गृह » सौन्दर्यपूर्ण महानगरको परिकल्पना
सम्पादकीय

सौन्दर्यपूर्ण महानगरको परिकल्पना

भरतपुर महानगरपालिकालाई एकीकृत विकासको गुरूयोजनाको तयारीसहित चरणबद्ध र समयतालिका निर्धारण गरेर काम गर्न सक्ने हो भने यो सहरले महानगरको सौन्दर्य कायम राख्न सक्ने विश्वास गर्न सकिन्छ । गत शुक्रबार महानगरको दीर्घकालीन योजना र विकास गरेर कसरी सुन्दर, व्यवस्थित र सभ्य महानगर बनाउन सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक काम गर्न वडाध्यक्षलगायतका जनप्रतिनिधिहरुले विभिन्न सुझाव दिएका थिए । दुई अर्बको चरणबद्ध लगानीमा पाँचवटा सहर निर्माण गरेर महानगरको वास्तविक पहिचान दिन सहरी विकास मन्त्रालयले उचित गृहकार्य गरिरहेको छ । माओवादीको भागमा परेको यो मन्त्रालयमार्फत माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकालाई विशेष बजेटको व्यवस्था गरेको बुझिएको छ ।
अब निर्वाचनको समयमा दलहरुबीच देखिएका तिक्ततालाई मेटाउँदै विकासको महाअभियानमा सहभागी हुनु जरूरी देखिन्छ । झिनो मतान्तरले मात्र मेयर पदमा विजयी भएकी रेणु दाहालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलगायतका दलहरुसमेतलाई साथमा लिएर सहकार्य गर्न सकेमा कामको परिणाम सोचेभन्दा राम्रो प्राप्त हुने अनुमान गर्न सकिन्छ । हामी चितवनवासीले भरतपुर महानगरलाई काठमाडौँजस्तो कुरुप होइन, वैकल्पिक राजधानीको परिचय दिँदै अघि बढेको सहरका रुपमा एकीकृत विकास गरेर देखाउन सक्नुपरेको छ । प्रमुख समस्याहरुको पहिचान गर्दै बजार व्यवस्थापन गर्न सकिएमा यसले थप सुन्दरता प्रदान गर्नेछ ।
गत शुक्रबार महानगरपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अब संसद्को निर्वाचनमा चितवनबाटै चुनाव लड्ने उद्घोष गरे । चितवन उनकै गृह जिल्ला भएको कारण यसमा हामी कसैले पनि आश्चर्य मान्नुपर्दैन । राजनीति र विकासमा बाबु प्रचण्ड र छोरी रेणु दाहाल दुवै मिलेर चितवनको बृहत्तर विकासमा काम गर्नु आवश्यक देखिएको छ । दलगत स्वार्थभन्दा माथि उठेर विकासका बृहद् सम्भावनाहरुको पहिचान गर्दै तटबन्ध, सुकुमबासी समस्या, प्लटिङ समस्या आदिको दीर्घकालीन समाधान खोज्न मेयर रेणु दाहालले विशेष गृहकार्य गर्नु आवश्यक भएको छ । अब रेणु दाहालले प्रचण्डकी छोरीका रुपमा मात्र आफ्नो परिचय सीमित नराखी विकासप्रति प्रतिबद्ध र ऊर्जावान् महिला नेतृका रुपमा आफ्नो पहिचान बनाउनु जरूरी भएको छ । सुन्दर महानगरको परिकल्पना साकार पार्न सरोकारवाला व्यक्ति र निकायहरुबीच समन्वय र सहकार्य पनि उत्तिकै आवश्यक देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट