गृह » अन्तरकलहले स्थानीय निर्वाचनमा पार्टी दोस्रो बनेको चितवन कांग्रेसको निष्कर्ष
राजनीति समाचार समाज

अन्तरकलहले स्थानीय निर्वाचनमा पार्टी दोस्रो बनेको चितवन कांग्रेसको निष्कर्ष

तुलमान गुरूङ
नारायणगढ । नेपाली कांग्रेसको जन्मदाता बीपी कोइरालाको विचार र सिद्धान्त छाडेर पार्टी भित्रको अन्तरकलहले गर्दा स्थानीय तह निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुपरेको नेपाली कांग्रेस चितवनले निष्कर्ष निकालेको छ ।
पार्टीको केन्द्रीय तहबाट नै बीपीको विचार र सिद्धान्तमाथि वाण प्रहार गर्दै अगाडि बढेकोले त्यसको क्षति सिंगो पार्टीले व्यहोर्नुपरेको कांग्रेको बुझाइ छ । शनिबार भरतपुर महानगरपालिकाको साविकको ३ नं. वडा समितिले नारायणगढमा बीपी कोइरालाको १०४ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको एक दिने प्रवचन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको केन्द्रीय तहमा रहेका नेताहरूले नै बीपीको सिद्धान्त भुलेकोले अहिले देशभरको कांग्रेसले घाटा सहनुपरेको औँल्याए ।
आफूले गरेका कामको पनि प्रचारप्रसार नगरी चुपचाप बसेकाले जनताले पनि विश्वास गर्न छाडेको उनको भनाइ छ । ‘अब पनि पार्टी एक ढिक्का भएर अघि नबढ्ने हो भने अझै पार्टीको अवस्था कमजोर बन्न सक्छ,’ उनले भने, ‘किनकी भरतपुरमै बनेको बीपी कोइराला क्यान्सर अस्पतालको विषयमा समेत हामीले प्रचारप्रसार गर्न सकेनौँ । यही नै हाम्रो ठूलो कमजोरी हो ।’ त्यसैले अरू पार्टीको आलोचना गर्नुभन्दा आफ्नै पार्टीभित्र आत्मालोचना गर्न जरूरी रहेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रसँगको तालमेलले पार्टीभित्रै अन्तरकलह सिर्जना भएको उनको भनाइ छ । एक्लै लड्न सक्ने क्षमता भएर पनि आफूभन्दा कमजोर पार्टीसँगको सहकार्यले नेपाली कांग्रेसलाई ठूलो नोक्सान पुगेको उनले बताए । अहिले प्रचण्डले चितवनबाट उम्मेदवार दिने घोषणाले कांग्रेसभित्र खैलाबैला गर्नुको अर्थ नरहेको उनको भनाइ छ । ‘प्रचण्डले जुनसुकै स्थानबाट उम्मेद्वारी दिए पनि हामीलाई के को चासो ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महासमिति सदस्य प्रकाश अधिकारीले पनि हिजो लोकतन्त्र र जनताको लागि भनेर लडेको बीपीको बाटो बिर्सेकै कारण पार्टी कमजोर बन्दै गएको औँल्याए । ‘बीपी हाम्रो सामु नरहे पनि उहाँको विचार र सिद्धान्त जीवितै छन्,’ उनले भने, ‘त्यसैले उहाँको विचारलाई सधै आत्मसात गर्न सक्नुपर्छ ।’ नेपाली कांग्रेसभित्र विगत केही समयदेखि पैसाको राजनीति हाबी हुँदै गएकोले वैचारिक हिसाबले कमजोर बन्दै गएको उनको भनाइ छ ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ का कोषाध्यक्ष टंकनाथ पौडेलले बीपीको सिद्धान्तलाई अहिलेका नेता कार्यकर्ताले भुल्दै गएको महसुस भएको बताए । बीपीकै संगत गरेका पाका नेताहरूले समेत उनको सिद्धान्तलाई बिर्सँदै गएको हो कि भन्ने महसुस भएको छ,’ उनले भने । भरतपुर महानगरपालिका साविकको ३ नं. वडा सभापति केशवप्रकाश जोशीले बीपी कोइराला नेपाली कांग्रेसको जन्मदाता भए पनि समग्र सबै पार्टीका लागि प्रिय नेता भएको बताए । कम्युनिस्टमा माक्र्सवाद, लेनिनवाद भनेजस्तै नेपाली कांग्रेसमा पनि बीपीवादको सिद्धान्तलाई कहिल्यै बिर्सन नहुने तर्क गरे ।
प्रवचन कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा भएको कायक्रममा प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ, कांग्रेस चितवनका पूर्वसभापतिहरु कृष्णलाल सापकोटा, टेकप्रसाद गुरूङ, टीकाराम न्यौपाने, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, सोमराज सुवेदीलगायतले बीपी कोइरालाको चिन्तन र समसामयिक राजनीतिका सम्बन्धमा बोलेका थिए ।
यस्तै बीपी जयन्तीकै अवसरमा नेपाल तरूण दल क्षेत्रीय समिति क्षेत्र नम्बर ४ चितवनको आयोजनामा फूलबारीमा रक्तदान कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए ।

 

Comments

About the author

चितवन पोष्ट