गृह » समाजसेवा र राजनीतिकी शिखर व्यक्तित्व गौरीदेवी
अर्थ प्रमुख समाचार राजनीति

समाजसेवा र राजनीतिकी शिखर व्यक्तित्व गौरीदेवी

बसन्त पराजुली
भरतपुर । धन नहुने सँग मन मात्रै भएर केही हुदैन । धन भएर पनि मन नहुनेबाट पनि कुनै उपलब्धि हुन सक्दैन । चितवनकी गौरीदेवी प्रधान धनसँगै मन हुने मनकारीमा पर्छिन् । उनकै सहयोग र सत्भावले नै यहाँ स्कुल, क्याम्पस, स्वास्थ्य चौकी, प्राकृतिक चिकित्सकालयसँगै विभिन्न मठमन्दिर, सडक निर्माण भएका छन् ।
‘गौरी दिदीकै सहयोगले हो, प्राकृतिक चिकित्सालय नवलपरासीको रजहरमा स्थापना भएको हो’, ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारीले भने, ‘यो वृद्ध उमेरमा पनि उनलाई दान धर्म गर्दैमा फुर्सद छैन ।’ भरतपुर महाानगरपालिका वडा नम्बर २ निवासी गौरीदेवी प्रधान उमेरले ८३ वर्षको भइन् । बन्दीपुरे ब्यापारिक घरनाकी बुहारी भएर आएदेखि नै उनले दान, धर्म र समाजसेवाप्रति आकर्षित भएको पाइन्छ । विसं १९९२ भदौ महिनामा पर्ने तीजको पञ्चमीका भोलि पल्ट षष्टीका दिन जन्मिएकी गौरीदेवीले आफ्नो जन्मदिनको अवसर पारेर यो वर्ष रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई ५० लाख रूपैयाँ बराबरको आर्थिक सहयोग गरेकी छन् । यो रकमले चिकित्सकालयमा भवन बनाउने योजना छ ।
यसअघि २०७० सालमा उनले नै आफ्नो पति श्यामकृष्ण प्रधानको स्मृतिमा एक करोड २५ लाख रूपैयाँ खर्च गरेर यही चिकित्सकालयको मुख्य भवन बनाइ दिएकी थिइन् । सो भवनको तत्कालीन प्रधानमन्त्री सुशील कोइराला आएर उद्घाटन गरेका थिए ।
‘मैले बनाइदिएको भवनमा माथिल्लो तला थप्न सहयोग चाहियो भनेर आउनु भयो मैले ५० लाख रूपैयाँ सहयोग दिएँ’, गौरीदेवी प्रधानले भनिन् । उनले यसको अलवा ओमशान्तिको नारायणगढमा बन्दै गरेको ध्यान केन्द्रलाई २० लाख रूपैयाँ, बेलटाँडीमा बनेको ओमशान्तिको भवन निर्माणमा जग्गा दान, अभय उपचार केन्द्रलाई ३२ लाख रूपैयाँ भरतपुरको रेडक्रस भवन र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कुरूवा भवन निर्माणमा उनको दान अविश्मरणीय छ ।
यसका साथै बालकुमारी उच्च माध्यमिक विद्यालयको दश जोड दुई कक्षा सञ्चालनका लागि कक्षा कोठा निर्माणदेखि विभिन्न मठमन्दिर र शैक्षिक संस्थाका लागि पनि उनले सहयोग जारी राखेकी छन् ।
उसो त उनका श्रीमान् श्यामकृष्ण पनि धार्मिक प्रवृतिका व्यक्तित्व थिए । अहिले नारायणगढ बजार नजिकै रहेको क्षेत्रपुरमा करोडौ रुपैयाँ पर्ने ४ बिघा जग्गासमेत श्यामकृष्णले अद्धेत संस्थालाई दान दिएकी थिइन् । गौरी दम्पतिले नै बन्दीपुरमा रहेको आदिकवि भानुभक्त हाइस्कुल स्थापनाका लागि जग्गा दानदेखि डुम्रेदेखि बन्दीपुरसम्मको बाटो निर्माणमासमेत उनको योगदान रहेको छ ।
‘काठमाडौंमा जन्मिहुर्केको चेली बन्दिपुरमा विवाह गरेर आएपछि त्यहाँ त सडकसमेत थिएन’, बन्दिपुर डुम्रे सडक निर्माण गर्दाको स्मरण गर्दै उनले भनिन्, ‘त्यो बेला पृथ्वी राजमार्ग निर्माण भैइरहेका बेला प्रधानमन्त्री कृतिनिधि विष्ट थिए । हामी दुबै श्रीमान् र श्रीमती काठमाडांै गयौ र प्रधानमन्त्रीलाई भेटेर यो बाटो निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेम् । त्यो बेला सरकारले केही रकम दियो । केही रकम हाम्रै परिवारले खर्चिएर सडक बनाएम् ।’
उनकै अगुवाइमा बन्दीपुरमा खानेपानीको समेत ब्यवस्था भयो ।

