गृह » प्रदेश नम्बर दुईको चुनाव : राजमार्ग नै रंगीचंगी
विचार

प्रदेश नम्बर दुईको चुनाव : राजमार्ग नै रंगीचंगी

– रमेशकुमार पौडेल
वैशाखबाट सुरू भएको स्थानीय तह निर्वाचन अब अन्तिम चरणमा पुगेको छ । देशमा आउँदो मंसिरमा संघीय संसद् अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा दुवैको चुनाव हुँदै छ । सरकारले मंसिर १० र २१ गते गरेर दुई चरणमा संसद्को चुनाव गराउने घोषणा गरिसकेको छ । सोही चुनावमा चितवनबाट उठ्छु भनेर माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरबाट घोषणा गरिसके । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा निर्वाचित आफ्नै छोरी रेणु दाहाललाई आडमा राखेर प्रचण्डले यो घोषणा गरे ।  प्रचण्डको घोषणाले संसदीय निर्वाचनको पारो तात्न सुरू भइसकेको छ । तर, देशका केही भेगमा स्थानीय तहको चुनाव नै बाँकी छ । स्थानीय तहको चुनाव सुरू गराउने प्रचण्ड नै हुन् । उनी प्रधानमन्त्री भएका बेलामा स्थानीय तहको चुनावको मिति घोषणा भयो । देशैभर एकैदिन स्थानीय तहको चुनाव गर्ने घोषणामा पछि बोली फेरिँदै आयो । फेरिँदै फेरिँदै देशमा तीन चरणमा स्थानीय तहको चुनाव हुने भयो । पहिलो र दोस्रो चरणको चुनाव सकियो । देशका सात प्रदेश र ७५ (७७ ?) जिल्लामध्ये एउटा प्रदेश र आठ जिल्लामा मात्रै स्थानीय तहको चुनाव बाँकी छ ।

