुख समाचार

स्मार्ट सिटीको सपना छाडौं : उपाध्यक्ष वाग्ले

 

होमनाथ सापकोटा
रत्ननगर । समग्र पूर्वी चितवनको समृद्धिको लागि कृषि, उद्योग र पर्यटनलाई आधार बनाएर विकास गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
भौगोलिक अवस्था र सम्भावनाको हिसाबले पूर्वी चितवनलाई कृषि, उद्योग र पर्यटनलाई विकासको आधार बनाउँदा लक्ष्य पूरा हुने भन्दै उनीहरुले विभिन्न सिटी बनाउने सपनालाई बिर्सिएर आधारभूत विषयलाई आधार मानेर विकासको रोडम्याप बनाउन सुझाव दिएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेको सम्मानमा यहाँका विभिन्न संस्थाले आयोजना गरेको सो कार्यक्रममा विज्ञहरुले पूर्वी चितवनमा कृषिमा उर्भर भूमि रहेको, शक्तिखोरमा औद्योगिक क्षेत्र बन्ने पक्का भएको र मुलुककै तेस्रो पर्यटकीय गन्तव्य रहेकाले पूर्वी चितवनको विकास कृषि, उद्योग र पर्यटनलाई आधार मान्दा मात्र सम्भव रहेको बताएका थिए ।
रोटरी क्लब अफ रत्ननगरको अगुवाइमा रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ, रोट्¥याक्ट क्लब अफ रत्ननगर र इन्ट्¥याक्ट क्लब अफ स्काइराइडरले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेले पूर्वी चितवनको समृद्धिको लागि कृषि, उद्योग र पर्यटनलाई आधार बनाएर विकास गर्नुपर्ने बताए । स्मार्ट सिटी हचुवाको भरमा नबन्ने भन्दै उनले स्मार्ट सिटीको सपना देख्न छाडेर यहाँको सम्भावनालाई क्याच गरेर विकास गर्नुपर्ने उनको भनाइ छ । ‘सबै नगरपालिकाले आफूलाई स्मार्ट सिटी बनाउने भनेर घोषणा गरेको पाइयो’ उनले भने, ‘स्मार्ट सिटी के हो कसैलाई थाहा छैन, हचुवाको भरमा स्मार्ट सिटी बन्दैन । उनले रत्ननगरलाई ग्रिन सिटीको रुपमा विकास गर्न सकिने सम्भावना भने औल्याए । ‘स्मार्ट सिटी होइन’, उनले भने, ‘तपाइँहरुले प्रयत्न गर्नुभयो भने रत्ननगरलाई ग्रिन सिटी बनाउन सक्नु हुनेछ ।’ कार्यक्रममा सांसद उमेश श्रेष्ठले चितवनलाई औद्योगिक नगरीको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए । उनले जिल्लाको विकासको लागि शिक्षा र उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताए । कार्यक्रममा रत्ननगरका अगुवाहरुले राज्यबाट ओझेलमा पारिएका महत्वपूर्ण योजना सम्पन्न गर्ने काममा सहयोग गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेलाई आग्रह गरेका छन् । कार्यक्रममा अगुवाहरुले पूर्वी चितवनको एक मात्र सरकारी अस्पताल रत्ननगर अस्पतालको स्तरोन्नति, टिकौलीमा रंगशाला निर्माण, पर्यटकीय नगरी सौराहाको विकास, शक्तिखोरदेखि हुग्दीसम्म राजमार्ग, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणको लागि सार्थक पहल गरिदिन उपाध्यक्ष वाग्लेलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा रत्ननगर अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले शान्तिमेड नेपालको सहयोगमा रत्ननगर अस्पतालले विकासको गति लिन थालेको भन्दै राज्यबाट ५१ शैयाको बनाएर स्तरोन्नति गर्नुपर्ने बताए । दैनिक २० देखि २५ जना बिरामी उपचारको लागि आउने अस्पतालमा पछिल्लो समय दैनिक ३०० बिरामी आउन थालेको भन्दै उनले अस्पताल प्रति विश्वास बढ्दै गएको बताए । शान्ति मेड नेपालकै सहयोगमा सो अस्पतालमा सोलार सिस्टमबाट डायलासिस सेवा सुरू भएको भन्दै उनले अस्पतालमा धेरै सम्भावना हुँदा हुँदै पनि स्तरोन्नतिमा बेवास्ता गरिएको बताए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले सौराहालाई जोगाउन राप्तीमा तटबन्ध, लौरीघोलको संरक्षण, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण, पर्यटन प्रवद्र्धनको लागि सिमरादेखि भरतपुर, लुम्बिनी भरतपुर हवाइ सेवा सुरू, भरतपुरको हवाइ मार्ग विस्तार, कृषि क्याम्पसको शाखा शक्तिखोरमा स्थपना गर्न भूमिका खेलिदिन उपाध्यक्ष वाग्लेलाई आग्रह गरेका थिए । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् रोटरीका सहायक गभर्नर राजेन्द्रकुमार श्रेष्ठले स्थानीय सरकारसँग सहकार्य गरेर रोटरीले विकास निर्माणको काममा अगुवाइ गर्न चाहेको बताए । उनले रत्ननगरलाई स्मार्ट सिटीभन्दा पनि जीवन्त शहरको रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरको टाँडीचोक, सौराहाचोक र बकुलहर चोकमा आकाशे पुलको आवश्यकता रहेको भन्दै राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष वाग्लेले ध्यानकर्षण गराए । चारलेन सडकलाई टिकौलीदेखि तरकारीचोकसम्म विस्तार गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि पहल सुरू गरेको बताए । रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएकोे कार्यक्रममा उपमेयर विमला दुवाडीले धन्यवाद मन्तव्य राखेकी थिइन् ।

साना योजना आयोगले हेर्दैन : उपाध्यक्ष वाग्ले
रत्ननगर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले साना योजना आयोगले नहेर्ने बताएका छन् ।
रत्ननगरमा आफ्नै सम्मानमा आयोजित कार्यक्रममा सडक कालोपत्रे, कल्भट निर्माण, सामान्यस्तरका सडक विस्तार जस्ता साना साना योजना आयोगले नहेर्ने स्पष्ट पारेका हुन् । उनले सानासाना योजना लिएर आयोगमा नआउन आग्रहसमेत गरेका छन् । सानासाना योजनासहित अधिकतम बजेट स्थानीय तहमा पठाइसकिएको भन्दै उनले साना योजना अब आयोगले नहेर्ने बताए । आयोगले टुक्राटुक्री गरी ३७ वटा योजना गरेर स्थानीय तहलाई बजेट पठाएको उनको भनाइ छ ।
उपाध्यक्ष वाग्लेले ठूला अनुदान रकमको लागि मात्र केन्द्रको आश गर्न आग्रह गरे । रोटरी क्लब अफ रत्ननगरको अगुवाइमा रत्ननगर नगरपालिका, रत्ननगर उद्योग वाणिज्य संघ, रोट्¥याक्ट क्लब अफ रत्ननगर र इन्ट्¥याक्ट क्लब अफ स्काइराइडरले कार्यक्रमको आयोजना गरेका हुन् । रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा उपमेयर विमला दुवाडीले धन्यवाद मन्तव्य राखेकी थिइन् ।

Comments

About the author

चितवन पोष्ट