छोरीहरुका बीचमा सेतो कपडा लगाउने गौरीदेवी प्रधान ।

‘अहिले त बन्दीपुर के स्वर्ग जस्तै भयो नि बाटो छ । खानेपानी घरघरै । उ बेला हामीले खानेपानी समेत नपाएर कति दुःख सहनुप¥यो’, उनको भनाइ छ ।
शहीद धर्ममक्त माथेमाको भान्जीबहिनी गौरीदेवी शहीद परिवारको प्रेरणाले नै आफू राजनीति र समाज सेवामा आएको बताउँछिन् । तर, राजनीतिमा लाभको पद उनले कहिल्यै लिनु भएन । ‘२००६ सालमा विवाह गरेर बन्दीपुर आएपछि २००७ सालको क्रान्ति सुरू भयो’, उनले विगत सम्झँदै भनिन्, ‘यो क्रान्तिमा हामिले बन्दीपुरमा आन्दोलन छेडेम् । हामी निहत्था जुलुसमाथि सेनाले गोली बर्सायो । धर्मध्वज गुरूङ, उत्तरकुमार श्रेष्ठलगायतका ६ जना शहीद भए । गोली लागेर घाइते भएका कृष्णभद्र शर्मालाई मैले नै घरमा राखेर उपचार गरे ।’ यो आन्दोलन लगत्तै तत्कालीन कांग्रेस नेता श्रीभद्र खनालको तनहुँ चिसापानी स्थित घरमा भएको भेलाले गौरीदेवीलाई नेपाल महिला संघको अध्यक्ष बनायो । यसरी राजनीतिमा प्रवेश गरेकी गौरीदेवीले कहिल्यै लाभको पद लिइनन् ।
‘बन्दीपुर होस् वा चितवन जहाँ भए पनि कांग्रेसका नेताहरु बीपी कोइराला, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हामीकोमा आउने जाने बस्ने खाने गरिरहनुहुन्थ्यो’, उनले थपिन्, ‘२०४६ सालको परिवर्तनपछि पनि गिरिजा बाबु र किशुनजीले त पटकपटक प्रत्यक्ष चुनाव लड की मनोनित सांसद बन भन्दा म मानिन । पर्दैन गिरिजा बाबु, सरी है किशुन जी मात्रै भनिराखे ।’
गौरीदेवी बाल्यकालदेखि नै सहयोग र दान दिन मन पराउछिन् । आफू स्कुले जीवन मै स्कुलमा भूँइमा बसेर पढ्नुपर्दा मुठ्ठी दान उठाएर स्कुलमा फर्निचरहरु खरिद गरेको स्मरण ताजै छ उनमा । ‘मेरो प्राथमिक तहको शिक्षा भक्तसञ्चय स्कुलमा हो । यो स्कूलमा हामी पठ्दा भूइँमै गुन्द्री बिच्छाएर पढ्नुपथ्र्यो । तर हामीले नै कुर्ची खेलकूदका सामग्री मुठ्ठी दान उठाएर खरिद गरेका थियौ’ उनले भनिन् । उनले डिल्लीबजारमा रहेको कन्या माध्यमिक विद्यालयबाट एसएलसी र भारतको कोलकत्ताबाट आइएसी उतिर्ण गरेकी हुन् । उनलाई चिकित्सक बन्ने इच्छा थियो तर भारतमा भएको स्वतन्त्रता आन्दोलनका कारण पढाइ प्रभावित भएपछि उनी बीच मै पढाइ छाडेर नेपाल फर्किन् ।
खिस्स नहासी बोल्दै नबोल्ने गौरीदेवीको स्वभाव, मृदुभाषी, उच्च विचार, सादा जीवन र शाकाहारी भोजन छ । दुई छोरा तीन छोरीका आमा गौरीदेवीका श्रीमान् श्यामकृष्णको ९० वर्षको उमेरमा तीन वर्षअघि निधन भएको हो । दान धर्म र भजन कीर्तनमा वृद्ध जीवन बिताइ रहेकी गौरीदेवीको इच्छा नै दान धर्म गर्दा गर्दै जीवन त्याग गर्न पाइयोस् भन्ने छ, भन्छिन्, ‘सहयोग गर्न पाउँदा आत्मादेखि सन्तोष हुन्छ । मन ठूलो हो धन भन्दा । धन त जति भए नि पुग्दैन । समाजलाई सहयोग गर्नु त्यो पो धर्म हो ।’

Comments

About the author

चितवन पोष्ट