प्रदेश नम्बर दुई र बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा आउँदो असोज २ मा मतदान भएर त्यहाँका बासिन्दाले स्थानीय तहका प्रतिनिधिहरु चुन्दै छन् । प्रदेश नम्बर दुईमा चुनाव गराउन सबैलाई सकस भयो । प्रदेश नम्बर दुईकै चुनावका विषयलाई लिएर अर्थात् त्यहाँ चुनाव सम्पन्न गराउन सकिएला वा नसकिएला कि भन्ने शंका तथा उपशंकाहरुका कारण नै देशले एकै चरणमा स्थानीय तह चुनाव गराउने अवसर पाएन । दुई चरणमा गराउने प्रयास पनि पूरा भएन । प्रदेश नम्बर दुईका लागिमात्रै भनेर तेस्रो चरणमा चुनाव गराउनु पर्ने अवस्था आयो ।
देशमा संविधान जारी हुने तयारी सुरू भएसँगै असन्तुष्ट रहेको मधेस संविधान जारी भएसँगै निकै बिथोलियो । संविधानले मधेसमा बस्नेहरुलाई विभेद गर्ने व्यवस्था ल्याउन लाग्यो भन्दै मधेसकेन्द्रित दलहरुले संविधान नै जारी नहुने अभियानमा लागे । तर संविधान आयो, त्यसपछि मधेसमा आन्दोलनको आँधीबेहरी मात्रै होइन भारतको सहयोगमा नाकाबन्दी लगाएर देश नै अस्तव्यस्त बनाउने काम भयो । संविधान नै नमानेका मधेसकेन्द्रित राजनीति गर्ने दलहरुले संविधान कार्यान्वयनका लागि हुने चुनावमा के भाग लिन्थे ! बरू, बिथोल्ने नै घोषणा गरे । त्यसैले, सरकारले चरण चरणमा चुनाव गर्न थाल्यो ।
एउटा खुसीको कुरा के भने, मधेसकेन्द्रितलगायत सबै मुख्य दलहरु तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिए । त्यसैले, मधेसमात्रै रहेको प्रदेश नम्बर दुईमा तेस्रो चरणको चुनावले उत्साहको बिछट्टै माहौल ल्याएको छ । संविधान संशोधन नगरे मधेसले अधिकार नपाउने र संशोधन नभएसम्म चुनावमा जान्नौँ भन्ने दलहरु अन्तिममा संविधान संशोधनको विषयलाई मतदानमा लगेर टुङ्ग्याएकै भरमा चुनावमा आए । मतदानमा संशोधन पारित भएन, तर मधेसकेन्द्रित सबै दल निर्वाचनमा आए ।
यस्तो पृष्ठभूमिमा हुँदै गरेको चुनावमा प्रदेश नम्बर दुईमा तेस्रो चरणका लागि मतदान हुने दिन अब धेरै बाँकी छैन । त्यहाँको चुनावी माहौल यस्तो छ कि अन्य प्रदेशबाट जाने हामी जोकोही पनि छक्क नपरी रहन सकिँदैन । खास गरेर चुनावी रंग राजमार्ग क्षेत्रबाट चढ्दै सबैतिर फैलिएको छ । पश्चिमबाट जाँदा मकवानपुर कटेपछि बारा जिल्ला सुरू हुन्छ । तीन नम्बर पुल यी दुई जिल्लाको सिमाना हो । साथै, प्रदेश तीन र दुईको पनि सिमाना नै भयो ।
हो, त्यो तीन नम्बर पुल पार गरेलगत्तै चुनावी रंग सुरू हुन्छ । बिजुलीका पोलहरुमा पार्टीका चुनाव चिन्ह अंकित झन्डाहरु देख्न पाइन्छ । बिस्तारै अगाडि बढ्दै जाँदा माहौलमा चुनावको रंग पनि थपिँदै जान्छ । पथलैयादेखि ढल्केबर मोडिँदा पुराना भइसकेका झन्डाहरु प्रशस्तै देखिन्छन् । अर्थात्, त्यो क्षेत्रले पहिलो वा दोस्रो चरणकै निर्वाचनका बेलामा चुनावका लागि तयारी सुरू गरेको थियो भन्ने प्रमाण ती पुराना झन्डाले दिएका छन् ।
रौतहटसम्मै त्यस्ता पुराना, खुइलिएका र च्यातिन थालेका झन्डाहरु हावा चल्दा मन नलागी नलागी फरफराई रहेका देखिन्छन् । रौतहट पार गरेर बागमती नदी तर्दै सर्लाही पुगेपछि भने नयाँ झन्डाहरु देखिने क्रम सुरू हुन्छ । सडकमा प्रमुख भनिएका तीन दलहरु कांग्रेस, एमाले र माओवादीका झन्डा र चुनाव चिन्ह अंकित झन्डाहरु ठाउँठाउँमा छन् । तोरण टाँगेझैँ झन्डाहरु सडकका चोकचोकमा छन् । तर, मधेसकेन्द्रित दलका प्रचार सामग्रीहरु त्यतिविधि छन् जति कांग्रेस, एमाले र माओवादी केन्द्रका छन् ।
पथलैयादेखि सुरू हुने रसियाले बनाइदिएको महेन्द्र राजमार्गको एउटा खण्ड ढल्केबरमा आएर सकिन्छ । ढल्केबरमा यो बेला मौसम तातो छ । चुनावी माहौल पनि उत्कर्षमा छ । मधेसकेन्द्रित दल प्रत्येकले आफूलाई नै मुख्य दाबी नगर्ने होइनन् । ती दलहरुको उपस्थिति यहाँबाट भने बाक्लै देखिन्छ, प्रचार सामग्रीमार्फत । राष्ट्रिय जनता पार्टी होस् वा फोरम नाम गरेका अनेक दलहरु, सबैका प्रचार सामग्रीहरु ढल्केबरबाट पूर्व लागेपछि छरपस्टै भएर सडकमा प्रकट भएका छन् ।  अन्यत्र नदेखिएको एउटा प्रचार शैली मधेसमा व्यापक रहेछ । बाँसको लिंगो हाँगा नकाटी गाडेर हाँगामा दलका झन्डा राख्ने । यसो गर्दा प्रचार सामग्री भव्य देखिँदो रहेछ, झन्डै झन्डा सर्लक्कै आकाससम्म । ओहो ! चितवनबाट गएका हामी त यो देखेर दंगै परियो । यस्तो दृश्य अरुतिर छ कि छैन कुन्नि, तर प्रदेश नम्बर तीन र चारमा त छँदै थिएन । यस्ता लिंगाहरु चोकचोकमा, जन्ती निस्कने वा पस्ने घरमा जस्तै चोकचोकमा प्रचार सामग्रीका रंगीचंगी गेटहरु । ओहो ! कुरै नगरौँ । चुनावले सडक नै रंगीन बनाएको छ ।

ढल्केबरबाट पूर्व लागेपछि देखिने यो माहौल सिरहाको लाहान कटेपछि पातलो हुँदै जान्छ र सप्तरी सुरू भएपछि कम हुँदै अन्तिममा कतै कतै पोलहरुमा फाट्टफुट्टमात्रै झन्डाहरु देखिन्छ । मधेसमा झन्डा राख्न, गाड्न र टाँग्न ठूलै प्रतिस्पर्धा छ । भोट तान्ने प्रतिस्पर्धा छ । चुनावी रंगमा रंगिन कति आतुर रहेछन् त्यहाँका बासिन्दा भन्ने प्रमाण राजमार्गबाटै देखिन्छ । तर, नेताहरुको हठले गर्दा त्यो अवसर आउन छ महिना ढिला भयो । जनताले के चाहेका छन्, मतमार्फत व्यक्त गर्छन् । मतदाताको घरदैलोमा जान विलम्ब गर्नुहुँदैन । आवधिक निर्वाचनलाई पर धकेल्न हुन्न । नेताहरुले यो कुरा ख्याल राख्नुपर्छ । दुई नम्बर प्रदेशमा अहिले देखिएको चुनावी उत्साहले यो कुरा प्रमाणित गरेको छ ।

Comments

About the author

चितवन पोष्ट