गृह » जेसीज कपमा उपाधिका लागि एपीएफ र मनाङ मस्र्याङदी भिड्ने
खेलकुद

जेसीज कपमा उपाधिका लागि एपीएफ र मनाङ मस्र्याङदी भिड्ने

भरतपुर । क्याम्पचौरमा जारी ‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत शनिबार भएको खेलमा विजय युथ क्लब हेटौडालाई शून्यका विरुद्ध २ गोल गर्दै मनाङ मस्र्याङदी क्लब फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि एपीएफ र मनाङ मस्र्याङदी भिड्ने भएका छन् ।
मनाङका तर्फबाट ५५ मिनेटमा अन्जन विष्टको कर्नर प्रहारलाई रिवाउण्डमार्फत विमल रानाले पोष्टको दिशा दिएका थिए । त्यस्तै ७८ औं मिनेटमा विमलको पासमा सुजल श्रेष्ठले गोल गरे । प्लयर अफ दि म्याच मनाङकै नविन घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।
यसअघि शुक्रबार भएको खेलमा सुदूरपश्चिमाञ्चल ११ लाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै विभागीय टिम एपीएफ फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल भदौ २६ गते सोमबार हुने आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद एक लाख ७५ हजार र ट्रफी पाउने छन् । १० टिम सहभागी खेलमा एपीएफ र मनाङ फाइनलसम्मको यात्रा तय गर्न सफल भएका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट